|

धनगढी : गत शुक्रबार धनगढीको उत्तरबेहेडीमा हत्या गरिएका विजय थापाको शव ६ दिनपछि उठ्ने भएको छ। मंगलबार मुख्यमन्त्री त्रिलोचन भट्टले विजयका परिवार तथा आफन्तसमक्ष दोषी पक्राउ गर्ने प्रतिबद्धता गरेपछि शव उठाउन उनीहरू सहमत भएका हुन्। मुख्यमन्त्रीको प्रतिबद्धतासँगै मंगलबारबाट आह्वान गरिएको कैलाली जिल्ला बन्द फिर्ता लिएको संघर्ष समितिले जनाएको छ।

विजय थापाका परिवार तथा आफन्तले हत्यारालाई कारवाही माग गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअघि धर्ना दिएका थिए। उनीहरूले हत्याको पाँच दिन बितिसक्दा पनि घटनाको सत्यतथ्य सार्वजनिक नगरेको आरोप लगाएका छन्। सोमबार र्‍यालीसहित जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका पीडित परिवार तथा आफन्तले मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा धर्ना दिएका हुन्।

मुख्यमन्त्री भट्टलाई ज्ञापनपत्र बुझाउँदै पीडित परिवारले दोषीलाई कारबाहीको माग गरेका थिए। हत्याको ५ दिन बितिसक्दा पनि घटनाको सत्यतथ्य सार्वजनिक नगरेको भन्दै उनीहरूले मुख्यमन्त्रीसमक्ष आक्रोश ब्यक्त गरेका थिए।

मुख्यमन्त्री भट्टले घटनाको सत्यतथ्य सार्वजनिक गर्ने प्रतिबद्धता जनाएका छन्। ‘प्रहरीले अनुसन्धान गरिरहको छ, हामीले पनि थप निर्देशन दिएका छौँ’ मुख्यमन्त्री भट्टले भने, ‘अपराधीले उन्मुक्ति नपाउने अवस्था सृजना हुँदैन।’

मुख्यमन्त्रीको आश्वासनपछि पीडित परिवार तथा आफन्तले मृतकको शव बुझ्न तयार भएका हुन्। उनीहरूले कैलाली बन्द पनि फिर्ता लिएका छन्। बन्द फिर्ता लिए पनि आन्दोलनका अन्य कार्यक्रमहरू यथावत रहने विजय थापा संघर्ष समितिका सदस्य जनक अवस्थीले बताए। उनले भने, ‘हामीले बन्द फिर्ता लियौँ तर जिल्ला प्रहरी कार्यालयभन्दा बाहिर १२ बजेदेखि २ घण्टा धर्ना दिनेछौँ।’

मृतककी आमा सीता थापाले निमर्ला हत्या प्रकरण जस्तो बन्ने चिन्ताले आन्दोलन गर्नुपरेको बताइन्। ‘पाँच दिन बितिसकेको छ, आजसम्म प्रहरीले हामीलाई आश्वस्त पर्न सकेको छैन’ सीताले भनिन्, ‘मैले न्याय पाउँदिन कि भन्ने मलाई चिन्ता छ।’

जिल्ला प्रहरी कार्यालय कैलालीले घटनास्थलबाट गत शुक्रबार नै धनगढी उप–महानगरपालिका ४ का आशिष सेठीलाई पक्राउ गरेको थियो। उनीविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी दर्ता भएको छ। उनीमाथि म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.