|

काठमाडौं : 'जन्म जहाँ होस् आखिर यो मन त मेरो नेपाली हो। नेपाली भाषा, यहाँको कला, सभ्यता, संस्कृतिको पुजारी हुँ म', राजधानीमा भेट भएका  गायक पुष्पन प्रधानले सुरुवातमा बोलिहाले।

नेपाल आइडलमा 'पन्छी' बोलको गीत गाएर प्रतिस्पर्धीमध्येका एक अमित बरालले जजको मन जिते। रातारात उनी यस गीतबाट भाइरल बने। उनी मात्र होइन, यो गीतका गायक प्रधान पनि उत्तिकै भाइरल बने। यतिखेर उनी काठमाडौं आएका छन्- नेपाल आइडलको अतिथि कलाकारको रूपमा। यति ठूलो स्टेजमा आफू उभिन पाउँदा आफूलाई निकै भाग्यमानी महसुस गरेको पनि उनले बताए। भारतको डुवर्समा बस्ने उनी नेपाली फिल्म 'समर लभ'को सम्पूर्ण संगीत नै उनले गर्ने गरी नेपाल आएको बताउँछन्। यसअघि उनले 'जिन्दगी रक्स', 'तुइन' फिल्ममा समेत स्वर भरेका छन्।

उनी भारतीय सरकारी शिक्षक पनि हुन्। कलाकारलाई कुनै भूगोल, भाषा र क्षेत्रले नछेक्ने उनको ठम्याइ छ। नेपाली भाषाको गीत आउँदा आफूमा अपनत्व महसुस हुने उनी सुनाउँछन्। उनी भारतको डुवर्सका स्थायी बासिन्दा हुन्। उनी उतै जन्मे। उतै हुर्किए तर नेपाली भाषाप्रति एकदम धेरै आकर्षित छन्। उनी भन्छन्, 'मेरा पुर्खाहरू नेपाली हुनुहुन्छ। जहाँ जन्मिए पनि रगत त नेपाली नै हो नि।'

नेपाली गीत गाउन पहिला मन नेपाली हुन जरुरी छ। उनी भन्छन्, 'पानी बगेर सागरसम्म पुगे पनि आखिर यसको मुहान कि हिमाल हो, कि रूख नै हो। मेरो संगीतको मुहान नेपाल नै हो।' बच्चैदेखि नेपाल टेलिभिजन र रेडियो नेपाल सुन्थे/हेर्थे उनी। मनको कुनै तहमा नेपाल र नेपालीप्रति श्रदा र आफ्नोपन पाउँथे उनी। उनलाई नेपाली कला, संस्कृतl, परंपराले सधैँ आफ्नोपन महसुस गराउने बताउँछन् पुष्पन।

अलिक लजालु स्वभावका उनलाई स्टेजमा गएर गाउन एकदमै डर लाग्थ्यो। उनी कक्षाको अन्तिम सिटमा बस्थे। क्यान्टिनमा खाजा खाने बेला टेबल ठटाउँदै गीत गाउँथे। उनको स्वर सुनेर उनका समकालीन साथीहरू 'फिदा' हुन्थे। यसका बाबजुद पनि उनी आफू गायक बन्छु भन्ने नलागेको बताउँछन्। ‌प्लस टु पढ्न उनी कालिम्पोङ साइन्स पढ्न आए। त्यसबेला कलेजमा गीत गाउने विराट अडिसन भएको थियो। सबै विद्यार्थीहरू गए, अडिसन दिनका निम्ति तर कोही सेलेक्ट भएनन्। गणित पढाउने शिक्षक आनन्द अधिकारीले उनीलगायतका साथीहरूलाई भनेछन्, 'पढ्ने मात्र हो कि अरू ट्यालेन्ट पनि देखाउने हो? आफ्नो ट्यालेन्ट देखाऊ, आफू बाँचेको प्रमाण पेस गर।'

सरको उक्त भनाइपछि याकुव भन्ने साथीले सरलाई भनिदिए- 'पुष्पनले गाउँछ।' शिक्षकले प्रधानलाई गाउन लगाए। उनले गाइदिए। 'लाज मानीमानी किशोर कुमारको गीत गाएको थिएँ, उहाँले हात समातेर सिधै अडिसन नगरी मंचमा गीत गाउन लगाउनुभयो', उनी सम्झिन्छन्, 'मैले गीत गाइरहँदा एकछिन वातावरण शान्त भएको थियो। सयौँ विद्यार्थीको ताली एकैचोटि खाएको थिएँ।' यो कुरा सन् १९९९ को हो।

म के हुँ र मलाई केमा रुचि थियो भन्ने कुरा उनलाई त्यही दिन थाहा भयो। सयौँ विद्यार्थीले मेरो गीत शान्त सुन्दाको दृश्य देख्दा आफूले गीत गाउनुपर्छ भनेर पहिलोचोटि महसुस भएको बताउँछन् उनी। जिन्दगीको त्यही अविस्मरणीय क्षणका कारण आजका मितिसम्म उनले साठी बढी गीत गाइसकेका छन् भने तीनवटा एल्बम बजारमा ल्याइसकेका छन्।

दर्शकहरूको तालीको आवाज उनको कानमा हरक्षण, हरबखत गुंजिरह्यो। उनमा पढाइप्रति मोह घट्दै गयो। संगीतमा आकर्षण बढ्दै गयो। पढेर घरले चिन्छ, समाजले चिन्छ तर गायक बनेको खण्डमा देश दुनियाँले चिन्दोरहेछ भन्ने लोभले उनी संगीतमा दिलोज्यान दिन थाले। पछि संगीतप्रति लत बस्दै गयो। स्टेज कायर्क्रम बढ्दै गएपछि उनलाई एल्बम निकाल्नुपर्छ लहड लाग्यो। संगीतप्रति भर्खर पाइला चाल्‍दै गर्दा उनले पहिलो भनेर एकल एल्बम 'मन' सन् २००३ तिर ल्याए। उनी एल्बम निकाल्दा आफ्नो साथीले आफूलाई दिएको साथ सम्झिँदा भावुक बन्छन्, 'मेरो एल्बम निकाल्न उसले घरबाट साठी हजार चोरेको थियो।' पहिलो एल्बमले पचास हजार रुपैयाँ कमाएको थियो। आफ्नो गाउँमा यो एल्बम निकाल्दा दशैँ आएजस्तो गरेर गाउँलेहरूले खुसियाली मनाएका उनी सम्झन्छन्। पहिलो एल्बममा केही पैसा डुब्यो तथापि उनले आफ्ना गल्ती थाहा पाए। उनी भन्छन्, 'पहिलो एल्बमले मेरा गल्ती केके रहेछन् भन्ने गतिलो पाठ सिकाइदियो।' त्यसपछि उनलाई संगीतमा आफूले धेरै मिहिनेत गर्नुपर्ने चेत आयो।

उनका आफ्ना नजिकका दाइ गायक सुरज श्रेष्ठलाई आफ्नो सबै कुरा सुनाए। संगीतमा केही गर्नुपर्छ भन्दै उनी काठमाडौंको यात्रा तय गरे। श्रेष्ठले जेम्स प्रधान, मनोज केसी, फिरोज स्याङ्तानसँग भेट गराइदिए। यो घटना सन् २००६ तिरको हो। उनले त्यस भन्दा अघिसम्म संगीत सिकेका थिएनन्। जब उनी संगीत सिक्न थाले, उनका बुबा बिरामी भए। घरको सबै जिम्मेवारी उनमा आइपर्‍यो। उनी परिवारसहित आश्रममा बसाइँ सरे। बसाइँसराइपछि उनको संगीत सिकाइको काम बन्द भयो। आश्रममा हुँदा उनले गुरुसँग अर्ति उपदेश लिन थाले। आज उनी जे छन्, त्यो सब आफ्ना गुरु (निर्मल गुरु, जो सिक्किममा बस्छन्। आममान्छेले उनलाई कोप्चे गुरु भनेर चिन्छन्) को कारण रहेको बताउँछन्।

उनले व्याण्डसँग मिलेर पुन: गीत गाए। यो गीतमा पनि उनले आफूमा धेरै गल्ती भेट्टाए। संगीत सिक्न नपाएपछि आफैँभित्रको गुरुको खोजी गरे। आफ्नो गल्ती आफैँ पत्ता लगाउँदै संगीतमा लगातार लागे उनी। उनी, सुमित विश्वकर्मा र बानिका प्रधान मिलेर नयाँ एल्बम गरे। आदिकवि भानुभक्त आचार्यलाई श्रद्धांजलि दिएर 'भरजन्म घाँसतिर' कवितालाई कलकत्तामा रेकर्ड गराए।

पुन: उनले वाणी व्याण्डबाट देवेन्द्र गौतम, सुमन पप्पुसँग मिलेर अहिले चर्चामा रहेको गीत 'पन्छी' झम्सिखेल ललितपुरस्थित के. जेसी रेकर्डिङ स्टुडियोबाट रेकर्ड गराए। यो गीत भने उनले सन् २००८ मा रेकर्ड गराए। 'यो गीतबाट उनलाई एकदमै धेरै अपेक्षा थियो। तर भिडियो खराब भएकाले गीतले गति लिएन', उनी निराश हुँदै भन्छन्, 'तर 'धिनधिना' बोलको सुफी वेसमा आधारित गीत भने चर्चामा आयो।' उनी त्यसपछि रातारात हिट बने। उनी मिडियामा छाउन थाले। फलस्वरूप उनले कृपा अनप्लगमा गाउने अवसर पाए। कृपामा उनले पन्छी गीत गाए। पन्छी गीतका कारण उनले प्रशस्त फ्यान कमाए। उनी एकाएक सेलिब्रेटी बने। पन्छी कृपा अनप्लग सिजन १ को सबैभन्दा चर्चित र मनपराइएको गीत रहेको उनी बताउँछन्।

कृपाबाट केही दिन चर्चामा आएको गीत पुन: सुस्तायो। नेपालमा हुने रियालिटी गायन प्रतियोगितामा उनका गीतहरू पर्ने गर्छन्। तर अहिले नेपाल आइडलमा अमित बरालले गाइदिएपछि यो गीत पुन: चर्चामा छ।

पन्छी गीत पहिल्यै हिट हुनुपर्छ भन्ने लागेको थियो उनलाई। हरेकको मन मुटुमा बस्न सफल हुनुपर्ने गीत हो यो। आफूमा के कमजोरी रहेको थियो कुन्नि, चर्चामा आएन। नेपाल आइडलमा अमित बरालले यो गीत गाउँदा आफू एकदमै धेरै खुसी भएको उनले बताए। उनी भन्छन्, 'नेपाल आइडलका अमितले पन्छी गीत दमदार गाइदिएर यो गीतको पुनरुत्थान भयो। दिलबाट भन्न चाहन्छु उनी यस गीत र मेरा लागि विधाता भएर आए।' यो गीत पुनरुत्थान भएको कुराले प्रधान खुसी देखिए।

गीत गाउँदै जाँदा नयाँनयाँ साथीहरू जोडिन आइपुगे उनको जिन्दगीमा। नेपाली फिल्ममा काम गर्ने अवसर पाए उनले। गाउँदै जाँदा उनको भेट निर्देशक विशाल भण्डारीसँग भयो। विशाल भण्डारीले निकेश खड्कासगँ भेट गराए। फलस्वरूप उनले 'जिन्दगी रक्स' फिल्ममा संगीत भरे। उनी आफ्नै गल्तीले संगीत सिकेको बताउँछन्। संगीतको परिभाषा दिने हैसियत आफ्नो नभइसकेको भए पनि उनका लागि संगीत भक्ति, पूजा रहेको बताउँछन् उनी।

कुनै पनि गीत विशुद्ध मनोरंजनात्मक मात्र नभएर समाजको दर्पण पनि हो। अहिलेको नेपाली गीतहरू सुन्दा दु:ख मानिहाल्नुपर्ने अवस्था नरहेको उनी बताउँछन्। कुनै पनि गीत सामान्य दु:खले नबन्ने, मिहिनेत नै सबैभन्दा ठूलो कुरा भएको र सर्जकहरू पनि बाँच्नुपर्ने हुँदा पनि सर्जकले हरेक प्रकारका गीत गाउनुपर्ने, बनाउनुपर्ने बाध्यता रहेको उनको धारणा छ। उनी आफूले गाएको गीत हिट हुनुसँग कुनै सरोकार नभएको तर गीतमा समाजको चित्र देखिनुपर्छ भन्ने मान्यता राख्छन्। 'जिन्दगीका हरेक रङहरू छन्। अहिले आएका हरेक गीत जिन्दगीकै रङअन्तर्गत रचना गरिएका हुन्', उनी भन्छन्, 'जिन्दगीको कुनै रङ खराब भन्न मिल्दैन भने अहिलेका गीतहरूलाई पनि खराब भनिहाल्न मलाई उचित लाग्दैन।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.