|

डडेल्धुरा : नेपालका चार धाम मध्येको एक अछामको वैद्यनाथ धाममा संरक्षण र संवर्द्धन गर्न नसक्दा ओझेलमा परेको छ। धामका बारेमा प्रचारप्रचार गर्न सके पर्यटकहरूको संख्या बढाउन सकिने भए तापनि कुनै निकायले पहल नगर्दा अहिले वैद्यनाथ धाममा ओझेलमा रहेको स्थानीयको गुनासो छ।

नेपाल सरकारले घोषित पूर्वपश्चिम मध्यपहाड राजमार्गमा पर्ने १० वटा स्मार्टसिटी (नयाँ शहर) साँफेबगर नगरपालिकाका साथै टीकापुरबाट कैलाश मानसरोवर जाने सबैभन्दा छोटो मानिएको सेती लोकमार्ग र पूर्वपश्चिम मध्यपहाडी राजमार्गको संगममा रहेको पौराणिक धार्किक ऐतिहासिक सांस्कृतिक पर्यटकीय दृष्टिकोणले महत्‍वपूर्ण क्षेत्र हो वैद्यनाथ।

वैद्यनाथ धाम मन्दिर बूढीगंगाको कटानको उच्च जोखिममा परेको छ। कटान रोक्नका लागि धेरै पहल भए पनि प्रभावकारी हुन सकेको छैन। विसं १९८६ मा छिपेखोलामा आएको बाढीले वैद्यनाथ क्षेत्रका सबै संरचना बगाएको थियो। मन्दिरको शिवलिंग भने यथास्थानमै फेला परेको थियो। शिवलिंग फेला परेपछि फेरि मन्दिर स्थापना गरी पूजाआजा शुरु गरिएको थियो।

वैद्यनाथ धामबारे जनप्रतिनिधि

साँफेबगर नगरपालिकाका प्रमुख कुलबहादुर कुँवरले वैद्यनाथ धाम क्षेत्रको संरक्षण र संवर्द्धन गर्नका लागि आफूहरू योजनाबद्ध ढंगले अगाडि बढिरहेको बताए। यस संरक्षणका लागि सरकार, साबिकको गाविस र जिविसबाट सहयोग हुँदै आएको उनको भनाइ छ। ‘अब हामी जनप्रतिनिधिका रूपमा निर्वाचित भएर आएपछि गत वर्ष पनि विविध ढंगले सहयोग गरेका छौँ।’ उनले भने, ‘त्यहाँको खानेपानीको लागि पनि सहयोग गर्‍यौँ, फर्निचरको लागि पनि सहयोग गरका थियौँ।

गतवर्ष आयोजना गरिएको महायज्ञबाट पनि सहयोग भएको उल्लेख गर्दै उनले थाहाखबरसँग भने, ‘सरकारबाट पनि २० लाख र प्रदेशबाट पनि सहयोग प्राप्त भयो र हामीले पनि नगरपालिकाबाट पाँच लाख रुपैयाँ सहयोग गरेका छौँ।’ महायज्ञबाट संकलित रकमबाट यहाँ आयुर्वेदिक विद्यालय सञ्‍चालन गर्ने कार्यक्रम रहेको उनले बताए। यहाँ अहिले सञ्‍चालनमा रहेको निमावि स्तरको वैद्यानाथ संस्कृत वेद विद्याश्रमलाई आयुर्वेदिक मावि बनाउन आफूहरूले चाहेको उनको भनाइ छ।

वैद्यनाथ क्षेत्रबारे पुराण

राजा बद्ध शर्माले पितृ तार्न युग्मपर्वतबाट जाह्नवी गंगालाई प्रवाहित गराएकोले राजाकै नामबाट रहन गएको उत्तरी दिशामा रहेका हिमश्रृंखलामध्ये बूढीनन्दा र शंखपर्वतको बीचमा रहेको शंखसरोवरबाट प्रवाहित पवित्र पावन वृद्धगंगा सवालाख पर्वतको माध्य भागमा रहेको सिद्धस्थल वृक्षखण्ड(भारखण्ड)लाई चिर्दै सागरतर्फ उन्मुख हुँदा साँफे पुगरे अपर्णा(छिपेखोला) र गोदावरी (पर्वालीगाड) नदीलाई अंकमाल गर्दा बन्न गएको साँफे–त्रिवेणीदेखि पञ्चपुरी रामारोशनमा भृगुपुत्रले सोमयाग (स्वर्ग जाने यज्ञ) गर्दा आह्वान गरिएकी कैलाश गंगा आएर वृद्धगंगामा मिलेको संगमको मध्येभागमा रहेको सुरम्य उपत्यका पवित्र वैद्यनाथ क्षेत्र छ।

शिवजीले सवालाख पर्वतको माध्यभागमा रहेको वृक्षखण्ड अर्थात् भारखण्ड वैद्यनाथ क्षेत्र सबैभन्दा मनपरेको बताए र त्यहाँ बस्ने इच्छा प्रकट गनुभयो। शिवजीको प्रिय स्थल जसको महिमा स्कन्दपुराण मानसखण्डको अध्याय १६६ मा स्वंम शिवजी पार्वतीसँग भनेका थिए।

यस्तै शिव महापुराणको अध्याय २८ मा भनिएको छ–‘कैलाशमा कठोर तपस्या गर्दा पनि शिवजीको दर्शन नपाएकोले रावणले शिवजीको प्रिय स्थलको अन्वेषण गरी कैलाश मानसरोवरको दक्षिण सिद्धस्थल वृक्षखण्ड (भारखण्ड)  ‘वैद्यनाथ क्षेत्र’ पत्ता लगाइ त्यहाँ आइ कठोर तपस्या गर्‍यो। तैपनि शिवदर्शन नपाउदा दशानन रावणले आफ्ना एक/एक वटा शिर छेदन गर्दै अग्निमा होम्दै दसै शिर छेदन गर्न लाग्दा शिवजी प्रसन्न भई ज्योतिस्वरूपमा प्रकट भएर आलौकिक वैदाङ्गीद्धारा रावणका नौवटै शिर जस्ताको त्यस्तै पारी के चाहन्छौँ भनि महादेवले सोधनी गर्दा–रावणले ‘अतुल बल’ माग्दा ‘तथास्तु’ भनी वर प्रदान गरेको उल्लेख छ। भन्ने कुराको तथ्य शिव महापुराणमा रावण भन्छन्,– ‘उक्त स्थलमा मेरो प्रार्थना स्वीकारेर भगवान् शिव वैद्यानथेश्वर नामले तीनै लोकमा प्रख्यात भएर वैद्यनातथ क्षेत्रमा रहनु हुन्छ । यस्ता महेशको दर्शन पुजनले भुक्तिमुक्ति प्राप्त हुनाको साथै सबैको कल्याण हुन्छ ।

स्कान्दपुराणान्तरगत मानसखण्ड अध्याय १६६ काअनुसार यहाँ रावन मात्र होइन कुम्भकर्ण, वाणासुर, विभिषण, यम, कुवेर, महेन्द्र बदी आदि आइ उपासनाका साथै वैद्यनाथको दर्शन पुजन गरी आफ्नो मानोइच्छा पूरा गरेका थिए। यहाँ आएर कसैले विमुख भएर जानुपर्दैन भनिएको छ।

यसरी हुन गयो वैद्यनाथ नाम

वैद्यानाथ क्षेत्रको नामको सन्दर्भलाई हेर्दा संसारको रोगव्याधि हटाउन स्वयं शिवजी वैद्यको रूपमा प्रकट भएका तथा रावणको तपस्याबाट वैद्यानाथ रहन गएको  पौराणिक तथ्य भेटिन्छ भने बैजु कुमाल र बैजु कुमाल र वैजु घटालाले माछा मार्न जादाँ जालमा भटिएकोले तथा स्यालको कारणले वैद्यानाथ रहन गएको भन्ने जनश्रुति पनि पाइन्छ।

वैधानाथमा मनाइने विशे पर्व

यहाँ नित्य तथा वर्षभरीमा ३० वटा पर्वपूजा हुन्छन्। यहाँ महाशिवरात्रि, मकर सक्रान्ति र विषु पर्व, होरी पर्व, दशैं पर्व, कृष्णजनमाष्टमी, श्रावण स्नानलगायत पर्वहरू विशेष धुमधामका साथ मनाइन्छ। सबैभन्दा ठूलो मेला महाशिवरात्रिमा लाग्दछ।

फागुन कृष्ण चर्तुदशीमा देवाधिवेद महादेव स्वयंले रुद्ररुप धारणा गर्ने भएकाले यस दिनको शिवपूजाको विशेष महत्व भएको धार्मिक मान्यता रहेका वैद्यनाथ क्षेत्र विकास संस्थाका सचिव एवं प्रधान गुरु देवराज उपाध्यायले बताए। ‘यस दिनमा स्नान गर्ने, व्रत बस्ने, विशेष पूजाका साथै हवन गर्ने गरिन्छ।’ उनले भने, ‘विभिन्न जिल्लाबाट आएका हजारौं तीर्थयात्रीले महाशिवरात्रिको अवसरमा यहाँ पूजा अर्चना गर्छन्।’

उनका अनुसार धार्मिक तथा पौराणिक कथन अनुसार भगवान शिवको प्रियस्थल मानिने वैद्यनाथमा महाशिवरात्रिको अवसरमा छिमेकी बाजुरा, डोटी, डडेल्धुरा, कैलाली, बझाङ लगायतका जिल्लाहरूबाट समेत तीर्थालुहरू आउने गर्दछन्। साथै पर्गलो चढाउने सलमी तथा बडाई, चँदयो भित्र्याउने, रातिमा देउडाखेल खेल्ने आदि कार्यक्रम यस पर्वका विशेष आकर्षण मानिन्छन्।

वेद विद्याश्रम पनि सञ्चालनमा

०५४ मा अनुमति लिई ०५५ को शैक्षिक सत्रबाट यहाँ श्री वैद्यानाथ वेद विद्याश्रम पनि सञ्चालनमा छ। निमावि तहको वैद्यानाथ संस्कृत वेद विद्याश्रम ०५५ सालदेखि सञ्‍चालनमा रहेको प्राचार्य देवराज उपाध्यायले बताए।

यहाँ कक्षा ६ ७ र ८ सम्म पठाइ हुने गरेको उनको भनाइ छ। यस वेद विद्याश्रमलाई मावि बनाउने प्रक्रियामा आफूहरू लागिरहेको थाहाखबरसँगको कुराकानीमा उनले सनाए। उक्त वेद विद्याश्रममा अहिले ३६ जना विद्यार्थीहरू अध्यनरत छन्। ‘यहाँ आधुनिक विषयमा नेपाली, समाजिक, अंग्रेसी गणित, पौराणिक विषयहरूमा वेद, कर्मकाण्ड, संस्कृत भाषा र संस्कृत व्याकरण पढाइ हुन्छ।’ उनले भने,–‘अछामसहित छिमेकी जिल्ला बाजुरा, बैतडी, बझाङ, कालिकोट, दैलेखलगायतका जिल्लाबाट यहाँ विद्यार्थीहरू पढ्नको लागि आउँछन्।’

वैद्यनाथ धाम अवलोकन गर्न आउने पर्यटक न्यून

वैद्यनाथ धाम अवलोकन गर्ने पर्यटकको संख्या न्यून रहेको छ। प्रचारप्रसारको कमीले गर्दा धाम अवलोकन गर्ने पर्यटकको संख्या बढ्न नसकेको हो। आन्तरिक पर्यटकहरू केही मात्रामा आए पनि विदेशी पर्यटकहरू भने वैद्यनाथ धाम नआएको वैद्यनाथ क्षेत्र विकास संस्थाका सचिव उपाध्यायले बताए।

‘प्रचारप्रसारको कमी गर्दा त्यति धेरै पर्यटकहरू आउँदैनन्। हामीले विदेशी पर्यटकहरू त ल्याउन सकेका छैनौँ।’ उनले भने,‘हाम्रा यहाँका मान्छे यसको प्रचारप्रसार गर्न नसकेको होला। किन भने हाम्रो सुदूरपश्चिममा यस्तो धेरै पर्यटकीय क्षेत्रहरू छन्। तर प्रचारप्रसारको अभाव छ।’ उनले विगतका वर्षहरूका भन्दा केही आन्तरिक पर्यटकहरू भने आइरहेको सुनाए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.