|

भद्रपुर, (झापा) : प्रदेश १ मा बढ्दो सवारी दुर्घटनालाई मध्यनजर गरी झापाको बिर्तामोडमा सडक दुर्घटना महाअभियानको शुभाराम्भ भएको छ। नेपालकै बहुचर्चित नेपथ्य ब्याण्डले आफ्नो सांगीतिक प्रस्तुत गर्दै प्रदेश १ मा सडक दुर्घटना महाअभियानको शुभाराम्भ गरेका हुन्।

पहिलो चरणको कार्यक्रमअन्तर्गत मंगलबार साँझ बिर्तामोडस्थित डोमालाल राजंवशी रंगशालाबाट नेपथ्यले झापालीलाई सांगीतिक माहोलले तताउँदै यस महाअभियानको सुरुवात गरेका थिए। ब्याण्डका चर्चित गायक अमृत गुरुङले रातो र चन्द्र सुर्य, गाउँगाँउबाट उठ बस्ती बस्तीबाट उठ, जीवन यो घाम छायाँ जस्ता देशप्रेमी गीत गाएर दर्शकको मन जित्दै महाअभियानलाई सफल बनाउन आग्रह गरेका थिए। गायक गुरुङले दुई घण्टामा दुर्जन बढी गीत गाएर झापालीलाई नचाएका थिए।

यसअघि आफू पनि यस झापामा शान्तिका लागि शिक्षा कार्यक्रममा आएको स्मरण गराउँदै गायक गुरुङले भने, मान्छेले जीवन एक पटक पाउँछ, यस जीवनलाई ब्यर्थ जानुदिनु हुँदैन, त्यसैले सडकमा हिरो भएर सवारीसाधन चलाउँदा जीवनलाई त्याग्नु हो।’ यस महाअभियानलाई साथ दिन दर्शकलाई आग्रह गर्दै उनले भने, 'सबै टाफिक नियम पालन गरिदिए, देशमा दुर्घटनामा कमी आउँछ, त्यसैले आफैँबाट यसको सुरुवात गरी देश बनाउन सहयोग पुर्‍याउन अनुरोध गरेँ।'

सहारा नेपाल र प्रदेश १ ट्राफिक प्रहरी कार्यालयको संयोजन तथा दर्जनौँ स्थानीय संघ संस्थाको सहयोग यस महाअभियानको उदघाटनका लागि नेपथ्य ब्याण्डलाई झापा ल्याइएको हो। नेपथ्यले सांगीतिक प्रस्तुत गर्नुअघि प्रदेश १ का गृहमन्त्री हिक्मत कार्की र महाअभियान आयोजक समितिका संयोजक महेन्द्रकुमार गिरीले भिडियो सन्देशमार्फत् कार्यक्रमको उद्घाटन गर्दै महाअभियानमा साथ दिन प्रदेशबासीलाई आग्रह गरेका थिए। यता कार्यक्रमबाट संकलित रकम र विभिन्न निकायबाट जुट्ने आर्थिक सहयोगबाट सडक दुर्घटना रोकथामसम्बन्धी सचेतना मुलक कार्यक्रमसहित विभिन्न गतिविधिमा खर्च गरिने जनाइएको छ।

ट्राफिक प्रहरीलाई उपकरण हस्तान्तरण

प्रदेश १ तुलनात्मक रूपले उच्च सडक दुर्घटना उच्च जोखिममा छ। भयानक सवारी दुर्घटना निम्तिनुको मुख्य कारण मानवीय चेनताको कमी, सडक, बढदो सवारी चाप, आवश्यक ट्राफिक सचेतना जगाउने साधन र श्रोतको अभावले बढी दुर्घटना भएको आधारले प्रमाणित गरिरहेको छ।

नेपथ्यको पहिलो चरणको कार्यक्रम सकिएपछि महाअभियान समितिले चैत मसान्तभित्र दोस्रो चरणको कार्यक्रमअन्तर्गत प्रदेश ट्राफिक प्रहरी कार्यालयलाई १० वटा मोटरसाइकल, १० वटा ब्रेथ लाइजर, १० वटा रडार गन, ३ वटा जेब्राक्रस मार्किङ मेसिन र केही थान वक्की टक्की सेट प्रदान गर्ने योजना छ।

त्यस्तै २०७६ साल वैशाखको पहिलो सातादेखि ट्राफिक नियम सचेतना कार्यक्रम बृहत रूपमा गरिनेछ। ट्राफिक नियमअन्तर्गत रहेका, नरहेका होर्डिङ बोर्डलाई व्यवस्थापन गर्दै वातावरणमैत्री पर्चा पम्पप्लेट वितरण, सञ्चारमाध्यमबाट कार्यक्रम प्रकाशन प्रशारण, विद्यार्थी, युवा, राजनीति कार्यकर्ता, सामाजिक अभियान्ताहरुलाई प्रत्यक्ष सहभागी गराई ट्राफिक नियम सचेतना कार्यक्रम अगाडि बढाइनेछ।

त्यसैगरी यसै महाअभियानअन्तर्गत प्रदेश १ मा ट्राफिक लाइट जडान गरिने छ। स्थानीय सरकार, प्रदेश सरकार र प्रदेश ट्राफिक प्रहरी कार्यालयसँग सहकार्य गरी ट्राफिक लाइट जडान गरिने महाअभियान समितिका संयोजक गिरीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.