|

मनाङ : मोटर बाटोले जोडेसँगै मनाङमा उत्पादन हुने स्याउलाई बजार व्यवस्थापन सहज भएको छ। यसै कारण थोरैथोरै आफूलाई खानको लागि गरिँदै आएको स्याउ खेतीले अहिले व्यावसायिक खेतीको रूप लिन थालेको छ। यातायातको सहज पहुँच र बजारको माग बुझेका व्यवसायी अहिले यस खेतीतर्फ आकर्षित हुन थालेका छन्।

ङिस्याङ १ भ्रताङमा  एग्रो मनाङ ४५० रोपनी क्षेत्रफलमा  फलाएको छ। मर्स्याङदी वरी र पारी गरी थप २८५ रोपनी क्षेत्रफलमा स्याउ लगाएर ७३५ रोपनी स्याउ खेती विस्तारको तयरी गरेको छ। प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ (स्याउ जोन) मनाङका अनुसार ४०० हेक्टर क्षेत्रफल वर्गसंकर प्रजातिका स्याउ खेती गरिएको छ। 

स्थानीय प्रजातिका स्याउ खेती ६०० हेक्टर क्षेत्रफलमा गरिँदै आएको छ। एक सय हेक्टर जग्गामा स्याउ खेती गरिँदै आएकामा यसको विस्तार दुई हजार ५०० हेक्टर क्षेत्रफलसम्म गर्न सकिने प्रक्षेपण गरिएको छ। चार वर्षअघि वर्णसंकर स्याउ भित्रिएको मनाङमा कृषकले वर्षौंदेखि स्थानीय जातका स्याउ खेती गर्दै आएका छन्।

वर्णसंकर र स्थानीय जातका स्याउलाई अन्य ठाउँमा खेती गर्न सकिने ठाउँको पहिचान गरिएको स्याउ जोनका अधिकृत राजेश्वर सिलवालले बताए। उनका अनुसार यस वर्षदेखि स्याउ कार्यालय खुलेकाले यसको विस्तृत अध्ययन सुरु भएको छ।

मनाङ ङिस्याङ गाउँपालिका १ पिसाङका भुजुङ गुरुङले ९ रोपनी क्षेत्रफलमा लगाएको स्याउलाई बढावा दिने बताउँछन्। उनले यस वर्षदेखि वर्णसंकर जातको स्याउ रोप्ने तयारी गरेको सुनाए। ‘रैथाने र नयाँ वर्णसंकर गरी करिब २५ रोपनी क्षेत्रफलमा यसपटक स्याउ रोप्ने योजना छ,’ उनले भने।

उनले आफ्नो बारीमा पाँचमुखे, चारमुखे, चक्लेट, गोल्डेन डेलिसियस, रोयल डेलिसियस, रेड डेलिसियसजस्ता पुराना जातका स्याउ फलाउँदै आएको बताए। चामे गाउँपालिका २ थानचोकका नरेन्द्र घलेले स्याउका बिरुवा रोप्ने र खेती विस्तार हुँदै गएको बताए। ‘गाउँले नै स्याउ खेती विस्तारमा लागेका छन्। पुरानासँगै नयाँ स्याउ वर्णसंकरमा किसानको आकर्षण बढेको छ,’ उनले भने।

स्याउ जोनले मनाङका चारवटै स्थानीय तहमा स्याउ खेती गर्न मिल्ने हिसाबमा स्याउ क्षेत्र छनोट गरेको छ। यसअघि मनाङ ङिस्याङ, चामे र नासों गाउँपालिकामा स्याउ खेती गरिँदै आएकामा अहिले नार्पाभूमि गाउँपालिका २ मेताबेँसीलाई सम्भावित क्षेत्रका रूपमा हेरिएको छ।

उक्त ठाउँ समुद्रि सतहदेखि तीन हजार ४०० मिटर उचाइमा छ। ‘पहिलोपटक हामीले नार्पाभूमिको मेताबेँसीमा स्याउ रोप्नको लागि ठाउँ छनोट गरेका छौं। चालु आर्थिक वर्षदेखि परीक्षण हुन्छ,’ उनले भने। उनका अनुसार तीनवटा गाउँपालिकाका अन्य ठाउँमा पनि स्याउ खेतीका लागि स्थान छनोट गरिएको छ।

 केही साताअघि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई स्याउ जोन मनाङले आह्वान गरेको अगुवा कृषक, स्थानीय तहका प्रतिनिधिसहितको प्राविधिक टोलीले स्याउलाई २५ सय हेक्टर क्षेत्रफलसम्म बढाउने सकिने निर्णय गरेको छ।

वर्णसंकर प्रजातिको लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना व्यवस्थापन इकाई खुमलटारबाट हाइडेन्सिटीका लागि २५ हजार बिरुवा वितरण गर्न दुई करोड ५० लाख बजेट स्वीकृत भएर आएको जोन अधिकृत सिलवालले बताए। यस्तै स्याउ खेतीको क्षेत्र विस्तारका लागि विरुवा वितरण गर्न १५ लाख रुपैयाँ बजेट प्राप्त भएको उनले बताए।

उनका अनुसार मनाङमा यस वर्ष करिब एक हजार टन स्याउ उत्पादन हुने प्रक्षेपण गरिएको छ। सिँचाइ, मलखाद, उपचारलगायतको व्यवस्थापकीय पक्ष राम्रो हुँदा र ससाना बोट भएर धेरै ठाउँमा फिँजिने भएकाले थोरै जग्गामा पनि वर्णसंकर जातका स्याउको उत्पादन बढी हुने गरेको प्राविधिकहरूले बताएका छन्। मनाङको स्याउ अधिकांश काठमाडौं, पोखरा, चितवन, बेंसीसहरलगायत सहरबजारमा खपत हुनेगरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.