|

काठमाडौं : विकास पत्रकारिता गर्ने पत्रकारहरुको संस्था विकास पत्रकार मञ्च (फोडेज) को पहिलो साधारण सभा सोमबार गरिएको छ। साधारण सभामा आयोजित कार्यक्रममा उनीहरुले राजनीतिक अस्थिरताका कारण विकासका मुद्दा ओझेलमा परेको बताएका छन्।

मञ्चका अध्यक्ष गोपीकृष्ण ढुंगानाले अस्थीर राजनीतिका कारण विकासका मुद्दाहरु ओझेलमा परेको बताए। ‘विकास पत्रकारितामा खोज पत्रकारिता नमिसाएसम्म सञ्चारमाध्यममा स्थान दिन पनि मिल्दैन। गहन ढंगबाट विकास पत्रकारिता गरिए समाज र राष्ट्रको विकासमा सघाउ पुग्नेछ’ उनले भने।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य लक्की चौधरीले विकास शब्दले व्यापक क्षेत्र ओगट्ने भएकाले विकास पत्रकारिताको सही प्रयोग गर्न सके समग्रमा देश र देशबासीलाई धेरै फाइदा पुग्नेमा जोड दिए। ग्रिन मिडियाका उपाध्यक्ष शंकर खनालले विकास सबैको चासोको विषय भएकाले यससम्बन्धी जतिसक्दो धेरै सूचना तत्काल सम्प्रेषण हुनुपर्ने र यसका लागि पत्रकार एकजुट हुनुपर्ने बताए। कार्यक्रममा मञ्चका सदस्यहरु सोम शर्मा बजगाई, जीवन बस्नेत, मेनुका कार्की, सविन ढकाल लगायतले विकास पत्रकारिताबारे धारणा राखेका थिए।

साधारण सभामा अध्यक्ष ढुङ्गानाले आगामी कार्यदिशा, सचिव भट्टराईले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष टेकराज थामीले  आयव्यय विवरण प्रस्तुत गरेका थिए। सभाले ४४ जना साधारण सदस्यको सदस्यतासमेत स्वीकृत गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.