|

काठमाडौं : नेपाली चलचित्र 'प्रसाद' मंसिर २१ गतेदेखि नेपालका सिनेमा घरहरूमा प्रसारण हुँदै छ। यही चलचित्रमा रहेको 'लै लै' गीत यति बेला चर्चामा  छ। गणेश शाहीको शब्दमा केतन क्षेत्रीको स्वर रहेको उक्त गीतमा सुवास भुसालले संगीत भरेका छन्। एरेन्ज भने उदयराज पौडेलले गरेका छन्। पछिल्लो क्रममा उत्कृष्ट नेपाली चलचित्र बन्ने क्रम तीव्र भएसँगै यसमा समावेश गीतहरूमा पनि निर्माताहरूले राम्रै लगानी गरेका देखिन्छ।

प्रसाद चलचित्रमा रहेको उक्त गीतका भ्युअर्स नै आजको मितिसम्म आधा करोडमाथि पुगिसकेको छ। यो गीत राम्रो बन्छ भन्ने कुरामा आफू विश्वस्त भए पनि यो उचाइसम्म पुग्ला भनेर आफूले नचिताएको यस गीतका शब्द सर्जक शाही बताउँछन्। उनी यस फिल्मका सहायक निर्देशक पनि हुन्। यसअघि उनले दुई फिल्ममा सहायक निर्देशकको अनुभव लिइसकेका छन्।

लै लै कठै बरी लै...

भन्ने को नै छ र तिमी र मलाई?

जाऊँ डाँडै काटी नौ डाँडापारि

तिमीलाई म छु, म तिम्रो साथी

सार‌ंगी रोयो कहाँ रोयो,

जहाँ रोयो मेरै मन छोयो

जाऊँ माया सररररररर

पीर मान्ने को छ र?

मायाभन्दा ठूलो के छ र?

यो गीत स्क्रिप्टअनुसार तयार पारेका हुन् उनले। फिल्मअनुसार समाजमा रहेको छुवाछुत प्रथामा दुई प्रेम जोडीहरूले शहर भाग्नुपरेको कथाअनुसार आफूले यो गीत तयार पारेको शाही बताउँछन्। यस फिल्मका लेखक सुशील पौडेल, निर्देशक दिनेश राउत र निर्माता सुवास थापा स्क्रिप्ट सुहाउँदो गीतको खोजीमा थिए। स्वयं शाही पनि यस फिल्मको सहायक निर्देशकको भूमिकामा छन्। उनलाई यस फिल्मको कथाअनुसार नै गीत लेख्न सक्छु भन्ने आँट आएको बताउँछन्। यसअघि पनि शाहीले धेरै गीतमा शब्द लेखेका छन्।

यो गीत तयार बनाउन आफूलाई सात दिनभन्दा धेरै लागेको उनी सुनाउँछन्। आफूलाई यो गीत लेख्ने अफर आएको भोलिपल्ट नै तीनवटा ड्राफ्ट तयार पारेर बुझाए पनि निर्देशक दिनेश राउतले मनपराएनन्। उनी भन्छन्, 'राउतजी एकदमै कडा मान्छे। जबसम्म चित्त बुझ्दैन, तबसम्म कोसिस जारी राख्न भन्नुहुन्थ्यो।' उनले यो गीतका पन्ध्रभन्दा धेरै ड्राप्ट तयार पारेका थिए। राउतको कडापनकै कारण आफूले यो गीत लेख्नमा धेरै मिहिनेत गरेको उनले बताए। 

किन हुन्छ यो भेदभाव, एउटै होइन र मानिस सब?
मदनलाई सोध माया के हो? मुनालाई सोध त्याग के हो?
मानिस ठूलो दिलले हुन्छ, पीडामा मन सबैको रुन्छ
फेरि किन हो दोष नि लै लै...!

पहिलो अन्तरा लेखेपछि उनलाई दोस्रो अन्तरा लेख्न एकदमै गाह्रो भएको सुनाउँछन्। उनको मान्यताअनुसार गीतको स्थायी सुन्दर हुनु जरुरी छ नै, त्योभन्दा बढी अन्तरा झन् सुन्दर हुनुपर्छ। नेपाली सांगीतिक क्षेत्रमा छुवाछुत, प्रेमका धेरै गीत लेखिएका छन्। यस गीतका शब्द पनि छुवाछुत र प्रेममा आधारित छन्। उनी भन्छन्, 'मैले यस गीतमा चलनचल्तीमा बोलिने शब्दभन्दा केही फरक शब्द लेखेको हुनाले पनि आमश्रोता, दर्शकलाई अझ बढी आकर्षित गरेको हो कि भन्ने लाग्छ।' कुनै 'सिच्युएसन' दिएर त्यसमाथि शब्द लेख्न आफूलाई केही सजिलो हुने उनको अनुभव छ।

जति आउला आँधी र बेरी
छेकौँला सबै हामी दुई मिली
मनमा छ माया, पीरको छ भारी
दु:ख बिसाउने तिमी भौँतारी
आकाशमुनि ओत लागौँला
एकै गाँसले भोक टारौँला
आफ्नै संसार बेस नि लै लै...!

उनले प्राय: रचनाहरू स्कुटरमा हिँड्दा सोच्ने गरेको बताउँछन्। उनी भन्छन्, 'हरेक मान्छेका सोच्ने र लेख्ने ठाउँ हुन्छन्, म भने स्कुटरमा हिँड्दा बढी सोच्ने गर्छु। मेरालागि स्कुटर सबैभन्दा नजिकको साथी हो।' यो गीतको स्थायी उनले स्कुटरमा हिँडिरहँदा लेखेका हुन्।

यो गीत बजारमा आइसकेपछि उनलाई देश विदेशबाट शब्दका लागि अफर आएको छ। यसअघि उनले लेखेका गीतले बजार पाउन सकेका थिएनन् र पनि उनले हिम्मत हारेनन्। सुतेको मान्छे हिँड्न खोज्छ भने कालान्तरमा ऊ दौडिन पनि तयार हुन्छ, यद्यपि, समय लाग्‍न सक्छ। १२ वर्षदेखि नेपाली चलचित्र र सांगीतिक क्षेत्रमा बिताएका उनी अहिले फिल्मको स्क्रिप्ट लेखनमा व्यस्त छन्। उनी भन्छन्, 'मान्छेले मिहिनेत र धैर्य गर्न सके उसले सफलता पाउने संभावना बढी हुन्छ।'

यो गीत यति धेरै चर्चित हुनुमा प्रसाद फिल्मका सबै सदस्यहरूको ठूलो भूमिका रहेको पनि उनले बताए। गीतको शब्दको मर्मअनुसार एरेन्ज, संगीत र स्वर भरेका क्रमश: पौडेल, भुसाल र क्षेत्री पनि प्रशंसाको पात्र रहेको उनी सुनाउँछन्।

हेर्नुहोस् भिडियो:

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.