|

डोल्पा : विकट हिमाली जिल्ला डोल्पा राष्ट्रिय सडकसञ्जालमा जोडिएको छ।

संघीय सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले मंगलबार जाजरकोट-डोल्पा सडकको औपचारिक उद्घाटन गरेका छन्। जाजरकोटको पासगाड त्रिपुराकोटसम्मको १०३.४ किलोमीटर लामो सडकको कच्ची ट्रयाक खुलाइसँगै सडकको उद्घाटन भएको हो।

सडकको उद्घाटन गर्दै रक्षामन्त्री पोखरेलले सडक उद्घाटनसँगै डोल्पा आर्थिक समृद्धितर्फ लम्कने बताए। सधैँ आर्थिक विपन्नता र विकटताको उपमा पाइरहेको डोल्पाले कर्णाली-भेरी 'करिडोर' नाम दिइएको जाजरकोट-डोल्पा सडकले औचारिकता पाएसँगै विकट र गरिबीबाट अबका दिनबाट छुटकरा पाउनेसमेत रक्षामन्त्री पोखरेलको भनाई थियो।

सुँपानी–दुनैखण्डको १४.३ किलोमीटर सडकखण्डको कच्ची ट्रयाक तत्कालीन जिल्ला विकास समितिद्वारा यसअघि नै खुलाई बोलेरो जीप सञ्चालन भइरहेका थियो। उक्त सडकखण्डको स्तरउन्नतीको जिम्मेवारी पनि सेनालाई नै दिने बताउँदै सेनाबीचैमा निर्माण कार्य छाडेर भाग्छकी भन्ने भ्रममा नपर्नसमेत मन्त्री डोल्पालीलाई आग्रह गरे।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विकट र गरिबको परिचय बोकेर बसेको कर्णाली प्रदेशलाई सडकले सम्पन्नताको परिचय बदल्नमा सहयोग गर्ने बताए। गरिबी र विकटताको परिचयमात्रै नबोकेर कर्णाली प्रदेशले आर्थिक समृद्धिका लागि प्रचुर सम्भावना बोकेको समेत मन्त्री शाहीले बताए।

सेनाले सरकारले दिएको जिम्मेवारी इमान्दारी पूर्वक भनेकै समयमा पूरा गर्नुका साथै राज्यको विकासका लागि सदैब लागि परिरहेको बताउँदै थप जिम्मेवारी दिएको खण्डमा जिम्मेवारी पूरा गर्न नेपाली सेना प्रतिबद्ध रहेको प्रधानसेनापति पूर्णचन्द्र थापाले बताए। उक्त अवसरमा १४ वर्षे कठीन सडक निर्माण यात्रामा अहोरात्र खटिएर जाजरकोट–डोल्पा सडक निर्माण कार्यमा सफल भएको भन्दै रक्षा मन्त्री पोखरेलद्वारा कदरपत्र र दोसल्ला ओडाएर निर्माण कार्यदलका प्रमुख कर्णेल विश्वबन्धु पहाडीलाई सम्मान गरिएको थियो।

त्रिपुरा सुन्दरी नगरपालिकाको त्रिपुराकोटसम्म पहिलो चरणको कच्ची ट्रयाक खुलाउने काम सम्पन्न भएसँगै डोल्पा पूर्णरूपमा सडकसञ्जालमा जोडिएको छ। सडक उद्घाटन कार्यक्रममा सहभागी हुन मंगलबार मन्त्री पोखरेलसहितको टोली सेनाको हेलिकोप्टरबाट डोल्पा पुगेको हो। खदाङदेखी छलगाडसम्म जीप, ट्रयाक्टर र मोटरसाइकल पुर्‍याइएपछि स्थानीयले बाजागाजासहित गाडीलगायत अतिथिलाई भव्य स्वागत गरेका छन्।

जाजरकोटको पासगाडदेखि निर्माण थालनी गरी सम्पन्न भएको उक्त सडकको कुल लम्बाई करिब ११८ किलोमिटर छ। ट्रयाक खुलाइएपछि खदाङ–त्रिपुराकोट खण्डमा जीप, ट्याक्टरलगायतका यातायातका साधन सञ्चालनमा आएका छन्।

१३ पुल आवाश्यक

डोल्पाको त्रिपुराकोटको छलगाडसम्म ट्याक खुलाउने कार्यसम्पन्न भई औपचारिक उद्घाटन गरिए पनि दुनैसम्म सिधा यातायात सञ्चालनमा ल्याउनका लागि जाजरकोट-डोल्पा सडकखण्डका विभिन्न स्थानमा १३ वटा मोटरेवल पुल निर्माण गर्नुपर्ने छ। भेरी नदीमा आवश्यक पाँचवटा पक्की पुलमध्ये रिम्ना र चिसापानीमा पुल निर्माण भइसकेकाले तल्लु, हरियापानी र सुँपानीमा तीनवटा पुल निर्माण गर्न बाँकी छ। त्यस्तै सडकका बीच–बीचमा रहेका स–साना खोलाहरूमा दश ठाँउमा पुल निर्माण गर्न आवश्यक रहेको सेनाले जनाएको छ।

पहिलो चरणको ट्याक खुलाउने काम सेनाले सम्पन्न गरे पनि दोस्रो चरमा सडकमा लाग्ने साना ठूला पुलहरू निर्माण गरेर डोल्पासम्म सिधा यातायात सञ्चालन गर्नसमेत सरकारलाई डोल्पालीले माग गरे। साथै सडक उद्घाटन कार्यक्रमको अवसरमा त्रिपुरा सुन्दरी नगरपालिकाका प्रमुख ओम बहादुर बुढाद्वारा प्रस्तुत मागपत्रमा समेत यथाशिघ्र पुल निर्माण र सडक कालोपत्रेका लागि सरकारलाई अनुरोध गरिएको छ।

पहिलो चरणको ट्रयाक खुलाउने काम सेनाले गरिसकेकाले दोस्रो चरणको सडक स्तरउन्नती गर्नेकाम सडक विभागले गर्ने र सोका लागि सरकारले सहयो गर्ने कार्यक्रमका उपस्थित अतिथिले बताए। सरकारले २०६५ सालबाट नै सडक निर्माणकार्य सुरुवात गर्ने भनेता पनि रेखांकन विवादका कारण दुई वर्ष निर्माण कार्य अवरुद्ध भएको थियो।

तत्कालीन असहज परिस्थिति,चट्टानी भू–बनोट र भौगोलिक विकटका कारण सृजित् चुनौतिलाई पाखा लगाउँदै १४ वर्षको अहोरात्र खटाइले आज सडक पुर्‍याउन सफल भएको र डोल्पालीको सडक सपना साकार पारेको सडक निर्माण कार्यदल प्रमुख विश्वबन्धु पहाडीले बताए। छिन्चु-जाजरकोट हुँदै डोल्पासम्म सडक ल्याउन १४ वर्ष लागेको पहाडीले बताए। विस २०६६ सालमा राष्ट्रिय योजना आयोगद्वारा पुनः रेखांकन भएपश्चात् २०६७ सालदेखि जाजरकोटको पासगाडलाई जिरो पोइन्ट मानेर सडक निर्माण कार्यलाई तीव्रता दिइएको थियो।

रक्षामन्त्री पोखरेलसँगै, प्रधानसेनापति थापा, कर्णाली प्रदेशका मुख्यमन्त्री शाही, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेल, भौतिक पूर्वाधार मन्त्रालयका सचिव मधुसुधन अधिकारी, सडक विभागका महानिर्देशक रवीन्द्रनाथ श्रेष्ठ, रक्षा सचिव विष्णुप्रसाद लम्साल, अर्थ मन्त्रालयका सहसचिव निर्मलहरी अधिकारी, रक्षा मन्त्रालयका सहसचिव बाबुराम गौतम, रक्षा मन्त्रालयका उपसचिव धुब्रप्रसाद थपलिया, विकास निर्माण निर्देशनालयका निर्देशक रामधर सिंह, संजय केसी लगायतको टोली डोल्पा पुगेको थियो। कार्यक्रमको अध्यक्षता जिल्ला समन्वय समितिका प्रमुख शेरबहादुर बुढाले गरेका थिए।

सडकको पाँच पटक उद्घाटन

जजरकोट–डोल्पा सडकखण्डको पटक–पटक गरेर पाँचपटक उद्घाटन गरिएको छ। पहिलो उद्घाटन जाजरकोटको तल्लुबगरमा गरिएको थियो। २०७० फागुनमा वर्तमान वन मन्त्री शक्ति बस्नेतद्वारा सडकको उद्घाटन गरिएको थियो।

पासगाडदेखि तल्लुबगरसम्मको ५८ किलोमीटर निर्माण गरेर यातायात सञ्चालनमा ल्याइएको थियो। तल्लुबगरसम्म यातायात सञ्चालनमा गरिएसँगै रुकुम, जाजरकोट र डोल्पाका सर्वसाधारणलाई दैनिक उपभोग्य सामग्री ढुवानी तथा जिल्ला बाहिर आवतजावत गर्नसमेत सहज भएको थियो।

अर्को उद्घाटन २०७२ सालमा गोतामकोटदेखि रुकुमको मन्काबगरसम्म सडक निर्माण गरेर गरिएको थियो। पूर्वमन्त्री जनार्दन शर्माद्वारा सडकको उद्घाटन गराइएको थियो।

त्यस्तै २०७३ साल साउनमा डोल्पाको त्रिवेणी बजारसम्मको ७८ किलोमीटर सडक निर्माण गरेर पहिलो पटक सिमाना प्रवेश गरिएको थियो। त्रिवेणी बजारसम्म सडक निर्माण गरेसँगै डोल्पा पहिलो पटक राष्ट्रिय सडक सञ्जालमा जोडिएको थियो। त्यतिबेला पूर्व प्रधानसेनापति राजेन्द्र क्षेत्रीद्वारा सडकको उद्घाटन गरिएको थियो।

अर्को उद्घाटन २०७४ सालमा त्रिवेणी बजारदेखि खदाङसम्मको १३ किलोमीटर सडक निर्माण गरेर पूर्वमन्त्री सत्य पहाडीद्वारा गरिएको थियो। त्रिपुरा सुन्दरी ५ मा पर्ने खदाङसम्म गाडी सञ्चालनमा आएपछि यातायातको सहज पहुँच बिस्तारसँगै दैनिक उपभोग्य सामग्रीको ढुवानीका लागि खच्चड प्रतिको निर्भरता घटेको थियो ।

अर्को उद्घाटन खदाङदेखि त्रिपुराकोटसम्म मंललबार गरिएको हो। सोको उद्घाटन रक्षा मन्त्री पाखरेलले गरेका हुन्।

सेनालाई धन्यवाद

त्रिपुरा सुन्दरी नगरपालिका १ रवीप्रसाद न्यौपानेले घरआँगनमै गाडी गुड्ला भन्ने सोचेका थिएनन्। उमेरले ८० काटीसकेका उनी आजभन्दा चारदशक अगाडि पन्ध्र दिनसम्म पैदल हिँडेर नेपालगञ्ज, सुर्खेत लगायतका हाटबजार पुगेको बताउछन्।

'चराले टेक्न सक्ने बाटो थिएन्, अप्ठेरो बाटोका कारण घर छाडेर हाट जाँने तयारी गर्दा घरमा रुवाबासी नै हुन्थ्यो, उतीखेर नुन, कपडालगायतका बस्तु किन्न हाटबजार पुगेको हटारु आँउछ कि आँउदैन पत्तो हुदैन थियो' न्यौपानेले भने, 'अब घरआँगनमै गाडी गुड्न थालेको छ, दुई दिनमै नेपालगंञ्ज, सुर्खेतलगायतका शहरमा पुग्न सकिन्छ, औषधोपचारसँगै खाद्यान्न ढुवानीमा समेत सहज भएको छ।'

विकासको मुख्य कडी भनेको सडक भएकाले डोल्पासम्म सडक जोडिएपछि खुशीको सीमा नभएको डोल्पालीले बताएका छन्। उनीहरूले सेनाले ट्रयाक खोले पनि सिधा यातायात सञ्चालनका लागि पुल निर्माणसँगै कालोपत्रेका लागि सरकारसँग मागसमेत गरेका छन्।

अब नुन, तेल, चामललगायतका दैनिक उपभोग्य बस्तुको मूल्य घट्नुका साथै संरचनागत विकास गर्नसमेत सघाउ पुग्ने स्थानीय विष्णु न्यौपानेले बताए। बजार नपाएर घरमै कुहिँदै आएको अर्गानिक स्याउ, ओखर लगायतका फलफूलले समेत बजार पाउने र आयस्तरमा समेत वृद्धि हुने अपेक्षा उनको छ।

यो जुनीमै मोटर कुद्ने सपना नदेखेका डोल्पालीले सडक जोडिएर मोटर कुदेपछि सेनालाई हार्दिक आभारसमेत प्रकट गरेका छन्।

रणनीतिक सडक

जाजरकोट–डोल्पा सडकलाई रणनीतिक महत्व बोकेको सडको रूपमा समेत हेरिएको छ। जिल्ला अन्तर सडकमात्र नभई दक्षिण उत्तरी नाकाको रूपमा चीन, नेपाल र भारत जोड्ने त्रिदेशीय व्यापारीक सडकको रूपमा विकास गरिने सरकारको लक्ष्य छ।

उपल्लो डोल्पामा रहेका मोरिम्ला नाका खुलेपछि यस सडकको महत्व थप चुलिने संघीय तथा प्रदेश सरकारको अपेक्षा छ। मंसिर १ गतेमात्रै भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठको टोलीले मोरिम्ला नाकाको स्थलगत निरीक्षण गरेको थियो।

दुनै–मोरिम्ला सडकको १२० किलोमिटर सडकमध्ये ९० किलोमिटर सडकखण्डको कच्ची ट्रयाक खुलाइसकिएको छ। टोलीले धो–लैनीखण्डको बाँकी ३० किलोमीटर सडक निर्माणका लागि आवाश्यक बजेट तर्जुमा गर्ने आश्वासन दिएको थियो। सडक निर्माणपछि उत्तर–दक्षिण जोड्ने नेपालकै छोटो लोकमार्ग बन्नेछ। बाँकी सडक निर्माण भएसँगै मोरिम्ला-दुनै हुँदै जमुनाहसम्म(नेपाल–भारत सिमाना) सडक विस्तार हुनेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.