|

डडेल्धुरा : पछिल्लो समय डडेल्धुरामा सवारी दुर्घटनाका क्रम बढ्न थालेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय डडेल्धुराले चेकजाँचमा कडाइ गरेको छ।

जिल्लाका ग्रामीण क्षेत्रमा सञ्‍चालन हुने पिकअप जिपहरूले क्षमताभन्दा बढी यात्रु बोक्दा दुर्घटना बढ्न थालेपछि प्रहरीले नियमविपरीत जिपमा थप गरिएका सिटसमेत हटाउन थालेको हो। क्षमताभन्दा बढी यात्रु बोक्दा यातायात दुर्घटना बढ्न थालेको भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय डडेल्धुराले चेकजाँचमा कडाइ गरेको छ। यसै क्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय डडेल्धुराले जिल्लामा सञ्‍चालनमा रहेका पाँच सिट पास भएका पिकअप जिपका सिट पनि अहिले धमाधम हटाइरहेको छ।

दुई/तीन दिनको अवधिमा ७७ पिकअप जिपको पछाडिको सिट हटाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय डडेल्धुराका इन्चार्ज गणेशसिंह नागरीले जानकारी दिए। यातायात व्यवस्था कार्यालयले पाँच सिट पास गरेको भए पनि पिकअप जिपहरूले पछाडिको भागमा सिट थप्दै बढी यात्रु बोक्ने गरेको भेटिएको ट्राफिक प्रहरीले जनाएको छ।

जिल्लाका ग्रामीण क्षेत्रमा सञ्‍चालन हुने पिकअप जिपहरूले क्षमताभन्दा बढी यात्रु बोक्दा दुर्घटना बढ्न थालेपछि सिट हटाउन थालेको इन्चार्ज नागरीको भनाइ छ। ‘पछिल्ला दिनमा सवारी दुर्घटना बढ्दै गइरहेको छ।’ उनले भने, ‘पाँच सिट पास जिपहरूले क्षमताभन्दा बढी यात्रु बोक्न थाले। त्यसैले हामीले दुर्घटना न्यूनीकरणका लागि सिट हटाएका हौँ।’

यति मात्र होइन, जिल्ला ट्राफिक प्रहरी कार्यालयले अन्य जिल्लाबाट डडेल्धुरा भएर तराईका जिल्ला जाने पिक जिपको पनि पछाडिको सिट हटाउन थालेको छ। पछाडिको सिट हटाइएसँगै पाँचजना यात्रु हालेर जिप सञ्चालन गर्नुपर्ने बाध्यता रहेको चालकहरूको गुनासो छ। डडेल्धुराका ग्रामीण सडकसहित पोखरा, डोटीको दिपायल, बैतडीको खोड्पे, पाटन पिकअप जिप सञ्‍चालनमा रहेका छन्। पाँच सिट पास भएको भए पनि ग्रामीण क्षेत्रमा सञ्‍चालन हुने जिपहरूले यसअघि जिपहरूले १५ देखि २० जनासम्म यात्रु बोक्ने गरेका थिए।

चालु आर्थिक वर्षको हालसम्म डडेल्धुरामा तीनवटा जिप दुर्घटना हुँदा तीन जनाले ज्यान गुमाएका छन्।डडेल्धुरामा सिट पास भएका १ सय २५ पिकअप जिप सञ्‍चालनमा रहेको डडेल्धुरास्थित उग्रतारा डडेल्धुरा सार्वजनिक यातायात व्यवसायी समितिले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.