|

दमक (झापा) : दमक नगरपालिकाका भूमिहीनहरुका लागि एकीकृत वस्ती निर्माण गरिने भएको छ। नगरपालिकाले नगरका अव्यवस्थित बसोबास तथा भूमिहीनहरुका लागि एकीकृत वस्ती निर्माणका करिव १८ कट्ठा जग्गा वडा नं. ७ मा छनोट गरिएको नगरप्रमुख रोमनाथ ओलीले जानकारी दिए।

नगरपरिषदबाट स्वीकृत र महत्त्वकांक्षी योजनाको रुपमा रहेको यस योजनामा प्रदेश सरकार र यसै क्षेत्रबाट निर्वाचित सांसदको पूर्वाधार विकास कोषले पनि सघाउने भएको छ। वस्ती निर्माणका लागि जग्गा छनौटको काम करिव सकिएको र अब चाँडै शिलन्यास गरिने प्रमुख ओलीले बताए। 
 
साढे तीन करोड निकासा

दमकमा पहिलो पटक सुरु हुन लागेको एकीकृत वस्ती निर्माणका लागि पहिलो चरणमा साढे तीन करोड रुपैयाँभन्दा बढी रकम छुट्ट्याइको छ। स्थानीय सरकारको स्रोतले मात्र योजना कार्यान्वयनमा नभ्याउने भएकाले अन्य स्रोतको पनि खोजी गरिएको नगरपालिकाले जनाएको छ।

यसका लागि नगरपालिकाले एक करोड, प्रदेश सरकारले एक करोड ३० लाख र झापा निर्वाचन क्षेत्र नं. ५ बाट संघीय संसदमा निर्वाचित सांसद समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको पूर्वाधार विकास कोषबाट एक करोड ४० लाख रुपैयाँ छुट्टिएको छ। यस रकमबाट प्रारम्भिक काम सुुरु हुने र आवश्यकताअनुसारको रकम व्यवस्थापन गरिने नगरपालिकाले जनाएको छ।

विकल्प पनि खोजिँदै

नगरको अव्यवस्थित बसोबासको समस्या समाधानको एउटा विकल्पका रुपमा एकीकृत वस्ती निर्माणको योजना अघि बढाइएको नगरपालिका उपप्रमुख तथा प्रवक्ता गीता अधिकारीले बताइन्। अहिले अघि बढाइएको योजना पर्याप्त नभएकाले यस प्रकारका योजनाहरुलाई बिस्तारसहित निरन्तरता दिने उनको भनाइ छ।

नगरपालिकाद्वारा गठिन जग्गा धनी प्रमाण पूर्जा वितरण आयोगका अध्यक्ष अम्बिका खनालले विभिन्न विकल्पहरुसहित भूमिसम्बन्धी समस्या समाधानका लागि आयोग क्रियाशील रहेको बताए। यसैका लागि एकीकृत वस्तीको योजना नगरपालिकाले ल्याएको र बाँकी अव्यवस्थित बसोबास समस्या तथा धनीपूर्जा वितरणको काम समेत अघि बढाइने उनको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.