|

धनगढी : सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन सुरु नहुँदा प्रदेशसभा सदस्यहरू कामविहीन भएका छन्। दसैँ, तिहार र छठ मनाएर घरबाट फर्किएका सांसदहरू अहिले फुर्सदिला भएका हुन्। प्रदेशसभा सदस्य मात्रै होइनन् प्रदेशसभा सचिवालयका कर्मचारी पनि काम नभएपछि घाम तापेर बसेका छन्। ‘अहिलेसम्म कुनै विधेयक दर्ता हुन आएको छैन, विधेयक नभएपछि हामी पनि फुर्सदिला भएका छौँ’ प्रदेशसभा सचिवालयका सचिव बालाराम शर्माले बताए।

१० महिनाको अवधिमा प्रदेशसभाले सुदूरपश्चिममा तीन दर्जन विधेयक पास गरिसकेको छ। प्रदेशको स्थायी राजधानी र नामांकनसमेत पारित गरेको दोस्रो अधिवेशनले केही नियमावलीसमेत पारित गरेको थियो। महत्वपूर्ण विधेयकहरू पारित गर्नुपर्ने बेला संसदलाई बिजनेस दिन सरकारले ढिलाइ गरिरहेको सत्तारूढ दलका प्रदेशसभा सदस्यहरू नै बताउँछन्।

हिउँदे अधिवेशनको मिति तय नहुँदा धनगढीमा रहेका प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरू अहिले भेटघाटमै सीमित रहेको बताउँछन्। ‘एक महिना निर्वाचन क्षेत्रमा बसेर अस्ति धनगढी आयौँ’ सत्तारूढ दल नेपाल कम्युनिस्‍ट पार्टी (नेकपा)का सांसद अमर साउदले भने, ‘अब संसद कहिले चल्छ भन्ने विषयमा हामीलाई पनि केही जानकारी छैन।’

गत वर्ष २१ माघ बाट सुरु भएको पहिलो अधिवेशन वैशाख २० गते अन्त्य भएको थियो। जेठ २ गतेबाट सुरु भएको दोस्रो अधिवेशन असोज २३ मा सम्पन्न भयो। प्रदेशसभा सञ्चालनको १० महिना पुग्नै लाग्दा पनि उल्लेख्‍य काम गर्न नसकेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रदेशसभा सदस्य भरतबहादुर खड्काले बताए। खड्काले आफूहरू कामविहीन हुनुमा सरकार दोषी रहेको बताएका छन्।

‘सरकारले बिजनेस दिन नसक्दा बैठक अन्योलमा परेको हो। कानुन निर्माणको गम्भिर मोडमा बैठक बस्न नसक्नु दुर्भाग्य हो’ उनले भने, ‘निर्वाचन क्षेत्रबाट फर्किएको दुई तीन दिन भयो बैठकको मिति तय भएन भने फेरि दुई/तीन दिनमा निर्वाचन क्षेत्रमा फर्किन्छु होला।’

दसैँ, तिहार र छठपछि हिउँदे अधिवेशन सुरु हुने बताइए पनि अझैसम्म अधिवेशनका विषयमा प्रदेशसभाका सभामुख र प्रदेश सरकारका मुख्यमन्त्रीबीच समन्वय भएको छैन। प्रदेशसभा सचिवालयमा एउटा पनि विधेयक दर्ता नभएकाले अधिवेशन आह्वान नगरेको सभामुख अर्जुन बहादुर थापाले बताए। ‘सरकारले बिजनेस दिन सकेको छैन, विधेयक नआएपछि मैले अधिवेशन बोलाउने कुरा भएन सरकारले जति चाँडो बिजनेस दिन्छ त्यति चाँडो अधिवेशन आह्वान हुन्छ’ सभामुख थापाले भने।

सुदूरपश्चिम प्रदेश सरकारले भने मंसिरको अन्तिमबाट सदन सुचारु हुने जनाएको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट सम्बन्धित मन्त्रालयहरूले १८ वटा विधेयकमा सैद्धान्तिक सहमति लिएको र उनीहरूले विधेयक तयार गरे बैठक सुरु हुने आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश शाहले बताए।  ‘१८ वटा विधेयकका लागि हाम्रो मन्त्रालयबाट स्वीकृति गइसकेको छ। अब केही दिनमा ती मन्त्रालयहरूले विधेयक ल्याउनुहुन्छ र बैठक सुरु हुन्छ’ अन्तरिक मामिला तथा योजनामन्त्री शाहले भने। उनले मंसिर २५/२६ गते सम्ममा अधिवेशन हुन सक्ने बताए। ‘तिथि मिति तोकेर त भन्न सकिन्न तर यही २५/२६ गतेतिर बैठक बस्न सक्छ। हामी त्यहीअनुसार तयारी गरिरहेका छौँ’ मन्त्री शाहले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.