|

धनकुटा : धनकुटामा रहेको क्षेत्रीय संग्रहालयको महत्व धेरै भए पनि अवलोकनकर्ताको अभाव र सही व्यवस्थापनका कारण ओझेलमा परेको छ। तीन दशक अघि धनकुटा सदरमुकाममा पूर्वाञ्चल क्षेत्रीय संग्रहालय नाममा स्थापित प्रदेश संग्रहालय प्रचार-प्रसार अभावमा आगन्तुकबाट बेखबर रहेको छ।  

संग्रहालयको उचित प्रचार-प्रसार गर्न नसक्दा धनकुटा आउने पर्यटक संग्रहालयबारे बेखबर छन्। जसका कारण यहाँको आम्दानी लज्जास्पद छ। संग्रहालयको वार्षिक आम्दानी १५ हजार रुपैयाँ बल्ल तल्ल पुग्ने गरेको छ। अवलोकनकर्ता नआएपछि यहाँका कर्मचारी दिनभर त्यत्तिकै बस्नु परेको कार्यालयका कर्मचारी सुशिल विष्टले बताए।

संग्रहालय हेर्न आउने जानेको लागि अपाएक परेकोले पनि अवलोकनमा आउनेहरूको संख्यामा कमी भएको भन्दै स्थानीय अधिकारी पन्छिने गरेका छन्। तर संग्रहालयको प्रचार-प्रसार र स्थानीयको बेवास्ताका कारण ओझेलमा परेको धनकुटाकी स्थानीय पत्रकार स्मिता निरौलाले बताइन्। ‘संग्रहालयको प्रचार प्रचारका लागि होडिङ बोर्डहरू पनि राखिएको छैनन्। मानिसलाई आकर्षण गर्न त व्यापक रूपमा प्रचार-प्रसार गर्नुपर्दछ।’ उनी भन्छिन्, ‘यतिको भौतिक संरचना निर्माण गरिएको संग्रहालयलाई राम्रोसँग सञ्चालन गर्न धनकुटा जिल्लाका सबै स्थानीय तह तथा प्रदेश सरकार लागि पर्नुपर्छ।'

’विभिन्न ठाउँमा विभिन्न जात-जातिको जातीय संस्कृति झल्काउने संग्रहालयको एक पटक अवलोकन गरौं भन्ने होडिङ बोर्ड राख्नु पर्ने पत्रकार निरौलाले बताइन्।संग्रहालय अवलोकनका लागि मुस्किलले दैनिक १५ देखि २० जना आउने गरेका छन्। संग्रहालयको तथ्यांकअनुसार गत आर्थिक वर्षमा एकहजार ५०० जनाले अवलोकन गरेका छन्। संग्रहालयका ९ जना कर्मचारीको तलब सुविधासहित संग्रहालयको वार्षिक व्यवस्थापन बजेट वार्षिक ३५ लाख रुपैयाँ रहेको छ।

पायक नपर्ने स्थानमा राखिएका कारण बाहिरबाट आउनेहरू यसबारे बेखबर छन्। त्यसो त धनकुटा यसै पनि पर्यटकीयस्थल हो। धनकुटाको भेँडेटार, नमस्ते झरना, भ्यू टावर, राजारानी ताल, ध्वजे डाँडा,हिलेको तोङ्वा,पाख्रीबास कृषि केन्द्र लगायतले पर्यटकको मन जित्दा क्षेत्रीय संग्रहालयले पर्यटकको मन जित्न सकेको छैन। तर सरकारी अधिकारी भने सर्वसाधारणको चहल-पहल बढी हुने स्थानमा स्थानान्तरण गर्न सके यसको महत्व बढ्ने बताउँदै पन्छिने गरेका छन्।

सार्वजनिकस्थल, चोक र पायक पर्ने स्थानमा सार्न गरिएको पहल पुरातत्व विभागको बेवास्ताले सफल हुन नसकेको संग्रहालय प्रमुख चन्द्रप्रसाद अधिकारीले बताए।
संग्रहालय प्रवेश गर्नेले न्यून शुल्क मात्रै तिर्नुपर्छ। संग्रहालयमा अवलोकनमा आउने नेपाली नागरिकलाई १० रुपैयाँ, विद्यार्थीको लागि पाँच रुपैयाँ र बाह्य पर्यटकहरूको लागि ५० रुपैयाँ प्रवेश शुल्क राखिएको छ। यो संग्रहालय सबैका लागि खुला छ। तर सुरक्षाको पनि ठूलो चुनौति रहेको छ। संग्रहालयमा सुनचाँदी र रुपैयाँ पैसा राखिएको कक्षमा सिसि क्यामेराको भरमा सञ्चालन गरिएको छ।

संग्रहालयको सुरक्षाका लागि सुरक्षार्मीको आवश्यक पर्ने भएकोले पुरातत्व विभागमा पत्राचार गरे पनि ढिलासुस्ती भइरहेको संग्रहालयको भनाइ छ। सुरक्षाकर्मीका लागि बस्ने भवन निर्माण सम्पन्न भएकाले यसै आगामी वर्षबाट सुरक्षाकर्मी माग गरेर सुरक्षा व्यवस्था मिलाउने योजनामा संग्रहालय रहेको छ। आर्थिक व्यवस्थापन र पूर्वाधार अभाव देखाएर पुरातत्व विभागअन्तर्गतको यस संग्रहालयले डेढदशक यता पुरातात्विक वस्तुको अनुसन्धान र जीर्णोद्धार गर्न सकेको छैन। उक्त संग्राहलयमा राखिएका अरबौ मूल्य बराबरको सामग्री सुरक्षाको लागि सिसि क्यामरा राखिएको छ।

ग्यालेरीमा रहेका विभिन्न १६ जातिका गरगहनाको सुरक्षामा कठिन हुने भएकोले सिसी क्यामरा राखिएको हो। यस संग्रहालयमा राई, लिम्बू,शेर्पा, मेचे, दराई, आठपहरिया राई, राजवंशी, धिमाल, वनकरिया लगायत विभिन्न लोपोन्मुख १६ जातजातिको भेषभुषा, रहन-सहन र संस्कृति झल्कने कलात्मक वस्तु, पुराना हातहतियार, भाँडाकुँडा, पुराना कम्पनी पैसा, वनमान्छेको खप्पर, नलिखुट्टा, गरगहना लगायतका सामग्री संग्रहित छन्। यता प्रदेश १ का सामाजिक विकासमन्त्री जिवन घिमिरेले धनकुटालाई पर्यटकीय रुपमा विकास गर्ने उदेश्यका साथ प्रदेश संग्राहलयको प्रचार प्रचारमा प्रदेशले कुनै कसर बाकी नराख्ने बताए।

प्रदेश सरकारले संग्रालयलाई एक नम्वरकै रुपमा विकास गरी पर्यटक भित्र्याउने लक्ष्य राखेको मन्त्री घिमिरेको भनाइ छ। विभिन्न जातिको संस्कृति झल्काउने संग्राहलयको प्रचार-प्रसारमा सम्बन्धित निकायले नसोचे नाममा मात्रै सीमित हुने र सरकारी लगानी बालुवामा पानी जस्तै हुने देखिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.