|

विराटनगर : लामो समयको प्रतीक्षापछि नीजि क्षेत्रको पहलमा विराटनगरबाट माउन्टेन फ्लाइट हुने भएको छ। विराटनगरका ७ जना ट्राभल्स एजेन्सीहरू मिलेर यति एयरलाइन्सको विमान चार्टर गरेर माउन्टेन फ्लाइट सुरु गर्न लागेका हुन्। प्रदेश १ को अस्थायी राजधानीको रूपमा रहेको विराटनगरबाट माउन्टेन फ्लाइट सुरु भएसँगै यहाँको पर्यटन क्षेत्रको विकासमा महत्वपूर्ण टेवा पुग्ने विश्वास उनीहरूको छ।

विराट होलिडेजका अध्यक्ष भविष श्रेष्ठले विराटनगरमा मंगलबार पत्रकार सम्मेलन गरी आउँदो मंसिर ८ गते शनिबार बिहान साढे ६ बजेदेखि माउन्टेन फ्लाइट हुने बताए। उनले ५५ मिनेट हुने फ्लाइटबाट कञ्चनजंघा, मकालु, सगरमाथालगायतका हिमालको दृश्यावलोकन हुने बताए। फ्लाइट प्रत्येक हप्ताको शनिबार हुनेछ।

भारतीय पर्यटकलाई लक्षित गरी माउन्टेन फ्लाइट सुरु गर्न विराटनगरका पर्यटन व्यवसायीले लामो समयदेखि प्रयास गरिरहेका थिए। सरकारका मन्त्रीहरूले विराटनगरबाट माउन्टेन फ्लाइट सुरु गर्ने भनेको भए पनि केन्द्रीकृत मानसिकता र काठमाडौंको सिण्डिकेटका कारण सफल हुन नसकेको विराट ट्राभल्स एसोसिएसनका महासचिव भागवत नेपालको भनाइ छ। उनले त्यो सिण्डिकेट र मानसिकता भत्काउन आफूहरूले प्रयास गरेको पनि बताए।

माउन्टेन फ्लाइटका लागि ९ हजार ९०० शुल्क तोकिएको छ। काठमाडौंबाट माउन्टेन फ्लाइटका लागि ११ हजार ६५० रुपैयाँ लाग्ने गरेको छ। २९ सिटे विमान भए पनि १९ जनाका लागि मात्रै झ्याल हुने भएको कारण १९ जना लिएर विमान उड्नेछ।

काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रत्येक दिन ५० बढी माउन्टेन फ्लाइट हुने गरेका छन्। जसका कारण एयर ट्राफिकको समस्या र प्लेन डिले हुने समस्या अत्याधिक हुने गरेको छ। तर, विराटनगर विमानस्थलको क्षमता हुँदाहुँदै सरकारले नीतिगत हिसाबले यहाँबाट माउन्टेन फ्लाइट गर्न मनैबाट नलाग्दा समस्या भएको अध्यक्ष श्रेष्ठको भनाइ छ।

विराटनगरबाट लगातार माउन्टेन फ्लाइट गराउन चुनौति रहेको बताउँदै सबैपक्षबाट सहयोग हुनुपर्नेमा विराट ट्राभल्स एसोसिएसनका अध्यक्ष फणिन्द्र अधिकारीले जोड दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.