|

बैतडी : हरेक ३/३ महिनामा सार्वजनिs सुनुवाइ गर्नुपर्ने भए पनि बैतडीको पाटन नगरपालिकाले जनप्रतिनिधि आएपछि पहिलो सार्वजनिक सुनुवाइ शनिबार गरेको छ। बैतडीको पाटन नगरपालिकाले गत आर्थिक वर्षमा ५३१ वटा योजना बजेट विनियोजन गरेर सम्पन्न गरेको जनाएको छ। ५१ वटा नगरस्तरीय, ३३१ ओटा वडास्तरीय र १०३ वटा सशर्त तर्फका योजना सम्पन्न गरेको नगरपालिकाले जनाएको छ। गत आर्थिक वर्षमा नगरपालिकाले ४८ करोड ५९ लाख १२ हजार ७४ रुपैयाँ विनियोजन गरेको थियो।

नगरपालिकाले सडक निर्माणलाई प्राथमिकतामा राखेर ६८ वटा सडकसहित भौतिक पूर्वाधारतर्फ ५ करोड १५ लाख बजेट खर्च गरेको जनाएको छ। नगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाइका सहभागीहरूले टुक्रे योजनाका कारण विकासको कामले गति नलिएको गुनासो गरेका छन्। धेरै ठाउँमा कार्यकर्तामुखी बजेट भएको समेत उनीहरूले आरोप लगाएका छन्।

सार्वजनिक सुनुवाइ कार्यक्रममा उठेका प्रश्नको जवाफ दिँदै नगरप्रमुख केशवबहादुर चन्दले कतिपय अधिकारहरू अझै स्थानीय तहमा आउन नसकेकाले सोचेअनुसार काम गर्न नसकेको बताए। नगरपालिकाले नगरलाई समृद्ध बनाउनका लागि पहल गरिरहेको समेत उनको भनाइ छ। यस्तै गत आर्थिक वर्षको बजेटमा ३ करोड ३५ लाख बढी बेरुजु देखिएको छ। नगरपालिकाको बेरुजु रकमप्रति पनि सुनुवाइका सहभागीहरूले असन्तुष्टि जनाएका छन्।

नगरपालिकाले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा ६ करोड ८२ लाख २२ हजार रुपैयाँ खर्च भएको जनाएको छ। यसमा चालुतर्फ ६ करोड ५० लाख ७३ हजार ६ सय ६६ र पुँजीगततर्फ ३१ लाख ४८ हजार ४३२ खर्च भएको छ। चालु आर्थिक वर्षमा नगरसभाले ४५० वटा योजना छनोट गरेको प्रमुख प्रशासकीय अधिकृत रवीन अधिकारीले जानकारी दिए। 

नगरसभाले चालु आर्थिक वर्षमा ४६ करोड ६३ लाख १६ हजार बजेट विनियोजन गरेको छ। नगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रमलाई नेपाल पत्रकार महासंघले सहजीकरण गरेको थियो।

नगरवासी आक्रोशित

आर्थिक वर्ष ०७४/७५मा सम्पन्न भएका योजनाहरुको सार्वजनिक सुनुवाइ बैतडीको पाटन नगरपालिकामा शनिबार अर्थात् दोस्रो आर्थिक वर्षको पनि पहिलो चौमासिक सकिएपछि सम्पन्न गरेको छ।

ढिलो सार्वजनिक सुनुवाइ गरिएको भनी नागरिक आक्रोशित थिए। नगरपालिकाको नीति तथा कार्यक्रममा समेटिएका कुराहरू कागजमै सीमित भएको धेरैले गुनासो गरेका छन्। पाटन-६ का चमनकुमार भण्डारी भन्छन्, ‘हाम्रो नगरपालिकामा प्रशस्त कामहरू नागरिकलाई झुक्याउने तवरले भएका छन्, जनगुनासो बढी आउँछ भनेर नै आजसम्म सार्वजनिक सुनुवाइ नभएको हो, आज भयो, यो पनि प्रक्रिया मात्रै पूरा गर्ने तवरले भएको छ, नगरपालिकामा जनप्रतिनिधि आएपछिको कामप्रति हामी नगरवासी सन्तुष्ट छैनौँ।‘

पाटन नगर कार्यापालिकाले बनाएका नीति तथा कार्यक्रम कार्यान्वयन नभएको पाटन-८ का हरिश विष्टले बताए। उनले भने, यो वर्षलाई नगरपालिकाले शैक्षिक वर्ष घोषणा गरेको थियो तर काम केही गरेन, नियमित विद्यालय अनुगमन, नगरभित्रका विद्यालयहरूमा हरेक २ महिनामा परीक्षा सञ्चालन, परीक्षाको पेपर नगरपालिका आफैँले तयार गर्ने, परीक्षाफल नगरपालिकामा बुझाउनुपर्ने, त्यसको मूल्यांकन गरी विद्यालयलाई पुरुष्कत तथा अपग्रेड गर्ने लगायतका नितिहरु बनायो तर अहिलेसम्म केहिपनि कार्यान्वयन भएनन्, शिक्षामा मात्रै नभई हरेक काममा यस्तै लापरवाहि भैरहकाले अबदेखि यस्तो नगर्न उनले सुझाव दिए।

 पाटन नगरपालिकाको आर्थिक बर्ष ०७४/०७५को बजेटमा ३करोड बढि रकम बेरुजु भएको पाइएको छ। रकम खर्च गर्दा अनियमितता भएको भन्दै यसप्रति पनि नागरिकले गुनासो गरेकाछन्। उनिहरुले सरकारको नितिका आधारमा हरेक ३महिनामा सार्वजनिक सुनुवाइ गरी नगरपालिकाका कामबारे नागरिकलाई जानकारी गराउन आग्रह गरे।

प्रमुख केशवबहादुर चन्दले भने विगतमा विभिन्न समस्या र व्‍यस्तताका कारण केहि कामहरु समयमै पूरा हुन नसके पनि आगामी दिनमा भने सबै कार्यक्रम समयमै सम्पन्न गर्ने बताए। उनले नागरिकको गुनासो आउनु आफुहरुका लागी राम्रो भएको  पक्ष भएको भन्दै आगामी दिनमा ढिलाई नहुने बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.