|

जनकपुरधाम : कुनै बेला देशकै नाम चलेको रामस्वरूप रामसागर बहुमुखी क्याम्पसमा अध्ययन अध्ययापनको माग गर्दै विद्यार्थीहरूले तालाबन्दी गरेका छन्। जनकपुरधामको सबैभन्दा पुरानो शैक्षिक संस्थाको रूपमा परिचित राराब क्याम्पसमा अध्ययन गर्न नपाएको भन्दै पढ्न पाउनुपर्ने मागसहित विद्यार्थीहरूले क्याम्पसमा तालाबन्दी गरेका हुन्।

क्याम्पसमा आए पनि सधैँ त्यत्तिकै फर्कनुपर्ने बाध्यता रहेको र आफूहरूको भविष्य अन्धकारतर्फ धकेलिएको गएपछि प्रशासनको ध्यानाकर्षणका लागि क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको विद्यार्थी रोशन झा बताए। दसैँ, तिहार र छठ बिदापछि क्याम्पस सञ्चालन भए पनि क्याम्पसमा प्राध्यापक नआउने, विद्यार्थी आएर त्यत्तिकै फर्कनुपर्ने समस्या झन्डै ६ महिनादेखि रहेको विद्यार्थीहरूको आरोप छ।

आफूहरूले क्याम्पसमा नियमित पठनपाठन गर्न पाउनुपर्ने नभए लिएको पैसा क्याम्पसले फिर्ताको माग गर्दै उनीहरूले तालाबन्दी गरेको क्याम्पसकै अर्को विद्यार्थी नरेश ठाकुर बताउँछन्। उनी भन्छन्, ‘ कि त आफूहरूलाई अन्यन्त्रै पढ्न पाउनुपर्ने व्यवस्था गरिदिनुपर्ने हैन भने नियमित कक्षा सञ्चालन गरिदिनुपर्‍यो।’ यता क्यामपसका सहायक प्रमुख रामनरेश ठाकुरले सम्बन्धित विषयको शिक्षक नभएकाले कक्षा सञ्चालन गर्न कठिनाई भएको बताए।

नियमित क्याम्पस खुलेको भए पनि पठनपाठन नहुँदासम्म पनि क्याम्पस प्रमुख विजय लाल कायस्थ कानमा तेल हालेर मौन बसेको आरोप छ। क्याम्पसमा पठन–पाठन नियमित गर्न क्याम्पस प्रशासनले कुनै पहल नगरेको विद्यार्थीहरूको आरोप छ।

बृहत्तरमा तलबको माग गर्दै तालाबन्दी

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का कर्मचारीले विगत ५ महिनादेखि तलब नपाएको भन्दै कार्यालयमा तालाबन्दी गरेका छन्। कर्मचारीहरूले बृहत्तरका अध्यक्ष शालिग्राम सिंहको लापरवाही र मनोमानीका कारण हालसम्म तलब पाउन नसकेको कर्मचारीहरूको आरोप छ।

कार्यालयका सवारी चालक विक्की कुमार चौधरीका अनुसार लामो समयदेखि तलब नपाएका कारण बाध्य भएर गत सोमबार कार्यालयमा तालाबन्दी गर्नुपरेको दुःखेसो पोखे। उनले भने, ‘दशैँ तिहार र छठ पनि बित्यो, तर आफूहरू भने भोकभोकै बस्नु परेको छ। ऋण जोहो गरेर घरपरिवार पाल्दै छु तर तलव कहिल्यै पाउने कुनै अत्तोपत्तो नै छैन्। ’

यता बृहत्तरका अध्यक्ष शालिग्राम शर्माले कार्यालयमा कर्मचारी समयमै नआउँदा स्पष्टीकरण सोधिएकोले उनीहरूले तालाबन्दी गरेको आरोप लगाए। बृहत्तरका कुनै पनि कर्मचारी समयमै नआउने गरेको र आफूले त्यो प्रवृतिलाई हटाउन खोज्दा कर्मचारी मिलेर तालाबन्दी गरेको आरोप लगाए। बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्मा २६ जना कर्मचारी कार्यरत रहेको तालाबन्दीपछि दैनिक काम प्रभावित भएको छ। कर्मचारीले गत असार महिनादेखि तलब पाएका छैनन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.