|

भोजपुर : भोजपुर नगरपालिका–१० भैंसीपंखा खुरिलाका २७ परिवारले आठ वर्षअघि इलामबाट ४० हजार चियाका डाला ल्याए। उनीहरुलाई डालालाई बिउका लागि नर्सरी राखे। नर्सरबाट उत्पादित विरुवा प्रतिगोटा एक रुपैयाँका दरले उनीहरुले आ–आफ्ना करिब ६६ रोपनी जग्गामा लगाए।

यसरी सुरु गरेको चिया खेती बिस्तार गरी साढे तीन वर्षपछि अर्थोडक्स (हातेपत्ती) चिया उत्पादन गर्न थाले। उत्पादित चिया बिक्रीका लागि नजिकैको भोजपुर बजारमा पुर्‍याए। तर, चिया बिक्री भएन। धेरै मेहनत गरेर उत्पादन गरेको चिया बजारमा बिक्री नभएपछि उनीहरु त्यत्तिकै घर फर्के। 

चियाले बजार नपाएपछि खुरिलाका अधिकांश चिया किसान अहिले चिया खेती मासेर अन्य खेती गर्ने विकल्प रोज्नुपर्ने अवस्थामा पुगिसकेका छन्। ‘यहाँको हावापानी राम्रो छ, चियाको बजारमूल्य पनि राम्रै होला भनेर हामीले चिया खेती विस्तार गर्‍यौँ,’ स्थानीय दुर्गाबहादुर कार्कीले भने, ‘हामीले उत्पादन गरेको अर्थाेडक्स चिया बिक्री भएन।’

चिया बिक्री नभएपछि यहाँका किसानले पछिल्लो समय चियाको हेरचार गर्न छाडेका छन्। हेरचाह नभएपछि यहाँका चियाबारी झाडीमा परिणत भएको छ। किसान बमबहादुर श्रेष्ठले भने, ‘२७ परिवारले लगाएको चियामा अहिले आएर नौ घरधुरीको बाहेक सबैको झाडीमा परिणत भइसक्यो।’ त्यहाँ उत्पादित चियाले बजार नपाए पनि कहिले काहीँ टाढा–टाढाबाट आएका पाहुनालाई कोसेली दिने गरेको श्रेष्ठले बताए। उनले भने, ‘आफुले दुःखले उत्पादन गरेको चियाले बजार नपाए पनि त्यसै कुहाएर खोल्सामा मिल्काउनु भन्दा टाढा–टाढा सम्म आउने–जाने गर्ने आफन्तहरुलाई कोसेली स्वरुप हातमा लगाइदिने गरेका छौँ।’

स्थानीयले हाते चिया प्रवर्द्धनका लागि खुरिला सहकारी संस्था समेत दर्ता गरेका छन्। उचित बजार मूल्य र आधुनिकीकरणका लागि दातृ निकायसँग सहयोगको अपेक्षा उनीहरूको छ। अर्थोडक्स चियाको बजारीकरणको लागि दातृ निकायहरु र स्थानीय निकाहरुले सहयोग गरे अझ धेरै चिया खेती विस्तार गर्न सक्ने अर्का स्थानीय बमबहादुर कार्कीले बताए।

भोजपुर नगरपालिकाका उपमेयर ममिता राईले किसानले समस्या लिएर आए समाधानको पहल गर्ने बताउँछिन्। उनले भनिन्, ‘किसानहरुले हामीकहाँ समस्याहरु लिएर आए यही आर्थिक वर्षमा सम्भव नभए पनि आगामी आर्थिक वर्षमा समाधान पहल गर्थ्यौं।’ स्थानीय सरकार आएको यतिका समय बितिसके पनि किसानहरु समस्या लिएर सम्बन्धित निकायसम्म नआएको उनको भनाइ छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.