|

बाँके : सातबुँदे घोषणापत्र जारी गरि प्रदेश ५, कर्णाली र सुदूरपश्चिमस्तरीय सहकारी युवा सम्मेलन सकिएको छ।

तीन प्रदेशका २१ जिल्लाका १४३ पुरुष र ११२ महिला गरी २५५ बचत तथा ऋण सहकारीमा आबद्ध युवाको सहभागिता रहेको सम्मेलनले उद्यमशीलता विकास निर्देशिका तयार गर्ने, तीनवटै प्रदेशमा पालिकास्तरीय युवा सम्मेलन गर्ने, तीनवटा प्रदेशका एक–एक वटा पालिकामा नमूना सहकारीको विकास गर्ने र कुल सदस्य संख्याको ४० प्रतिशत युवा सदस्य तथा नेतृत्व तहमा २० प्रतिशत युवा संचालक समितिको ब्यवस्था गर्न नीतिगत ब्यवस्था गर्ने घोषणा पत्र जारी गरेको छ।

त्यसैगरि कुल सदस्य संख्याको २५ प्रतिशत सदस्यलाई वित्तीय साक्षरता र १० प्रतिशतलाई उद्यमशीलता र कुल खर्चको २ प्रतिशत रकम उद्यमशीलतासँग सम्बन्धित कार्यमा खर्च गर्ने घोषणा सम्मेलनले गरेको सम्मेलन आयोजक उपसमितिका संयोजक विजया धितालले जानकारी दिइन्।

यसैबीच, प्रदेश ५ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले सहकारीको विकासका लागि शुक्रबार नेपालगन्जमा प्रदेशस्तरीय सहकारी प्रशिक्षण केन्द्र स्थापना हुने बताएकी छन्। उनले सहकारीलाई विकाससँग जोड्न प्रदेश ५ सरकारले विशेष योजना ल्याएको बताउँदै सहकारीको विकासका लागि नेपालगन्जमा प्रदेशस्तरीय सहकारी प्रशिक्षण केन्द्र स्थापना गर्न लागेको जिकिर गरिन्।

मन्त्री पौडलले सहकारीको विकासका लागि प्रदेश ५ सरकारले सहकारी ऐन ल्याउन लागेको बताइन्। ‘सहकारी ऐन तयार भइसकेको छ। संसदले पारित गर्न मात्र बाँकी छ,’ उनले भनिन्।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्सकुन) ले आयोजना गरेको प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशस्तरिय सहकारी युवा सम्मलेनको उद्घाटन कार्यक्रममा बोल्दै उनले सहकारीलाई उत्पादनसँग जोड्न सुझाव दिइन् । उनले सहकारीको क्षमता, दक्षता बृद्धि गरि मलजल गर्न आफ्नो मन्त्रालय तयार रहेको बताउँदै प्रदेश सरकार सहकारी मैत्री भएको बताइन्।

सहकारी बजारका लागि प्रदेश सरकारले ६ करोड रुपैयाँ विनियोजन गरेको छ। उनले उक्त रकमबाट यसै आर्थिक वर्षमा प्रदेश ५ अन्तर्गत पर्ने १२ जिल्लाका सदरमुकाममा सहकारी बजार स्थापना गरिने बताइन्। उनले प्रदेशमा रहेका सहकारीलाई ब्यवस्थित बनाउन १५ करोडको सहकारी विकास कोष स्थापना गरिएको जानकारी दिइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.