|

डडेल्धुरा : डोटीको शिखर नगरपालिका–१० वनलेककी ३८ वर्षीया सावित्रादेवी धामी बिहीबार सुदूरपश्चिमको प्रसिद्ध उग्रतारा मेला भर्न डोटीबाट डडेल्धुरा आइन्। मेला भर्न उनीमात्रै आइनन्, उनका एक छोरा र एक छोरी उनीसँगै मेला भर्न डडेल्धुरा आए।

उनीहरूले उग्रतारादेविको पूजाआजा गरे। दिन ढल्किदै गएपछि घर मेलाबाट घर फर्किने निधो गरे उनीहरूले। अमरगढी नगरपालिका–८ स्थित उग्रताराको मन्दिरमा लागेको मेला भर्न उनीहरू डडेल्धुरा सदरमुकाम पुगेका थिए।

डडेल्धुरा बागबजारमा सावित्राले एउटा बस डोटी जानको लागि तयार रहेको अवस्थामा देखिन्। उनले सोधिन्, 'म पनि डोटी जान्थे?

चालकले भने, 'कहाँसम्म जाने हो?'

सावित्राले भनिन्, 'म डोटीको गगनानमोडसम्म।'

चालक र गाडीधनीले हुन्छ बस्नुस् भनेपछि सावित्रा बसमा बसिन्।

उनको डोटीको गगनानमोडसम्मको यात्रा सुरु भयो। गाडीधनीले चालकलाई गाडी विस्तारै हाक्न आग्रह गरे। तर, बस चालकले गाडीधनीले भनेको कुरालाई बेवास्ता गर्दै गाडी अझ तीव्र गतिमा हाक्न थाल्यो। गाडीधनीले चालकलाई गाडी विस्तारै हाक्न आग्रह गरेको तर गाडीधनीको भनाइ नटेरेको डडेल्धुरास्थित उपक्षेत्रीय अस्पतालको बेडबाट घटनाको बारेमा थाहाखबरलाई सुनाइन्।

‘डडेल्धुराको सदरमुकामबाट सल्लाघारीसम्म चालकले राम्रोसँग नै चलाइरहेको थियो’ उनले भनिन्, ‘त्यहाँबाट तल चालकले सडकको दुबै छेउतिर तल–माथि गर्न थाल्यो। र, अन्ततः त्यहाँबाट केही टाढा पुगेर बस दुर्घटनामा पर्‍यो।’

‘गाडी एक ड्याङ पल्टेको मलाई राम्रोसँग थाहा छ’ उनले अघि थपिन्, ‘मेरो शरीरमाथि सिट थियो। मैले त्यसलाई फालिदिएँ। मेरा गरगहना पनि त्यहीँ होला। पैसा र तरकारी पनि त्यहीँ खसेको छ होला।’

उनको खल्तीमा पनि मोबाइल थियो। उनले खल्तीको मोबाइल झिकिन र घर फोन गरिन्।

अमरगढी–११, रडुवाखोलामा बस दुर्घटनामा उनीसँगै उनका छोरा र छोरी घाइते भए। उनका छोरा रमेशलाई घाइते अवस्थामा उद्धार गरियो। दुर्घटना स्थलबाट उनी आफैँ सडकमा आइन्। तर, छोरीलाई देखिनन्। त्यसपछि भने उनी हिँड्न सकिनन्। र उनलाई एम्बुलेन्सबाट उपक्षेत्रीय अस्पताल ल्याइयो।

यो समाचार तयार पर्दासम्म उनको डडेल्धुरास्थित उपक्षेत्रीय अस्पतामा उपचार भइरहेको छ। उनको डाढमा चोट लागेको छ। उनको छोरा १७ वर्षीय रोशन धामी र छोरी राधिका धामीलाई यहाँ उपचार सम्भव नभएपछि कोहलपुर पठाइएको छ।

‘म चालकको नजिकै बसेकी थिएँ। छोराछोरी पनि मसँगै थिए’ उनले बिहीबारको घटना सम्झदै भनिन्, ‘छोराले कम्मर भाँच्चियो भन्न थाल्यो। उनीहरूलाई बाँकेको कोहलपुर लगिएको छ।’

१५ वर्षीया सोनिया रावल, डोटीको शिखर नगरपालिकाअन्तर्गत बानिडुग्रिसइनस्थित पीसजोन एकेडेमीकी विद्यार्थी हुन्। उनी पनि मेला भर्न भनी डडेल्धुरा आइन्। उनलाई स्कुलका प्रिन्सिपलले फोन गरेपछि डडेल्धुरा मेला भर्न आएकी हुन्।

‘त्यो हाम्रै स्कुलकै बस हो। मलाई प्रिन्सिपलले फोन गरेर बनाउनुभएको थियो’ उनले भनिन्, ‘सरले सोनिया मेला हेर्न आउने भनेपछि म यता आएको हुँ।’ उनी पनि त्यहीँ दुर्घटनामा घाइते भइन्। उनको निधारमा चोट लागेको छ।

‘डरले चिच्चाएँ तर चालकले स्पिड राकेन’ उनले भनिन्, ‘गाडी स्पिडमा थियो। चालक प्रिन्सिपलले विस्तारै चलाउ ‘ब्रेक’ तात्यो भने दुर्घटना होला भन्नुभएको थियो। गाडी तीव्र गतिमा गयो। ब्रक फेल। बस यताउता हल्लियो र तल खसिहाल्यो। त्यसपछि मलाई थाहा छैन।’

ब्रेक फेल भएर ठूलो दुर्घटना

डा. केआई सिंह राजमार्गअन्तर्गत डडेल्धुराको अमरगढी नगरपालिका–११ रडुवा खोलामा से१क २९३ नम्बरको बस ‘ब्रेक फेल’ भएर दुर्घटना भएको बताइएको छ। उक्त बस ‘ब्रेक फेल’ भएर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय डडेल्धुराका इन्चार्ज गणेशसिंह नागरीले जानकारी दिए। ‘ओरालोमा ब्रेक फेल भएर नै स्कुल बस खोला खसकेको हो’ उनले भने।

चालक लोक महरा हुन्। २८ वर्षीय महराको घर बल्लेख गाउँपालिका–१ मा पर्छ। उनी पनि दुर्घटनामा परी गम्भीर घाइते भएका छन्। यो समाचार तयार पार्दासम्म उनको बाँकेस्थित कोहलपुरमा उपचार भइरहेको छ। स्कुल बसले भाडा उठाएर क्षमताभन्दा बढी यात्री बोको थियो।

ट्राफिकले बस चेकजाँच गरेन!

अमरगढी नगरपालिका–१ स्याउलेमा ट्राफिक चेक पोस्ट छ। उक्त बस त्यहीँ भीमदत्त राजमार्ग भएर अमरगढीकै ढुन्ढुनेमा डिजल भरेर ट्राफिक चेक पोस्ट स्याउले भएर डोटी हिँड्यो। चेक पोस्टमा प्रहरीले गाडी चेकजाँच नगरेको बसमा सवार यात्रीको भनाइ छ।

‘ट्राफिकले गाडीलाई चेक गरेन। यात्री धेरै नै थियौँ। दुर्घटनमा परी घाइते बनेकी सोनियाले थाहाखबरसँग भनिन्। 

तर, जिल्ला ट्राफिक प्रहरी कार्यालय डडेल्धुराका इन्चार्ज नागरी भने बसलाई ट्राफिकले चेकजाँच गरेको दाबी गर्दछन्। उनी भन्छन्– ‘हामीले त्यो बसलाई तीन चोटी चेक गरेर मान्छे झारेका हौँ। स्याउलेभन्दा तल थप यात्री हालेका हुन्।’

सम्बन्धित समाचार

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.