|

कञ्चनपुर  ः शुक्लाफाँटा नगरपालिका ९ मा रहेको वृन्दावन सामुदायिक वनभित्रका तीन वटा प्राकृतिक ताल पुरिन थालेका छन्। पुरैना, अजिंगर र नरंगा ताल पुरिन थालेका हुन्। 

वर्षातको बगेर अाएका पात पतिंगर, माटो, बालुवाका कारण ताल पुरिन थालेको सामुदायिक वनका अध्यक्ष दलबहादुर ऐरले बताए। तालमा उम्रिएको बेसरम जातको वनस्पितले समेत तालको क्षेत्रफल खुम्चिँदै गएको उनको भनाइ छ।  'पहिले पहिले पौडी खेलेर मात्रै वारपार गर्न सकिने हुथ्यो', उनले भने, ‘ताल पुरिँदै गएपछि हिँडेरै वारपार गर्न सकिने भएको छ।’ 

चार विघा क्षेत्रफलमा फैलिएको पुरैना तालमा कमल फुलेको सौन्दर्य हेर्नलायक रहेको छ। साउन भदौ महिनामा कमल फुल्दा मनमोहक वातावरण हुने स्थानीय जगतबहादुर एरेले बताए। 

अजिंगर तालमा पहिला अजिंगर देखिने गरेका थिए। ताल पुरिदै गएपछि अजिंगर लोप भएको छ। दुई विघा क्षेत्रफलमा फैलिएको ताल पुरिएर आधा विघामा सीमित भएको छ।  नारंगा तालको अस्तित्व समेत खतरामा परेको छ।  ताल संरक्षणका कार्यक्रम अगाडि नबढाइए पाँच वर्षमा ताल पुरिने स्थानीय बासिन्दा बताउँछन्। 

तालको क्षेत्रफल खुम्चिँदै जान थालेपछि जलचर, चरा र वन्यजन्तु समेत सीमित मात्रामा मात्रै देखिने गरेका छन्।

पुरैना तालमा बाह्रै महिना पानी रहे पनि अन्य दुई तालको पानी जेठ, वैशाखमा सुक्ने गरेको छ। सामुदायिक वनले तीन वटै तालमा माछापालनका लागि एक लाख रुपैयाँ वार्षिक पाउने गरी ठेक्कामा दिएको छ। यसबाट प्राप्त रकम वन चौकिदारको तलबमा खर्च हुन्छ। 

ताल संरक्षणका लागि योजना  

ताल संरक्षणका लागि शुक्लाफाँटा नगरपालिका ९ को वडा कार्यालयले काम अघि बढाउने भएको छ।  प्राकृतिक ताल लाई पुरानै अवस्थामा फर्काउन वातावरणविदसँगगको सल्लाहमा योजना बनाउन लागेको वडाध्यक्ष रमेशबहादुर ऐरले बताए। 

'ताल संरक्षण गरी पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न चार लाख रुपैयाँ विनियोजन गरेका छौँ' अध्यक्ष ऐरले भने, ‘पहिलो प्राथमिकता ताल संरक्षण गर्ने र दोस्रो प्राथमिकता ताल क्षेत्रसम्म पुग्ने सडकको ट्रयाक खोल्नु रहेको छ।’

तीन वटै तालमा एकनास पानी राख्न डिप टयुवेल जडान गर्ने वडा कार्यालयको योजना छ। ताललाई पुरानै अवस्थामा ल्याएपछि भ्यू टावर निर्माण गर्ने, ताल वरिपरि  हिँडन बाटो निर्माण गर्ने, पिकनिक स्पट निर्माण गर्ने र उद्यान बनाउने योजना तीन वर्षभित्र पूरा गर्ने लक्ष्य लिइएको अध्यक्ष ऐरले बताए।

२०६० सालमा स्थापना भएको सामुदायिक वन एक सय ९९ क्षेत्रफलमा फैलिएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.