|

जनकपुरधाम : प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले सूचनाको हक कार्यान्वयनमा सबै सरकार निकाय तथा सरोकारवाला निकायलाई प्रतिवद्ध हुनु जरुरी रहेको बताएका छन्।

राउतले सूचनाको हकले लोकतन्त्रलाई बलियो बनाउनुका साथै पारदर्शितामा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकोले सूचनाको हकलाई पूर्ण रुपमा कार्यान्वयनका लागि सम्पूर्ण निकाय प्रतिबद्ध हुनुपर्नेमा जोड दिएका छन्।

राष्ट्रिय सूचना आयोगले शुक्रबार जनकपुरमा आयोजना गरेको स्थानीय तहका जनप्रतिनिधि र प्रशासकीय अधिकृतको लागि सूचनाको हकसम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले संघीयतामा एउटा तहले अर्को तहसँग सूचनाको आदन प्रदानका माध्यमबाट पारदर्शिता र सुशासन कायम गर्ने, गराउनु पर्नेमा जोड दिए।

मुख्यमन्त्री राउतले सूचनाको हक कार्यान्वयनमा जनप्रतिनिधि भन्दा पनि राष्ट्रसेवक कर्मचारीहरूलाई अगाडि आउनुपर्ने र त्यसमा जनप्रतिनिधिले सहयोगात्मक भावना लिएर अघि बढ्नु पर्नेमा जोड दिए। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणपछि प्रदेश २ मा भ्रष्टाचारमा लिप्त भएको सरकार भनेर बदनाम भएको स्मरण गर्दै उनले अवको दिनमा ती बदनामीलाई अन्त्य गर्दै प्रदेशलाई समृद्ध बनाउने जिम्मेवारी जनप्रतिनिधिको काँधमा आएको बताए। उनले भ्रष्टाचार न्यूनीकरणको लागि प्रदेश सरकारले सुशासनसम्बन्धी ऐन चाँडै ल्याउन लागेको बताउँदै ऐन आएपछि गडबढी गर्न खोजे जो कोहीलाई पनि कानुनको कठघारामा उभ्याउन बाध्यकारी व्यवस्था ल्याउन लागेको दाबी गरे।

प्रदेशसभाले दुईतीन दिनभित्रै करार ऐन पारित गर्न लागेको जानकारी गराउँदै उनले स्थानीय तहमा देखिएको कर्मचारी अभावको समस्या समाधान गरिने दाबी समेत गरे। आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा आयुक्तहर यशोदा तिमल्सिना, किरण पोखरेलले सूचनाको हकसम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए।

कार्यक्रममा प्रदेश भरिकै स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रशासकीय अधिकृतहरूको सहभागिता रहेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.