|

काठमाडौं : पत्रकार जगत नेपालको खोजमूलक तथा अनुसन्धानात्मक कृति ‘बिपीको विद्रोह’  कृति सार्वजनिक भएको छ। काठमाडौंको गैरीधारास्थित एलिस रिसेप्सनमा आयोजित कार्यक्रममा पूर्वराष्ट्रपति डा. रामवरण यादवले पुस्तक लोकार्पण गरेका हुन्। 

कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईसहित राजनीतिक विश्लेषक डा. हरि शर्मा, शिक्षाविद् केदारभक्त माथेमा, डा. ज्ञानु पाण्डेले पुस्तकमाथि टिप्पणी गरेका थिए।

कायर्क्रममा पूर्वराष्ट्रपति डा.  यादवले बिपीसँग आफूले बिताएको पल सम्झिँदा भाग्यमानी महसुस हुने धारणा व्यक्त गरे। बिपी बाल्‍यकालदेखि नै विद्रोही स्वभावको रहेको समेत उनले जानकारी दिए। नेपाली प्रजातान्त्रिक आन्दोलनमा बिपीको भूमिका नेपाली जनताले सदैव सम्झिरहने जनाए।

नेतृत्वमा हुने व्यक्ति समयसँगै कठोर र लचिलो हुनुपर्ने  डा. भट्टराई बताए। बिपीको सम्झना गर्दै  बिपी प्रजातान्त्रिक आन्दोलनमा कहिले कठोर बनेको र कहिले लचिलो बनेको भट्टराईको विचार थियो। बिपी आफ्नो  जीवनको आदर्शको पात्र रहेको समेत उनले बताए। बिपीको नाम मात्र फुकेर नेपाली राजनीतिमा पुर्‍याएको योगदानको कदर नहुने उनको तर्क थियो। 

कृतिमा विशेषत  प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाबारे सूक्ष्म अध्ययन  गरिएको राजनीतिक विश्लेषक डा. शर्मा धारणा व्यक्त गरे। यो पुस्तक संवाद जस्तो छ। नेपालले यस पुस्तकमा बिपीलाई राजनीतिक विद्रोहीको रूपमा चित्रित गरे पनि उनले सामाजिक चेत भएको नेताका रूपमा चित्रण गरे।

प्रजातान्त्रिक समाजवादका प्रवर्तक एवं राजनेताको छवि बनाएका बिपीका राजनीतिक जीवनका लुप्त पाटा र विद्रोहको आयामलाई नेपालले पुस्तकमा समेटेको डा. पाण्डेले बताइन्। प्रजातन्त्र स्थापना गर्नका लागि बिपीले गरेको संघर्ष, चालेको कदम, उनको विद्रोही चेत र विद्रोहका क्रममा उनले झेल्नुपरेका अनेक संकटको मिहीन ढंगले विवेचना गरिएको वक्ताहरूले धारणा व्यक्त गरे। 

नेपाली साहित्यमा नयाँ चिन्तन, आयाम, परम्परा र शैलीका प्रवर्तकसमेत मानिएका बिपीका आफ्नै आत्मपरक लगायतका कृतिहरू लोकप्रिय छन्। ‘बिपीको विद्रोह’मा बिपीले आफ्नो कृतिमा उजागर गर्न बाँकी रहेका तथ्यलाई  चिरफार गर्ने प्रयास मात्र गरिएको लेखक नेपालले बताए।  बिपीको विद्रोही चेतबारे उनका समकालीन तथा अनुज पुस्ताका नेताको विचारसमेत पुस्तकमा अटाएको छ। पुस्तक बाह्रखरी बुक्सले प्रकाशन गरेको हो। प्रकाशन गृहको यो पहिलो पुस्तकसमेत रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.