नेकपाका सांसद एकता प्रक्रियामा व्यस्त, प्रतिपक्षको अनौपचारिक दैनिकी

|
फाइल तस्बिर

दमक(झापा) : प्रदेश १ को वर्षे अधिवेशन सकिएपछिको करिब डेढ महिनायता प्रदेशसभा सदस्यहरू फुर्सदिला छन्। गत असोज २३ गते मंगलबार राति १२ बजेबाट सकिएपछि सांसदहरू अनौपचारिक दैनिकीमा रहेका छन्।

यस अवधिलाई नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का सांसदहरूले भने पार्टी एकता प्रक्रियामा खर्चिएका छन् भने अन्य दलका सांसदहरू भेटघाट, पारिवारिक काम र केही पार्टी गतिविधिमा रहेका छन्। मुलतः संसद बैठक नचलेको र अर्को अधिवेशनको पनि टु‌ंगो नभएका कारण प्रदेश सभाका सदस्यहरू अहिले फुर्सदिला बनेका छन्। नाम र स्थायी राजधानीको टुंगो नलगाई प्रदेश १ सभाको वर्षे अधिवेशन गत असोज २३ गते मंगलबार राति १२ बजेबाट सकिएपछि सांसदहरू अनौपचारिक कार्यक्षेत्रमा छन्।

एकता प्रक्रियामा सत्तारूढ

प्रदेश १ को सत्तारूढ दल भनेको नेपाल कम्युनिस्ट पार्टी(नेकपा) हो। तत्कालीन नेकपा एमाले र नेकपा माओवादी(केन्द्र)को एकतापछि नेकपा बने पनि एकता प्रकृया जिल्ला तहमा पुगेको छैन। जसका कारण एकता प्रकृयाका छलफल र भेटघाटहरू नेकपाका सांसदहरूको दिन काट्ने मेलो बनेको छ।

तत्कालीन नेकपा एमालेबाट निर्वाचित भएका झापा क्षेत्र नं. ५ (२) का प्रदेशसभा सदस्य अर्जुन राई प्रदेससभा नचलेको समय केही निजी काम, पारिवारीक भेटघाट र पार्टी एकताका विषयहरूमा बिताएको बताउँछन्। केही समय चाडपर्वको शुभकामना आदन प्रदान कार्यक्रम, पारिवारी भेटघाटमा बिते पनि बाँकी समय जनतासँगै बिताएको उनले बताए। 'केही बैठक तथा उपचारका लागि काठमाडौं पुगेका छन्' उनले भने–‘विभिन्न ठाउँबाट पार्टी कार्यक्रममा निम्ता हुन्छ, पुगिन्छ यसै गरी सो समय बितिरहेको छ।’

राई तत्कालीन नेकपा एमालेका अनुशासन आयोगका सदस्य पनि हुन्। तर उनी पार्टी एकताको औपचारिक जिम्मेवारीमा भने छैनन्। तर पनि पार्टी एकता लगायतका विषयमा छलफलका लागि विभिन्न स्थानका कार्यक्रममा जुटेको उनले बताए। उनले भने–‘खास जिम्मेवारी नभए पनि एकताका विषयमा हुने छलफलमा विभिन्न ठाउँबाट साथीहरूले बोलाउनु हुन्छ, त्यता पनि समय दिइरहेको छु।’

यस्तै झापा क्षेत्र नं. ४ (१) बाट तत्कालीन नेकपा माओवादी केन्द्रबाट निर्वाचित नेकपा सांसद झलकसिंह दर्लामीको दैनिकी पनि भेटघाट, मन्तव्य र आसनग्रहणमा बितिरहेको रहेको छ। उनले यस अवधिमा मुख्य गरी स्थानीयस्तरका विकासका योजनाहरूको अनुगमन, निरीक्षणलगायतका काममा बिताएको बताए।

उनले भने–‘प्रदेश सभा मार्फत बजेट बिनियोजन भएका विकासका योजनाहरूको अवस्थाका बारेमा जानकारी लिने काम भयो, यस्तै संघीय संसदमार्फत् रकम बिनियोजन भएर गरिने कामहरूको टुंगो पनि लाग्यो। त्यसैले केहि महत्वपूर्णकाहरू सहित यो समय बितिरहेको छ’, सांसद दर्लामीले भने–‘जिल्लाको एकीकरण प्रकृयाका बारेमा कार्यदलमा रहेकाले विभिन्न तहहरूमा जिम्मेवारी अनुसारको छलफल भइरहेको छ, विकासका सवालसँगै पार्टी एकताका विषयमा पनि समय खर्च भएको छ।’

अनौपचारिक क्षेत्रमा अरू

सत्तारूढ दलका सांसदहरूले औपचारीक छलफलका लागि पार्टी एकताको विषय भेटे पनि प्रमुख प्रतिपक्षी तथा प्रतिपक्षी दलका सांसदहरू भने अनौपचारिक विषयहरूमा छन्। केही पार्टीका काम, केही विकास गतिविधि र केही निजी कामहरूमा उनीहरूको यो समय बितेको छ। नेपाली कांग्रेसका प्रदेशसभा सचेतक सूयर्माराज राईले भने यो खाली अवधीलाई औषधोपचारमा उपयोग गरे। ‘तिहारसम्म त पार्टी र विकासका काममा नै केन्द्रित भइयो’ राईले भने–‘तिहार मानेर चाहिँ मेरो पित्तथैलीमा पत्थरी भएको धेरै समय भएको थियो उपयुक्त समय आएको थिएन, यही खाली रहेको समयमा शल्यक्रिया भयो। अहिले आराम गरिरहेको छु।’

यस्तै प्रदेशसभाका ज्येष्ठ सदस्यसमेत रहेका नेपाली कांग्रेसका समानुपातिक प्रदेश सांसद ओमप्रकाश सरावगी अधिवेशन सकिएपछि पारिवारीक काम, पार्टी गतिविधिलगायतमा व्यस्त रहेको बताउँछन्। ज्येष्ठताका आधारमा प्रदेशसभाका सदस्यहरूलाई सपथ ग्रहणसमेत गराएका उनले भने– ‘बैठक नबसे पनि फुर्सद त कहाँ छ र, विभिन्न ठाउँमा पार्टीका काम भइरहन्छन्, त्यसैमा समय बितिरहेको छ।’

यस खाली समयको केही अवधी चाडपर्वमा बिते पनि बाँकी समय पार्टी तथ विकासका गतिविधिमा नै खर्चिएको उनले बताए। यस्तै राप्रपाकी एक्ली सांसद इन्दिरा राईले राजधानी र प्रदेशको नामकरण टुंगो नलाग्दा मन खिन्न बनाएर घर फर्किए पनि विभिन्न सामाजिक कामहरूमा समय बिताइरहेको बताइन्। धेरै जसो सामाजिक काम र केही पारिवारिक कामहरूसमेत सम्पन्न गर्न यो समय बिताएको उनको भनाइ छ। 

वाक शून्यता हटेन

राजधानी र प्रदेशको नामसमेत टुङ्गो नलगाई वर्षे अधिवेशन सकिए पनि यो काम हिउँदे अधिवेशनको प्राथमिकता बन्नु पर्ने हो। तर यस खाली अवधीमा पनि दलहरू बीचमा यस बारे अनौपचारिक वा औपचारिक छलफल हुन सकेको छैन। प्रदेशका सभामुख प्रदीपकुमार भण्डारीले संसदको हिउँदे अधिवेशन आह्वान गर्ने बारे अहिले नै केही टुङ्गो नलागेको बताएका छन्।

दलहरू बीचमा यस अवधीमा खासै छलफल र अन्तरक्रिया नभएको बताएका उनले भने, ‘अब कहिले हिउँदे अधिवेशन आह्वान गर्ने भन्ने विषयमा टुङ्गो लाग्ने छ, यसको तयारी अब थालिने छ।’ गत वर्षे अधिवेशनले यी विषय टुङ्ग्याउने भनिए पनि अन्तिम समयमा राजधानीका विषयमा मात्र बहस केन्द्रित भयो। तर बहस राजधानी तोक्ने बारेमा भए पनि कुनै निष्कर्षबिनै अधिवेशन अन्त्य भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.