रामबहादुर पौडेलको पोखरा सफाइ अभियान

|

पोखरा : पोखरा प्राकृतिक हिसाबले र देखावटी रूपमा जति सुन्दर थियो भित्र उत्तिकै फोहोर। पोखरालाई चिनाउने फेवाताल होस् या बेगनास जताततै फोहोरको डंगुर। यही फोहोरको डंगुर तह लगाउन यहाँका रामबहादुर पौडेलले ०७३ जेठमा सरसफाइ अभियानको सुरुवात गर्ने निर्णय गरे।

२० रोपनीको फोहोरको टापु

एक्लै पोखरा उपत्यका बृहत सरसफाइ अभियान लिएर निस्केका पौडेललाई एकपछि अर्को समर्थन जुट्दै गयो। ०७३ जेठ २२ गते विश्व वातावरण दिवसको अवसर पारेर सरसफाइ अभियान नै सुरु भयो। ‘पोखरा उपत्यका बृहत सरसफाइ अभियान ०७३ जेठ २२ गतेबाट विश्व वातावरण दिवसको अवसर पारेर सुरु गरियो,’ पौडेलले भने, ‘त्यो कार्यक्रम फेवातालको ड्यामसाइडबाट सुरु भयो। ड्यामसाइडमा झन्डै २० रोपनी पानीको भूभाग ओगटेको फोहोरको टापु हटाइयो।’

ड्यामसाइडमा २० रोपनी पानीको क्षेत्र ओगटेर रहेको फोहोरको टापु हटाएपछि पौडेलको समूहको नजर फिर्के खोलाको मुहानमा पर्‍यो। पोखरामा सबैभन्दा धेरै फोहोरको डंगुर नै फिर्केको मुहान हुँदै बग्छ र यहाँका ताल भरिन्छन्।

फिर्केबाट सरसफाइ अभियान सुरु गर्न उनीहरूले नागरिक सरोकार समिति नै गठन गरे। पौडेल नै संयोजक भए। १८ हप्तासम्म फिर्के हुँदै अँधेरी र अँधेरी हुँदै फेवातालसम्म अभियान चल्यो। १८औँ हप्ताको सरसफाइपछि त्यो क्षेत्रमा फोहोर मैला नदेखेका पौडलको समूहले अभियानलाई नै समापन गर्ने तयारी गर्‍यो। त्यतिवेला काठमाडौंमा पनि बागमती सरसफाइ अभियानको नेतृत्व गरिरहेका तत्कालीन नेपाल सरकारका मुख्य सचिव लिलामणि पौडेलले अभियान पोखरामा यो अभियान समापन गर्न हुन्न भनेपछि निरन्तरता पाएको थियो।

फिर्केको मुहानबाट सुरु भएको  बृहत सरसफाइ कार्यक्रम दोस्रो चरणमा बगरको गाईघाटबाट सुरु भयो। अहिलेसम्म १२९ औँ हप्ताको सरसफाइ सम्पन्न भइसकेको छ।

विदेश गएर फर्केपछिको योजना

पौडेललाई विभिन्न योजनाले बाह्‍य देशको भ्रमण गरेर पोखरा फर्केपछि सरसफाइ अभियान गर्नुपर्छ भन्ने सोच पलाएको थियो। ‘कैँयौँपटक विदेश भ्रमणमा जाँदा त्यहाँको वातावरण, परिवेश हेरेपछि यहाँ पनि गर्न सकिन्छ भन्ने लागेर यो अभियान सुरु गरेका हौँ,’ उनले भने, ‘पोखरा आफैँमा प्रकृति र संस्कृतिले सजिएको ठाउँ हो। यसलाई कुरूप हुन दिन त भएन भनेर अभियानतर्फ लागियो, सफल भइएको छ।’ पहिले ताल वरपर मात्रै सरसफाइ गर्ने उक्त टोलीले पोखराका गल्ली सरसफाइ गर्ने गरेको छ।

विदेश घुमेर आएपछि फुर्ती मात्र लाउने कि केही गर्ने?

‘विश्वकै महत्वपूर्ण गन्तव्‍य मध्येको एक पोखरा र हामी यहिँका बासिन्दा केही गर्नेकी नगर्ने भनेर आफैँलाई प्रश्न गर्दै अभियानमा लागियो’ उनी भन्छन्, ‘विभिन्न देश घुमेर आएका हामी फुर्ती लाएर बस्ने कि यहीँ केही गर्ने? हामी पोखरालाई सफा सुन्दर बनाउन चाहन्छौँ। यहाँ फालेका फोहोर हाम्ले नटिपे कसले टिप्ने? हामी न महानगरको प्रतिपक्ष, न सरकारको हामीले दायित्व पूरा गरेका हौँ। ढाडस दिने काम सम्बन्धित निकायको हो।’

उनले पोखरा सरसफाइ अभियान सुरु गरेको कुनै पुरस्कार थाप्‍न र तक्मा बटुल्न नभई जिम्मेवार नागरिक हुनुको कर्तव्‍य पूरा गरेको बताए। ‘हामी आफैँले कुनै सम्मान पुरस्कार थाप्‍न, तक्का बटुल्न हैन। नागरिक हुनुको दायित्व पूरा गर्न यो अभियान सुरु गरेका हौँ’ उनले भने। पहिले केही नागरिकको मात्र समर्थन पाएको अभियानमा महानगरले पूर्ण रूपमा साथ दिएको छ। सुरक्षा निकायको चारवटै अंगहरूले पनि साथ दिएका छन्। आवश्यक परेको खण्डमा यहाँका विभिन्न वित्तीय संस्थाहरूले सरसफाइ अभियानमा चाहिने मार्क्स लगायतका सामग्री खरिद गरी सहयोग गरेका छन्।

उक्त अभियानमा कसैले आर्थिक सहयोग भने गर्न पाउँदैन। आफैँले किनेर सामग्री भने दिन सक्छ। विभिन्न क्लब, टोल विकास संस्था, महिला समूह गरेर अहिलेसम्म करिब डेढलाख जनसहभागिता भइसकेको छ। १२९औँ हप्ताको अभियान सकिँदासम्म ३७ सय टन फोहोर संकलन तथा व्यवस्थापन भइसकेको छ। संकलन भएको फोहोर महानगरको फोहोर संकलन गर्ने सवारीले ड्याम्पसाइडमा लैजाने गरेको छ।

हप्ताको एक घण्टा राष्ट्रका लागि स्वयंसेवक

चुनाव आउँदै छ राजनीतिमा हात हाल्नका लागि यस्तो गरेको पनि भने उनलाई। ‘अवसरमा पाएन अवसर पाउन यस्तो गरेको भने। तर, मलाई समूहमा विश्वास छ। हाम्रो समूह नडगमगाई अघि बढ्यो’ उनले भने। नागरिक समाज पोखरा गठन गरेर पहिलेदेखि नै पौडेलले केही न केही रचनात्मक काम भने गर्दै आइरहेका थिए।

उनले भावी पुस्ताको भविष्यको लागि अभियान चलाएको बताए। ‘सफा पोखरा, सुन्दर पोखरा, वातावरणमैत्री पोखरा, र हरियाली पोखरा बनाउनु नै हाम्रो उद्देश्य हो,’ उनले भने, ‘हाम्रो स्वार्थ नातिनातिनीको भविष्य यही ठाउँमा सुन्दर र उज्जवल होस्। वातवरणमैत्री पोखरामै भविष्य निर्धारण गरून् भन्ने हो।’

सरसफाइ अभियान अहिले टोलटोलबाट सुरु भएको छ। सोही बृहत पोखरा अभियानको प्रेरणाले लेखनाथ, हेम्जा लगायतका ठाउँमा टोलटोलबाटै सक्रियताका साथ आफ्नो आफ्नो ठाउँ सफाइमा जुट्न थालेका छन्।

पहिले विरोध गर्ने मानिसले अहिले बुझेर आफैँ अभियानमा जोडिन आउन थालेको उनी सम्झन्छन्। चुनावको मुखैमा भएकोले पौडेलको उक्त अभियानलाई राजनीतिक दलले पहिले विरोध गरे। अहिले भने समर्थन गरेका छन्। जनप्रतिनिधिहरूको पनि समर्थन छ। नागरिक समाज पोखरा, राष्ट्रिय सम्पदा संरक्षण समिति पोखरा लगायतका संस्थाले मानव अधिकार रक्षक सञ्जालमार्फत गरेको उक्त अभियानले निरन्तर चलिरहने उनको भनाइ छ।

पछिल्लो समाचार  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.