|

डडेल्धुरा : डडेल्धुराबाट डोटी जाँदै गरेको स्कुल बस दुर्घटनामा मृत्यु हुनेको संख्या १६ पुगेको छ भने घटनामा २७ जना घाइते भएका छन्। १० जनाको घटना स्थलमै मृत्यु भएको हो भने अन्य ६ जानको अस्तपलामा मृत्यु भएको हो। मृतकको सनाखत भइसकेको छैन।

डा. केआई सिंह राजमार्गअन्तर्गत डडेल्धुराको अमरगढी नगरपालिका–११ रडुवा खोलामा से १ क २९३ नम्बरको बस दुर्घटनामा परेको हो। २७ घाइतेमध्ये आठ जनालाई धनगढी पठाइएको छ। धनगढी पठाइएका आठ जनामध्ये दुई जना महिला र छ जना पुरुष रहेका छन्। 

अन्य १९ जना घाइतेको डडेल्धुरास्थित उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय डडेल्धुराका इन्चार्ज गणेशसिंह नागरीले जानकारी दिए।

घाइते हुनेहरूमा डडेल्धुरा सकायलका १७ वर्षीय इन्द्र भुल, कोरालखोलाका माया खड्का, २० वर्षीया सुनिता रावल, सकायलका १९ वर्षीय रमेश भुल, २० वर्षीय पुरन भुल, डडेल्धुरा सेल्तडाका १६ वर्षीय नारद बलायर, गन्यापधुरा गाउँपालिकाका–१ का ३० वर्षीया ईश्वरी दमाई, गन्यापधुरा–३ का २४ वर्षीय चक्रबहादुर बोहरा, नवदुर्गा गाउँपालिकाका–२४ वर्षीय थानेश्वर अवस्थी रहेका छन्।

यस्तै डोटीको तल्लोसालका १६ वर्षीय विनोद किमाडी, डोटी गोपघाटका–२३ वर्षीय श्याम ओझा, शिखर–६ डोटीका ३८ वर्षीय भीम बलायर, डोटी शिखर–१० का २९ वर्षीया सरिता बलायर, डोटी तिलताडिका–१५ वर्षीया सोनीया रावल, बन्डोरसैन डोटीका १५ वर्षीय सन्तोष रावल, बन्डोरसैन डोटीका २० वर्षीय भरत बलायर, तल्लीसाल डोटीका २१ वर्षीया हरिना बोहरा, वनलेक डोटीका ३८ वर्षीया सावित्री धामी, शिखर डोटीका–१७ वर्षीय रमेश धामी घाइते भएका छन्।

डोटीको शिखर नगरपालिकाअन्तर्गत बानिडुग्रिसइनस्थित पीसजोन एकेडेमीको पहेँलो रंगको स्कुल बस बिहीबार बेलुकी दुर्घटनामा परेको हो। बिहीबार अमरगढी नगरपालिका–८ स्थित उग्रताराको मन्दिरमा लागेको मेला भर्न आएका व्यक्ति सवार स्कुल बस दुर्घटनामा परेको हो। बसमा ४३ जना यात्रु सवार रहेको बुझिएको छ। बस सडकबाट करिब २०० मिटर तल खोलामा खसेको बताइएको छ। दुर्घटनाको कारण खुलेको छैन।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.