|

बैतडी : बैतडीको पाटन नगरपालिकाबाट रोजगारीका लागि भारत जाने नागरिकको नि:शुल्क रूपमा दुर्घटना बिमा गरिने भएको छ। रोजगारीका लागि अन्य देशमा जानेहरूको बिमा गरिने भए पनि भारतमा जाने नागरिकको अहिलेसम्म बिमा गर्ने गरिएको छैन्।

भारतमा रोजगारीका सिलसिलामा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै बिमा गर्ने तयारी भएको नगरप्रमुख केशवबहादुर चन्दले जानकारी दिए। पहिलो चरणमा सयजना जति नगरपालिकाबाट भारतमा रोजगारी गर्न गएका नागरिकको निःशुल्क दुर्घटना बिमा गर्ने लक्ष्य लिइएको छ। नगरपालिकाभित्रका तीनवटा सहकारीमा आबद्ध शेयर सदस्यका घरपरिवारबाट कोही भारत गएको भए उनीहरूको बिमा गरिने जनाएको छ।

पाटन नगरपालिका र ग्रामीण विकास एवं वातावरण व्यवस्थापन समाज रुडेस बैतडीको संयुक्त सहकार्यमा बिमा गरिन लागेको रुडेस बैतडीका कार्यकारी निर्देशक गोविन्दराज जोशीले जानकारी दिए।  बैतडीको पाटनमा रहेको उदयदेव महिला बचत तथा ऋण सहकारी संस्था, खोड्पेमा रहेको सिद्धेश्वर बचत तथा ऋण सहकारी संस्था र सिद्धपुरमा रहेको महालक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्थामा आबद्ध शेयर सदस्यका परिवारमध्ये कोही भारतमा रोजगारीका लागि गएको भए उनीहरूको बिमा गरिन लागिएको छ।

अहिलेसम्म भारत जाने नागरिकको बिमा गर्ने चलन नभएकाले उतै दुर्घटनामा परेकाहरूलाई समस्या हुने गरेको छ। नगरपालिकाले रोजगारीको सिलसिलामा भारतमा दुर्घटनामा परेका नागरिकलाई सजिलोहोस् भन्ने उद्देश्यले बिमा गर्ने योजनाअघि ल्याइएको जनाएको छ।

उक्त व्यवस्थाले रोजगारीका लागि भारत जाने नागरिकलाई पनि सजिलो हुने विश्वास गरिएको छ। बैतडीका अधिकांस नागरिक रोजगारीको लागि भारत जाने गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.