'कलाकारप्रतिको सम्मान घटेको पाएँ'

|

काठमाडौं : १७ वर्षको अमेरिका बसाइपश्चात् नेपाल फर्किएका नायक सरोज खनाललाई लागेको थियो, 'मलाई फिल्म क्षेत्रले बर्सियो होला। नयाँ पुस्ताले मलाई चिन्दैनन् होला। दर्शकले पनि मेरो अनुहार भुलिसके होलान्।'

नेपाल आएपछिको उनको सोचाइ ठीक उल्टो सावित भयो। नेपाल आएको दोस्रो दिनदेखि नै उनलाई फिल्मका अफर आउन थाले। उनी सम्झिन्छन्, 'जे सोचेको थिएँ, त्यसको ठीक उल्टो पाएँ। मलाई त नेपाल आएको दोस्रो दिनदेखि नै फिल्मको अफर आउन थाल्यो।'

नेपाल फर्किएपछि उनले आफ्ना दर्शकले आफूलाई धेरै याद गरेको पनि पत्तो पाए। सरोज एक दिन बानेश्वरमा हिँड्दै गर्दा एक ६० वर्षका वृद्ध हस्याङफस्याङ गर्दै बाटो काटेर सरोज भएको ठाउँमा पुगे। सरोजलाई अंकमाल गर्दै ती वृद्धले भावुक हुँदै भनेछन्, 'तपाईं नेपाल फर्किनुभयो। अब नेपाली फिल्ममा फेरि तपाईंको अनुहार देख्न पाइने भयो।' सरोजको मन खुसीले भरिएको थियो, सँगै आँखाबाट आँसु पनि बहिरहेको थियो।

सरोजलाई उक्त कुराले पनि फिल्ममा काम गर्न प्रोत्साहित गर्‍यो। सरोज भन्छन्, 'फिल्ममा मलाई खोज्ने पुस्ता अझै बाँकी छ। मैले कमाएको दर्शकका लागि भए पनि नयाँ फिल्ममा काम गर्नुपर्छ भन्ने लाग्यो र फिल्ममा काम गर्न थालेँ।'

'नाइँ नभन्नू ल २' र 'प्रेम गीत'ले नयाँ दर्शकमा पनि चिनायो

नेपाल फर्किएपश्चात् सरोजले पहिलो फिल्मका रूपमा 'नाइँ नभन्नू ल २' मा काम गरे। यस फिल्मले आफूलाई नयाँ पुस्ताका दर्शकहरू माझ चिनाउन सफल भएको सरोज बताउँछन्। उनी भन्छन्, 'मेरा पहिलाका फिल्महरू हेर्न नपाएका बच्चाहरू माझ सरोज खनाल भनेर नाइँ नभन्नू ल २ ले चिनाइदियो।'

नाइँ नभन्नू ल २ पश्चात् सरोजले प्रेम गीतमा काम गरे। यस फिल्मले पनि टिन एजका दर्शकहरू माझ आफूलाई परिचित गराएको सरोजको भनाइ छ। 'नाइँ नभन्नू ल २ ले बच्चाहरू र परिवारिक दर्शकमाझ चिनाएको थियो भने प्रेम गीतले टिन एज दर्शकमाझ परिचित गरायो।'

यी दुई फिल्ममा काम गरेपछि दर्शकले पनि आफूलाई खोजिरहेको महसुस सरोजले गरे। दुवै फिल्मबाट नै नयाँ पुस्ताका दर्शकमा सरोजको हाइप उच्च रह्यो।

'गर्न नहुने फिल्महरू पनि गरेँ'

सरोज नेपाल फर्किएपछि केही गर्न नहुने फिल्महरूमा पनि काम गर्नुपरेको बाध्यता सुनाउँछन्। उनी भन्छन्, 'नेपाल फर्किएपश्चात् मैले केही गर्न नहुने फिल्महरूमा पनि काम गरेको छु। कतिपय सम्बन्धका कारण पनि मैले नाइँ भन्न सकिनँ।'

सरोजले करिअरको सुरुवाती दिनमा आफूसँगै संघर्ष गर्ने साथीहरू र सुरुवाती दिनको पीडा बुझेको साथीले प्रस्ताव गर्दा नाइँ भन्न नसकेका हुन्। 'सुरुवाती दिनमा सँगै संघर्ष गरेका साथीहरू कोही निर्माता हुनुभएको छ, कोही प्रोडक्सन मेनेजर, केही निर्देशक', सरोज थप्छन्, 'उहाँहरूले प्रस्ताव गर्दा मैले कसरी नाइँ भनूँ।'

बढ्दो व्यस्तता

सरोज अमेरिकाबाट फर्किंदा फिल्ममा काम नपाउने डर उनमा थियो। नेपालमा व्यापार व्यावसयमा रहने सोच लिएर उनी स्वदेश फर्किएका थिए। तर अहिले फिल्म क्षेत्रमा उनको व्यस्तता एकदमै बढ्दो छ। सरोजलाई धेरै फिल्मका प्रस्तावहरू आइरहेका छन्। 'पहिलाको जस्तो मुख्य भूमिकाका लागि त अफर आउँदैन तर नेपाल फर्किएपश्चात् म खाली हात बस्नुपरेको छैन', सरोज आफ्नो व्यस्तताबारे सुनाउँछन्।

यस वर्षका लागि सरोजलाई १७ फिल्मबाट अफर छन्। तर सरोज यस वर्ष दुई फिल्ममा मात्र काम गर्ने सोचमा रहेको बताउँछन्। 'यस सिजनका लागि मेरो घरमा १७ वटा स्क्रिप्ट आएका छन् तर तिनीहरूमा दुईवटा मात्र गर्छु भनेको छु।'

पहिला पहिला मुख्य भूमिकामा अभिनय गर्दा धेरै समय दिनुपर्थ्यो। अहिले सरोजले थोरै मात्र समय दिए पुग्छ। उनले अफर आएका सबै फिल्ममा काम गर्न भ्याउँछन् तर राम्रो फिल्ममा मात्र काम गर्ने सोचले उनले छानेर मात्र फिल्ममा काम गरिरहेका छन्। 'गर्ने हो भने अफर आएका सबै फिल्मलाई समय पुग्छ तर राम्रो फिल्ममा मात्र काम गर्ने सोचले सीमित फिल्ममा मात्र काम गरिरहेको छु।'

१७ वर्षअघि र अहिलेको फिल्म क्षेत्र

१७ वर्षपछि नेपाल आएर पुन: नेपाली फिल्म क्षेत्रमा काम गर्दा सरोजले धेरै भिन्नता पाए। 'नेपाली फिल्म क्षेत्रले प्रविधिक रूपमा धेरै फड्को मारिसकेको रहेछ', सरोज बताउँछन्, 'तर विकाससँगै विनास पनि हुन्छ। नेपाली फिल्म क्षेत्रमा केही विनास पनि भित्रिएका छन्।'

उनका अनुसार नेपाली फिल्ममा आएको प्रविधिक विकासले कलाकारहरूमा भने मिहिनेत गर्ने वातावरण कम भएको छ। 'हाम्रो पालामा रिलमा फिल्म खिचिन्थ्यो। फिल्म कस्तो बन्दै छ क्यामेराम्यानलाई मात्र थाहा हुन्थ्यो। रिल खर्च हुने डरले एकै पटकमा सट ओके गर्न हामी एकदमै मिहिनेत गर्थ्यौं', उनी भन्छन्, 'तर अहिले डिजिटल भएकाले कलाकारहरूले सट सक्न नपाउँदै आफ्नो अभिनय हेर्न पाउँछन्। नराम्रो भए फेरि रिटेक गरे भइगो नि भन्ने सोच छ। उनीहरूमा मिहिनेत एकदमै कम देखिन्छ।'

अहिलेका कलाकारहरुमा साथित्वको भावना पनि एकदमै कम भएको सरोज बताउँछन्। 'डाइरेक्टरले कट भन्न पाएको हुन्न कलाकारहरु मोवाइलमा झुन्डिन थाल्छन्। आफ्नो को-एक्टर के गर्दैछ। सेटमा के हुदैंछ कसैलाई मतलव हुन्न', गुनासो गर्दै सरोज भन्छन्, 'हाम्रो पालामा त सट सकिएपछि पनि क्यारेक्टरमा रहेर हामी छलफल गरिहरेका हुन्थ्यौं। सुटिङ सकिएको दिन छुटिने कुराले हाम्रो रुवाबासी नै हुन्थ्यो।'

अहिले कलाकार एकदमै सस्तो भएको सरोजको बुझाइ छ। कलाकारको हरेक क्रियाकलाप सामाजिक सञ्जालमा छाताछुल्ल हुनाले पनि कलाकार सस्तो भएको सरोजको गुनासो छ। 'कलाकारले आफ्नो केही कुरा गोप्य पनि राख्न जरुरी छ', सरोज भन्छन्, 'कलाकारको सस्पेन्स थाहा पाउन दर्शक आतुर होस्। जसले गर्दा दशर्कले हामीलाई गर्ने रेस्पेक्ट बढ्छ।'

दशर्कले कलाकारलाई पहिलाको जस्तो सम्मान नदिने उनको भनाइ छ। उनका अनुसार हरेक दिन युट्युबमा आउने अन्तर्वार्ताले पनि कलाकारको क्रेज घटाइदिन्छ। 'पहिला सुटिङ हुँदा गाउँभरीका मान्छेहरू खाजा बोकेर सुटिङ हेर्न आउनुहुन्थ्यो। हामीलाई छुन उहाँहरू उत्साहित हुनुहुन्थ्यो', सरोज भन्छन्, 'अहिले त सीमित कलाकारबाहेक अरू कलाकार बाटोमा हिँडिरहनुभएको छ भने पनि कसैले वास्ता गर्नेछैन।'

फिल्म क्षेत्रमा योगदान दिन 'माला आर्टस् एकेडेमी'

सरोज खनालले अहिले फिल्म एकेडेमी सुरुवात गरेका छन्। उनले पुरानो कलाकार चन्द्रमाला शर्मासँग मिलेर 'माला आर्टस एकेडेमी'को सुरुवात गरेका हुन्। आफूलाई फिल्म क्षेत्रले यस स्थान दिएको भन्दै फिल्म क्षेत्रमा पनि कुनै न कुनै तवरबाट सहयोग पुर्‍याउने हेतुले यस एकेडेमी सुरुवात गरेको सरोजले बताए। 'मलाई सरोज खनाल भनेर चिनाउने नै फिल्म क्षेत्र हो। त्यसैले हामीले यस क्षेत्रमा केही योगदान दिनुपर्छ भनेर एकेडेकी सुरुवात गरेको हुँ।'

अहिले फिल्म निर्माणको क्रम एकदमै बढिरहेको छ। कलाकारहरूले पनि काम पाइरहेका छन्। राम्रो काम गर्ने कोही पनि कलाकार खाली हात बस्न परेको छैन। तर, नेपालमा जति फिल्म निर्माण हुन्छ त्योअनुसार कलाकार कम भएको सरोजको बुझाइ छ। 'फिल्ममा काम गर्नको लागि कलाकारलाई एक वर्षसम्म कुर्नुपर्ने बाध्यतामा निर्माता निर्देशक छन्। त्यो अभावलाई परिपूर्ति गर्न पनि हामीले आर्टस एकेडेमीको सुरुवात गरेको हौँ', सरोजले भने।

अभिनय सिकेर गर्न सक्ने कुरा नभएको सरोजको भनाइ छ। 'अभिनय सिकाएर सिकिने कुरा हैन। तर, फिल्मका लागि टेक्निकल कुराहरू सिकाउनका लागि हामी अग्रसर छौँ', उनी थप्छन्, 'हामीले कलाकारलाई डाइलग बोल्न, क्यामेरा फेस गर्न, स्टेजमा गएर बोल्न सिकाउनेछौँ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.