उद्घाटन खेलमा बर्दिया र आर्मीको जीत

|

विराटनगर : नेत्रहीनहरूले पनि क्रिकेट खेल्छन् र भन्ने सोच्नु भएको छ भने त्यो गलत हुन्छ। किनकि नेपालमा नेत्रहीनहरूको क्रिकेट टीमले विश्वकप जित्ने लक्ष्य लिएको छ भने अष्ट्रेलिया, इंग्ल्याण्ड, बंगलादेश, दक्षिण अफ्रिका जस्ता क्रिकेटका महारथी राष्ट्रलाई हराई सकेका छन्।

नेपालमा आफ्नै स्रोत साधन र इच्छाशक्तिले खेलिरहेका उनीहरूलाई राज्यको तर्फबाट खासै सहयोग भने छैन। तर, नेत्रहीन क्रिकेट खेलाडी भन्छन् 'हामीले नयाँ जीवन पाएका छौँ, राज्यले थप सहयोग गरे विश्वकपको ट्रफि उचाल्छौँ।'

नेत्रहीन क्रिकेट संघ नेपालको आयोजनामा विराटनगरमा बुधबारदेखि प्रतियोगिता सुरु भएको छ। तीन दिनसम्म चल्ने प्रतियोगितामा म्याग्दी, झापा, बर्दिया र त्रिभुवन आर्मी क्लबबाट ६० जना नेत्रहीन खेलाडीले भाग लिएका छन्। विराटनगरस्थित शहीद रंगशालामा भएको प्रतियोगिता हेरेपछि क्रिकेट प्रशिक्षक प्रदीप पाण्डेले राज्यले केही सहयोग गरे नेत्रहीन क्रिकेट टीम विश्वकप जित्न सक्ने अवस्थामा रहेको देखिएको बताए।

नेपालमा २०६३ सालमा नेत्रहीन क्रिकेट संघको स्थापना भएको हो। क्रिकेट संघका संस्थापक अध्यक्ष पवन घिमिरेको पहलमा गठन भएको संघले नेपालको तर्फबाट विश्वकप खेलिसकेको छ भने महिला क्रिकेट टिमको गठन विश्वमै पहिलो पटक भएको छ। क्रिकेट टिममा आबद्ध भएपछि खेलाडीले नयाँ जीवन पाएको नेत्रहीन क्रिकेट संघका अध्यक्ष पवन घिमिरेको भनाइ छ।

नेत्रहीन क्रिकेट खेलाडी भने आफूहरूलाई राज्यले प्रोत्साहन नगरेको बताउँछन्। सवलाङ खेलाडीहरू विदेश जाँदा वा प्रतियोगिताबाट फर्किदा स्वागत गर्न मन्त्री एयरपोर्ट पुग्ने गरेको तर, आफूहरू गएको/आएकोबारे जानकारीसमेत राख्ने नगरेको नेत्रहीन क्रिकेट खेलाडी दुर्गा भण्डारीको गुनासो छ।

नेपालले सवलाङ क्रिकेट विश्वकपको प्रतियोगिताबाट उपाधि ल्याउँछु भन्नु अहिलेका लागि हास्यास्पद कुरा हो। किनकि विश्वकप छनोटबाटै नेपाल आउट हुने गरेको छ। तर, नेत्रहीन क्रिकेट टोलीले विश्वकप खेलिसकेको छ भने अंक तालिकाको शीर्ष स्थानमा रहेको छ। विश्वकप उपाधि जित्न राज्यको सहयोग र हौसलाको मात्रै खाँचो रहेको बताउँछन् नेत्रहीन क्रिकेट टिमका रेफ्रि नगेन्द्र निरौला।

सरकारले सहयोग नगर्दा पनि आफूहरूले क्रिकेटका महारथीहरूलाई हराएको सम्झँदा गर्व लागेको बताउँछन नेत्रहीन क्रिकेट संघका महासचिव विक्रम राना। सरकारले सवलांगलाई जत्तिकै सहयोग गर्न नसके पनि केही प्रोत्साहनका कार्यक्रम ल्याउनु आवश्यक देखिएको उनको भनाइ छ।

उद्घाटन खेलमा बर्दिया र आर्मीको जीत

नेत्रहीन क्रिकेट संघको अयोजनामा विराटनगरमा सुरु भएको प्रथम म्यकुली कप २०१८ को उद्घाटन खेलमा झापालाई बर्दियाले ५ विकेटले र त्रिभुवन आर्मीले म्याग्दीलाई ४५ रनले पराजित गरेको छ। टस हारेर ब्याटिङ गरेको झापाले बर्दियालाई १९ ओभरमा सबै विकेट गुमाएर १ सय २ रनको चुनौति दिएको थियो। बर्दियाले भने १२ ओभरमै ५ विकेट गुमाउँदै निर्धारित लक्ष्य प्राप्त गरेको थियो।

झापाका अभिषेक विकले २८ रन र दिपेश गुरागाईंले १६ रनको योगदान गरे। यस्तै बलिङतर्फ बर्दियाका लिल चौधरीले ५, रामप्रसाद पौडेल र अर्बिन छेत्रीले १/१ विकेट लिएका थिए। यस्तै बर्दियाका अर्बिन छेत्रीले सर्वाधिक ३८ रन र लिल चौधरीले २० रनको योगदान गरे भने झापाका प्रतीक दर्जी र रमेश शाहले २/२ विकेट लिएका थिए। पहिलो खेलको म्यानअफ द म्याच बर्दियाका लिल चौधरी घोषित भए।

यस्तै त्रिभुभन आर्मी र म्याग्दीबीच भएको दोस्रो खेलमा आर्मी बिजयी भएको छ। सुरुमा भरत थापाले सर्वाधिक ७० र बद्री चौलागाईंले ५४ रनको मद्दतले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८१ रनको लक्ष्य दिन आर्मी सफल भयो। बलिङतर्फ म्याग्दीका सुनिल राना र विशाल विकले २/२ विकेट लिए। निर्धारित लक्ष्य लिएर ब्याटिङ सुरु गरेको म्याग्दीका सुनिल रानाले ५७ र शेरजंग गुरुङले १६ रनको योगदान दिएपनि जितका लागि पर्याप्त भएन। त्रिभुवन आर्मीका भरत थापाले ३, बद्री चौलागाईं र सन्त पहरीले २/२ विकेट लिए। १८.४ ओभरमा समेटिँदै म्याग्दी १ सय ३५ रनमा अलआउट भयो। दोस्रो खेलमा आर्मीका भरत थापा म्यान अफ द म्याच घोषित भएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.