|

हेटौंडा : मकवानपुरको राक्सिराङ गाउँपालिकाकी १२ वर्षीया गंगामाया चेपाङ आमा बन्न लागेसँगै सोमबार हेटौंडा अस्पताल ल्याइएको थियो। आमा बन्न लागेको खबरसँगै प्रधानमन्त्री कार्यालयले गंगामायाको उद्धार तथा उपचार गर्न जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई निर्देशन दिएपछि राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल र उपाध्याक्ष निर्मला हिम्डुङको समन्वयमा सोमबार साँझ हेटौंडा अस्पताल ल्याइएको हो।

तर, हेटौंडाका डाक्टरहरूले थप उपचारका लागि उनलाई मंगलबार काठमाडौं रिफर गरेका छन्। प्रसुति हुने बेलामा केही समस्या आउँदा काठमाडौं तथा भरतपुर लैजाँदा जोखिम हुने भन्दै काठमाडौं लगिएको राक्सिराङ स्वास्थ्य चौकीका अहेव प्रकाश कार्कीले जानकारी दिए। उनका अनुसार भिडियो एक्सरेको रिर्पोट हेर्दा हालसम्म कुनै प्रकारको समस्या छैन। अझै एक महिना प्रसुति हुने समय रहेकाले बच्चा बढ्ने हुनाले समस्या आउन सक्छ भनेर सुविधा सम्पन्न अस्पतालका लागि थापाथली प्रसुति गृह लैजान लागिएको काठमाडौं लगिएको हो। गंगामायाको साथमा उनका श्रीमान्, माइतीआमा र अहेव कार्की रहेका छन्।

राक्सिराङ गाउँपालिकाको ३ स्थित माइतीघरमा बस्दै आएकी चेपाङलाई उपचारका लागि ल्याउन अन्यले गरेको प्रयास उनीहरूको डरका कारण असफल भएको थियो। हेटौंडा अस्पतालमा गंगामायाको प्रारम्भिक जाँच गरिएको थियो। उपचारमा संलग्न डाक्टर निशा राईले बाल्यावस्थामा गर्भवती भएकोले जोखिम रहेको भन्दै अस्पतालमा निगरानीमा राखेर शिशुको जन्म दिनुपर्ने बताइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.