|

विराटनगर : काठमाडौंभन्दा सस्तो दरमा विराटनगरबाट माउन्टेन फ्लाइट सुरु भएको छ। माउन्टेन फ्लाइटको शनिबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेका हुन्।

माउन्टेन फ्लाइट उद्घाटन कार्यक्रममा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बो, सामाजिक विकासमन्त्री जीवन घिमिरे, उद्योग, वन, पर्यटन तथा वातावरणमन्त्री जगदिश कुसियैत, प्रदेशका मुख्यसचिव केदार न्यौपाने, अन्य मन्त्रालयका सचिवहरूले सहभागीता जनाए।

विराटनगरबाट साप्ताहिक रूपमा उडान नियमित हुने विराट होलिडेजका अध्यक्ष भविष श्रेष्ठले जानकारी दिए। निजी क्षेत्रको पहल र प्रयासमा भएको माउन्टेन फ्लाइटलाई निरन्तरता दिन सहयोग गर्ने प्रदेश सरकारले जनाएको छ। प्रदेशका पर्यटनमन्त्री जगदिश कुसियैतले भने काठमाडौंको सिण्डिकेट तोड्न आफूहरू सफल भएको पनि बताए।

विराटनगरका पर्यटन व्यवसायी भविष श्रेष्ठको पहलमा शनिबारदेखि माउन्टेन फ्लाइट सुरु भएको हो। फ्लाइटका क्रममा सर्वोच्च शिखर सगरमाथा, ल्होत्से, कञ्चनजंघा, मकालु, गौरिशंकरलगायतका हिमशिखरहरूको अवलोकन गरिएको थियो।

यति एयरलाइन्सको सीआरजे जेट स्ट्रिमको २३ सिटे विमानले माउन्टेन फ्लाइट गरेको हो। माउन्टेन फ्लाइटबाट फर्केपछि विराटनगर एयरपोर्टमा संचारकर्मीसँग कुरा गर्दै प्रदेशका मुख्यमन्त्री शेरधन राईले प्रदेशको विकास र समृद्धिमा माउन्टेन फ्लाइटले योगदान गर्ने भन्दै खुसी व्यक्त गरे।

५५ मिनेट लामो उडानमा सहभागी भएर फर्केपछि प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदिश कुसियतले काठमाडौंको सिण्डिकेट तोडिएको बताउँदै यसलाई निरन्तरता दिन प्रदेश सरकारले पहल गर्ने बताए।

विराट होलिडेजका अध्यक्ष भविषकुमार श्रेष्ठले भने आफूहरूको प्रयासले मात्रै नियमित उडान हुन नसक्ने भन्दै प्रदेश सरकारको निरन्तर सहयोगको अपेक्षा गरे। उनले प्रदेशको विकास र समृद्धिका लागि विराटनगरबाट आन्तरिक उडानहरू थप्नुपर्ने र बाह्य उडानका लागि पनि प्रदेश सरकारले पहल गर्नुपर्ने बताए।

विराटनगर ट्राभल्स एसोसियसनका अध्यक्ष फडिन्द्र अधिकारीका अनुसार यात्रुले ९ हजार ९ सय रुपैयाँमा विराटनगरबाट माउन्टेन फ्लाइट गर्न पाउने बताए। त्यसमा प्रदेश १ भित्र पर्ने आठ हजार मिटरमाथिका हिमश्रृंखला अवलोकन गर्न पाइने छ। विराटनगरबाट शुरु भएको माउन्टेन फ्लाइट काठमाडौंबाट हुनेभन्दा सस्तो रहेको उनको भनाइ छ।

मुख्यमन्त्री शेरधन राईले विराटनगरबाट आन्तरिक उडान थप गर्ने र अन्तर्राष्ट्रियस्तरको एयरपोर्ट निर्माणको पहल पनि गरिरहेको जानकारी दिए। विराटनगर  एयरपोर्टको रनवे २४ सय मिटरको बनाउने प्रक्रिया सुरु भइसकेको जानकारी दिँदै उनले ३ हजार मिटरको रनवे बनाउन संघीय सरकारलाई अनुरोध प्रदेश सरकारले गरिरहेको पनि जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.