|

दाङ : नेपाली कांगेसका नेता प्रकाशमान सिंहले आफूहरूले पार्टीविरुद्धमा गुटबन्दी नगरेको स्पष्ट पारे। ‘सभापति शेरवहादुर देउवाविरुद्ध गुटबन्दी भइरहेको छ भन्ने आरोप आएको नी?’ भन्ने पत्रकारको प्रश्नको जवाफ दिँदै नेता सिंहले बहुमतको नाममा पार्टीभित्र एकलौटी निर्णय गर्न थालेपछि पार्टी सभापतिलाई विधि सम्मत चल्न मात्र आग्रह गरेको बताए।

प्रेस युनियन दाङले बुधबार घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता सिंहले देशमा संघीय लोकतान्त्रिक गणतन्त्र आइसकेको समयमा पार्टी पुरानै ढर्रामा चलेको हुँदा त्यसलाई आफूहरूले सुधारको प्रयास थालेको बताए। पार्टीका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य समेत रहेको नेता सिंहले पार्टीको नीतिविपरित सभापतिले काम गरेको आरोप लगाए। ‘पार्टी नीति र विधिसम्बत हुनुपर्छ भन्ने हाम्रो आवाज छ’ उनले भने, ‘हामीले पार्टीलाई सुधार गरेरै छोड्छाैं।’ 

नेता सिंहले पार्टीको नेतृत्व शैली एवं विधान समेत एकात्मक भएको हुँदा त्यसलाई समेत लोकतान्त्रिक परिपाटीको निर्माण गर्न गृहकार्यमा जुटेको बताए। उनले सरकारले निर्वाचनमा जनाएको प्रतिवद्धताअनुसार काम गर्न नसकेको आरोप समेत लगाए। ‘दुई तिहाइको सरकार छ। तर आफ्नो नारा अनुसारको काम गर्न सकेको छैन’ उनले भने,‘सुखी नेपाली समृद्ध नेपालको नारा लगाए पनि त्यसको लागि कुनै एक छेउको काम पनि सुरु गर्न सकेकाे छैन। सरकार अहिले अशक्त रुपमा प्रस्तुत भइरहेकाे छ।' 

विशेष गरी बढिरहेको अपराध र शान्ति सुरक्षाका बारेमा सरकार गंभीर रुपमा प्रस्तुत हुन नसकेको उनको आरोप छ। नेता सिंहले आम जनताले महसुस हुने गरी सरकारले काम गर्न नसकेको पनि बताए। न्याय दिने र दण्ड गर्ने सवालमा सरकार चुकेको उनको भनाई थियो।

सरकारले काम नगरे पनि संघीयता र संविधान कार्यान्वयनमा आफ्नो पार्टीले सधैभरि सक्रिय भएर लागिरहने पनि प्रतिवद्धता जनाए। साथै उनले कांग्रेसले सक्रिय प्रतिपक्षको भूमिका निर्वाह गर्न नसकेको भन्ने संचारकर्मीको जिज्ञासामा आफूहरूले सडक, सदनमा दुवैमा आफ्नाे क्षमता र आवश्यकताअनुसार आवाज उठाइरहेको पनि बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.