|

दार्चुला : दार्चुला जिल्लामा सञ्चालित जिपमा थपिएका अवैध सिटहरु हटाइएका छन्। सम्भावित दुर्घटनालाई कम गर्न पछि थप गरिएका सीट हटाइएको प्रहरीले बताएको छ।

बोलेरो क्याम्पर जिपहरुमा जिप धनीले थपेका सिट अवैध भएको र क्षमताभन्दा बढी यात्रुहरु बोक्ने गरेकाले त्यस्ता सिट टाइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख डिएसपी नवराज अधिकारीले बताए। जिल्लामा अधिकांश बोलेरो क्याम्पर जिप सञ्चालनमा छन्।

यी जिपहरुले जम्मा छ जना यात्रु बोक्न सक्ने भए पनि पछाडिको भागमा सिट थपेर आठ जनासम्म बोक्न मिल्ने बनाइएको छ। सामान बोक्ने प्रयोग गरिने ठाउँमा पनि सिट जडान गरी यात्रु र समान बोक्ने गर्दा अत्यधिक तौलका कारण दुर्घटना हुन सक्ने भन्दै पछाडि राखिएका सिट हटाइएको प्रहरीले बताएको छ।

यसअघि प्रहरीले जिपहरुको छत तथा पछाडिको भर्‍याङ पनि हटाएको थियो। ‘जिप चालकहरुले निकै अटेरी गरी नियमलाई मिचेर क्षमताभन्दा बढी यात्रुहरु हाल्न थाले,’ डिएसपी अधिकारीले भने, ‘त्यसैले सम्भावित दुर्घटना कम गर्न यस्तो कदम चालेका हौं।’

यसअघि जिपहरुले १५ देखि २५ जनासम्म यात्रु बोक्ने गरेका थिए। पछाडिको सिट हटाइएसँगै छ जना यात्रु हालेर जिप सञ्चालन गर्नुपर्ने बाध्यता रहेको चालकहरुको गुनासो छ। न्युनतम् १४ जना बोक्ने सवारी साधनमा छ जना मात्र यात्रु बोकेर व्यवसाय गर्न कठिन हुने उनीहरुको गुनासो छ।

जिल्लामा गोकुलेश्वर, मालिकार्जुन, पनेवाज, पस्ती, मिल्खेत, दत्तु, धाप–खलंगा, लटिनाथ, बिटुले, पारिवगड, धुलिगडा–गोकुलेश्वर, धुलिगडा– होपरी, होपरी, दल्लेक, मैखाली–खलंगा तथा हिकिला, धारी–खलंगा गरी विभिन्न रुटमा झण्डै अढाइ सय बोलेरो जिपहरु सञ्चालनमा छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.