|

ओखलढुंगा : ओखलढुंगा र रामेछापको सीमानामा पर्ने लिखु नदीमा निर्माण थालिएको लिखु–४ जलविद्युत् आयोजनाको काम तीव्र गतिमा अगाडि बढेको छ। काम थालेको सात महिना अवधिमा १० प्रतिशत काम सम्पन्न भएको आयोजनाले जनाएको छ।

ओखलढुंगातर्फको खिजिदेम्बा गाउँपालिका वडा नं. १ र ३ मा मुख्य संरचना रहेको आयोजनाको विद्युत् गृहको स्काभेसनको काम ८० प्रतिशत सकिएको छ। आयोजनाले जग्गा खरिद प्रक्रिया सम्पन्न गरेर  हाल सहायक सुरुङ (अजिट) निर्माणको काम सुरु गरेको बताइएको छ। खिजिदेम्बा गाउँपालिकाको होल्पु, बिमिरे र जिलीमा निर्माण थालिएका सहायक सुरुङको काम सकिएपछि मुख्य सुरुङ निर्माणको काम थालिने आयोजनाका जनसम्पर्क तथा प्रशासकीय प्रबन्धक कृष्णदास श्रेष्ठले बताए।

सहाय सुरुङ निर्माणका लागि गत साउनबाट नेपाली सेनाले सुरुङभित्र विष्फोटक पदार्थ विस्फोट गराउन थालेको छ। ३०० मिटर भित्रसम्म ३ वटै सहायक सुरुङ निर्माण गरिसकेपछि मुख्य सुरुङ निर्माणको काम थालनी हुने बताइएको छ। होल्पुमा निर्माण सुरु गरिएको सहायक सुरुङको काम १३० मिटर पूरा भएको छ भने बिमिरेको काम १५ मिटर सकिएको छ। जिलीको भूभागबाट निर्माण थालिएको सहायक सुरुङको काम ८५ मिटर निर्माण पूरा भएको आयोजनाले बताएको छ। सहायक सुरुङको काम पूरा भएपछि ४ दशमलब २५ किलोमिटर लामो मुख्य सुरुङ निर्माण सुरु गरिने बताइएको छ।

प्रवर्धक कम्पनी ग्रीन भेन्चर्स प्रालिले निर्माण गरिरहको जलविद्युत् आयोजनाको काम दुईवटा ठेकेदार कम्पनीले गरिरहेका छन्। जसअन्तर्गत् सिभिलतर्फको काम इन्डियन कम्पनी एसएसएनआरलाई दिइएको भने पावरहाउस, भल्भ साउथ र सर्ज साफ्टलगायतका संरचना निर्माण गर्ने जिम्मा नेपाली कम्पनी साउथ एसियन इन्फास्ट्रक्चरको रहेको छ। उक्त कम्पनीले ड्याम साइट र डिसेल्टिङ च्याम्बरलगायतका संरचना निर्माण गर्नु पर्नेछ।
हाल यी दुवै कम्पनीले दु्रत गतिमा काम अगाडि बढाएको आयोजनाले जनाएको छ। आयोजना निर्माणका लागि फिल्डमा इन्जिनियर, फोरम्यान, ब्लाष्टर, ड्राइभर,

अपरेटर, मजदुरलगायतका ४५० जनशक्ति खटाइएका छन्। थप जनशक्ति बढाएर काम अगाडि बढाउने तयारी भइरहेको जनसम्पर्क तथा प्रशासकीय प्रबन्धक श्रेष्ठको भनाइ छ। 'हामीले ओखलढुंगा र रामेछाप दुवैतर्फका स्थानीय तह, स्थानीय बासिन्दा, राजनीतिक दल, सरोकारवालालगायत सबैको सहयोगबाट काम अगाडि बढाइरहेका छौँ र अहिले तीव्र गतिमा काम भइरहेको छ', उनले भने।

खिजिदेम्बा गाउँपालिकाका ३ स्थित बिमिरेमा ड्याम निर्माण गरेर भूमिगत सुरुङबाट लिम्तीमा निर्माण हुने विद्युत् उत्पादन गृहमा पानी खसालिने छ। सुरुमा यो आयोजनाको उत्पादन क्षमता १२० मेघावाटको रहनेगरी डिजाइन गरिएको थियो। पछि प्रवर्धक कम्पनीले उत्पादन क्षमता घटाएर काम अगाडि बढाएको हो।

मुख्य संरचना ओखलढुंगातर्फ रहे पनि आयोजनाको प्रभावित क्षेत्र ओखलढुंगा र रामेछाप दुवै जिल्लामा रहेको छ। ओखलढुंगा जिल्लाको खिजिदेम्बा गाउँपालिकाको १ र ३ र लिखु गाउँपालिकाको ९ नम्बर वडा र रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिकाको १, २ र ७ नम्बर वडा आयोजनाको मुख्य प्रभावित क्षेत्र हुन्। ३० महिनामा अवधिमा निर्माण पूरा गरी राष्ट्रिय प्रसारण लाइनमा जोड्ने योजनाका साथ निर्माण सुरु भएको यो आयोजना ५२ दशमलब ४ मेगावाट क्षमताको रहेको छ।

१० अर्ब १६ करोड रुपैयाँ लागत अनुमान गरिएको उक्त आयोजनामा लक्ष्मी बैंक, ग्लोबल आईएमई बैंक, नबिल बैंक, सनराइज बैंक, नेपाल एसबीआई बैंक, सानिमा बैंक र प्रभु बैंकको ७५ प्रतिशत लगानी गर्ने र आयोजनामा २५ प्रतिशत लगानी त्रिवेणी ग्रुप र विशाल ग्रुपले गर्ने सम्झौता रहेको आयोजनाका प्रोजेक्ट डेभ्लपमेन्ट मेनेजर बद्री रिजालले जानकारी दएि। २०७३ साल असार २५ गते नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता गरेर काम अगाडि बढाएको आयोजना सन् २०२० को अगस्ट भित्रमा समापन गर्ने लक्ष्य राखिएको रिजालको भनाइ छ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.