|

रुकुम : जिल्लामा धेरैको संख्यामा सिसि क्यामरा जडान गरिएको भएपनि हालसम्म कसैले अनुमति नलिएको पाइएको छ।  जिल्लामा रहेका बैंक तथा वित्तीय संस्थाहरू सबैले सिसिटिभी जडान गरेका छन् तर प्रशासनबाट एउटाले पनि अनुमति नलिएको पाइएको हो। त्यसबाहेक जिल्लास्थित व्यापारीहरूले पनि आ-आफ्नो पसलमा सिसिटिभी जडान गरेका छन्।

अनुमतिबिनै जिल्लामा ५० बढी सिसिटिभी जडान गरिएको अनुमान छ। कार्यविधिअनुसार सिसिटिभी जडान गर्न अनिवार्य अनुमती लिनुपर्ने तथा खिचिएका श्रव्यदृष्य तथा अन्य विद्युतीय चित्र कम्तीमा पनि तीन महिनासम्म सुरक्षित राख्नुपर्ने व्यवस्था रहेको छ। सिसिटिभी जडान तथा कार्यविधि, २०७२ विपरीत सिसिटिभी जडान एवं सञ्चालन भए गरेको पाइएमा विद्युतीय (इलेक्ट्रोनिक)कारोवार ऐन, २०६३ बमोजिम कारवाही हुने व्यवस्था छ।

अनुमति लिन प्रशासनको अनुरोध

जिल्ला प्रसासन कार्यालय रुकुम पश्चिमले अनुमती लिएर मात्रै सिसिटिभी क्यामेरा जडान गर्न अनुरोध गरेको छ। केही दिनअघि एक सार्वजनिक सूचना जारी गर्दै यसअघि अनुमति नलिएर सिसिटिभी जडान गरेकाहरूलाई पनि कार्यालयमा आएर अनमति लिन अनुरोध गरेको छ। अपराध अनुसन्धान र नियन्त्रण गर्न विद्युतीय उपकरणको प्रभावकारी बढाउने प्रयोजनका लागि सिसिटिभी क्यामेरा प्रयोगलाई प्रोत्साहन गर्न उद्देश्यले जडान तथा सञ्चालनसम्बन्धी कार्यविधि २०७२ अनुसार स्वीकृत लिई मात्रै जडान गर्नुपर्ने भएकोले यस्तो आग्रह गरिएको हो।

सिसिटिभी जडान तथा कार्यविधि २०७२ अनुसार सार्वजनिक निकायहरूले जडानको प्रयोजन खुलाई व्यापारिक केन्द्र, निजी प्रयोगकर्ता र व्यक्तिहरूले पनि जिल्ला प्रसासनबाट अनुमती लिनुपर्ने हुन्छ। प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जिल्लामा हालसम्म पनि कसैले सिसिटिभी जडानका लागि अनुमति नलिएको बताए। ‘हालसम्म कसैले पनि अनुमति लिएका छैनन, पहिलै जडान गरेका र नयाँ जडान गर्नेहरूका लागि पनि हामीले सूचना प्रकाशित गरेका छौँ त्यहिअनुसार अनुमति लिनुपर्छ’ प्रजिअ रेग्मीले भने, ‘अनुमति नलिएर कहि कतै जडान गरिएकोको पत्ता लागेका कानुनअनुसार कारबाही हुन्छ।’

सिसिटिभी जडानका लागि यी हुन आवश्यक कागजात?

सिसिटिभी जडान गर्दा स्थानीय प्रशासनमा विभिन्न कागजातहरू चाहिने गरेका छन्। जसमा सिसिभिटी जडानको प्रयोजन खुलेको निवेदन, व्यक्तिको परिचय खुल्ने नागरिकतालगायतका कागजात, घरको नक्साको प्रतिलिपि र जग्गाधनी प्रमाणपत्रको प्रतिलिपि आवश्यक पर्छ। त्यस्तै स्थानीय तहको सिफारिस र सिसिटिभी निगरानीका लागि खटिने व्यक्तिको विवरण आवश्यक पर्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.