|

जनकपुरधाम : नेपालमै सबैभन्दा ठूलो मेला मानिएको जनकपुरधामको रामजानकी विवाह पञ्चमी महोत्सवमा यस वर्ष भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ आउने भएका छन्। यही मसिंर २६ गते हुन लागेको विवाह पञ्चमी महोत्सवमा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगी अयोध्या तर्फबाट जन्ती बनेर आउन लागेका हुन्।

मुख्यमन्त्री योगी आदित्यनाथ अयोध्याबाट भगवान् रामको तर्फबाट साधुसन्त जन्तीको नेतृत्व गर्दै महोत्सवमा सहभागी हुन जनकपुरधाम आउने जानकी मन्दिरका सहमहन्त रामरोशन दास वैष्णवले जानकारी दिए। पहिलोपटक भारतका मुख्यमन्त्री योगी आउने भएपछि विवाह पञ्चमी महोत्सवको तयारीमा अहिलेदेखि स्थानीय, प्रदेश सरकार र जानकी मन्दिर जुटेको छन्।

साताव्यापी रूपमा मनाइने विवाह पञ्चमी महोत्सव मंसिर २१ गतेबाट विधिवत रूपमा शुरु हुँदैछ। महोत्सवको पहिलो दिन २१ गते जनकपुर नगर दर्शन, २२ फूलबारी लीला, २३ धनुष यज्ञ, २४ तीलकोत्सव, २५ मटकोर, २६ गते रामसीता स्वयंवर तथा विवाह र २७ रामकलेवा कार्यक्रम हुनेछ। सो कार्यक्रम अवधिको मुख्यदिन २६ गते विवाहपञ्चमीका दिन मुख्यमन्त्री आदित्यनाथ योगी जनकपुरधाम आउने कार्यक्रम तय गरिएको सहमहन्त रामरोशन दास वैष्णवले जानकारी दिए।

उनका अनुसार मंसिर २६ मा साधुसन्तको जन्तीका साथ जनकपुरधाम आउने र सबैभन्दा पहिला जानकी मन्दिरमा पूजाअर्चना गर्ने कार्यक्रम तय गरिएको छ। त्यसपश्चात् मुख्यमन्त्री योगीको स्वागतमा प्रदेश २ सरकारले मधेश भवनमा हुने दिवाभोजमा सरिक हुने रहेको सहमहन्त वैष्णवले जानकारी दिए। प्रदेश २ सरकारको मधेश भवनमा मुख्यमन्त्री योगीको स्वागतमा साधुसन्त, जन्ती, विशिष्ट व्यक्तित्व र सर्वसाधारणका गरी १ हजार १ जनाको भण्डारा (भोज) प्रदेश सरकारले आयोजन गर्ने तयारी गर्न लागेको आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले जानकारी दिए।

प्रदेश सरकारको (भण्डारा) भोजपश्चात् दिउँसो जनकपुरको ऐतिहासिक रंगभूमि मैदान बाह्रबिघामा अयोजित सीताराम स्वयंम्वरमा दुवै मुख्यमन्त्रीलगायत समकक्षी सहभागी हुने कार्यक्रम छ। सीताको पक्षबाट जानकी मन्दिरबाट जानकीको डोला र अयोध्याको तर्फबाट राम मन्दिरबाट रामको डोला बाह्रबिघामा पुगेपछि स्वयम्वर हुन्छ। त्यही स्वयम्वर कार्यक्रममा दुवै मुख्यमन्त्री सरिक हुने छन्। उनले भने, ‘स्वयम्वरपश्चात् दुवै समकक्षीले सम्बोधनको कार्यक्रम राखिएको छ। कार्यक्रम समापनपश्चात् मुख्यमन्त्री योगी सोही दिन भारत फर्किने कार्यक्रम तय भएको छ।’

सह–महन्त वैष्णवका अनुसार ऐतिहासिक बाह्रबिघा मैदनमा स्वयम्वर र योगीको सम्बोधनका लागि मञ्च व्यवस्थापनलगायत कामका लागि झण्डै ३५ लाख रुपैयाँ खर्च हुनेछ। यसपटक मुख्यमन्त्री योगीको आगमन भएकाले महोत्सव व्यवस्थापनमा अढाई करोड रुपैयाँसम्म खर्च हुने उनको भनाई छ। विवाह पञ्चमी महोत्सव भव्यतापूर्वक मनाउन प्रदेश २ सरकारले यसपटक ५० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने यसअघि नै मन्त्रिपरिषदबाट निर्णय गरिसकेको छ।

महोत्सव तयारीका लागि मञ्च व्यवस्थापन, मटकोर, जन्तीको स्वागत, विद्युत् व्यवस्थापन, ट्राफिक व्यवस्थापन, शौचालय एवं फोहोर, सरसफाईलगायतको कामका लागि सर्वपक्षीय बैठकबाट २४ वटा छुट्टाछुट्टै समितिसमेत गठन गरिएको छ। यता भारत सरकारको आर्थिक सहयोगमा निर्माण भएको जनकपुरधाम–जयनगर रेल्वेको उद्घाटनको यकिन नभए पनि मुख्यमन्त्री योगीले नै रेल्वेको उद्घाटन गर्ने अनुमान गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.