|

खोटाङ : प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिकमत कार्कीले प्रदेश र राजधानीको नाम सर्वसम्मत हुने सम्भावना नरहेको बताएका छन्। जिल्लाको सुरक्षा अवस्था, वस्तुस्थिति र विकास निर्माणको अवस्थाका बारेमा जानकारी लिन खोटाङ आइपुगेका मन्त्री कार्कीले बुधबार दिक्तेलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा विभिन्न चार/पाँच वटा नाम प्रस्तावमा आएकाले सर्बसम्मत हुने सम्भावना कम रहेको बताएका हुन्।

‘प्रदेश नम्बर १ का लागि सगरमाथा, कोशी, किरात, लिम्बू, मेची, बिराट यस्तै नाम आएका छन्। दुई/तीन वटा नाम जोडेर बनाऔँ भन्ने पनि छन्,’ कार्कीले भने, ‘सबैभन्दा बढिको पहिचान बोक्ने, सबैभन्दा बढिले रुचाउने र सबैभन्दा बढीको निकट हुने खालको नामबाट जाने भन्ने सोचमा छौँ। यिनै आएका नामबाट एउटा नाम टुंगो लाग्छ।'

मन्त्री कार्कीले दुई/चार हजार बिघा खेतीयोग्य जमिन, कृषि अनुसन्धानका रिसर्च सेन्टर मासेर वा जंगल मासेर राजधानी नबनाइने स्पष्ट पारे। जिल्ला समन्वय समितिको सभाहलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा मन्त्री कार्कीले ६ महिना लम्बिएको एकता प्रकृया यही मंसिरभित्रै टुंगिने दाबीसमेत गरे।

मन्त्री कार्कीले भने ‘हामीले गत जेठ ३ गते पार्टीको केन्द्रीय संरचनाको एकता गर्दै पार्टी एक भएको घोषणा गर्‍यौँ र, त्यसको तीन महिनाभित्र मातहतका कमिटि र जनवर्गीय संगठनलाई एकता गरिसक्ने भनेका थियौँ। त्यसमा केही बिलम्ब भएको छ।' मन्त्री कार्कीले पार्टी एकता ढिलाई हुनुमा केन्द्रीय पार्टीसमेत जिम्मेवार रहेको बताए।

प्रदेशले कृषिको उत्पादकत्व बढाउने, कृषिलाई व्यवसायीकरण गर्ने, कृषिलाई वैज्ञानिकीकरण गर्ने, यन्त्रीकरण गर्ने, कृषिको आयतलाई प्रतिस्थापन गर्दै कृषिलाई रोजगारमुलक क्षेत्रका रूपमा विकास गर्नेगरी कृषिलाई पहिलो प्राथमिकतामा राखेको बताए। धार्मिक तथा पर्यटकीय महत्वका स्थललाई अध्यनजर गर्दै पर्यटन, जलश्रोतबाट ऊर्जा उत्पादन, सिँचाइ, खानेपानी र मनोरञ्जनका क्षेत्रमा समेत उपयोग गर्ने गरी जलश्रोतको व्यवस्थापनका लागि निती अख्तियार गरिएको मन्त्री कार्कीको भनाई छ।

मन्त्री कार्कीले करिब चार हजार ५ सय कर्मचारी आवश्यक रहे पनि तीन हजार ७ सय कर्मचारीको भरमा काम गर्नु पर्ने बाध्यता रहेको उल्लेख गरे। उनले बुधबार बिहान जिल्ला प्रहरी कार्यालयको निरीक्षण, जिल्ला सुरक्षा समितिको बैठक तथा कार्यालय प्रमुखहरूलाई आवश्यक निर्देशन दिएलगत्तै नेकपाका नेता तथा कार्यकर्तासँग साविकको नेकपा एमालेको पार्टी कार्यालयमा भेटघाट गरी बुधबार नै ओखलढुङगातर्फ लागेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.