|

युरोपियन युनियनबाट बेलायत बहिरिने सम्झौता 'ब्रेक्जिट'लाई युरोपिन युनियनका नेताहरूले स्वीकृत गरेका छन्। बेल्जियमको राजधानी ब्रसेल्समा इयुका २७ जना नेताबीच झण्डै एक घण्टा लामो छलफलपछि सम्झौतालई स्वीकृत गरिएको इयुका प्रमुख अधिकारी तथा युरोपियन काउन्सिलका अध्यक्ष डोनाल्ड टस्कले बताए।

ब्रसेल्समा भएको छलफलमा इयुबाट बेलायतको बहिर्गमनसम्बन्धी ६०० पेजको सम्झौता र बहिर्गमनपछिको व्यापारिक तथा राजनीतिक भविष्यको विषयमा बनेको २६ पेजको घोषणापत्र स्वीकृत भएको हो। झण्डै डेढ वर्षको छलफलपछि आगामी मार्च २९ बाट बेलायत इयुबाट बाहिरिने कानुनी प्रक्रिया अब अन्तिम चरणमा रहेको छ।

इयुबाट स्वीकृत उक्त सम्झौताले अब बेलायतको संसदबाट अन्तिम स्वीकृति पाएसँगै ब्रेक्जिट सम्झौता पूरा हुने बिबिसीले लेखेको छ। तर बेलायतको संसद ब्रेक्जिटको विषयमा दुई समूहमा विभाजित देखिएको समाचारमा उल्लेख छ। ब्रेक्जिट सम्झौता संसदबाट अनुमोदन गर्नका लागि बेलायतकी प्रधानमन्त्री थेरेसा मेलाई निकै कठिन देखिएको छ। बेलायतको संसदमा डिसेम्बरको सुरुवातमै ब्रेक्जिटको विषयमा मतदान हुने अपेक्षा गरिएको छ। 

संसदमा रहेका दलहरू लेबर, दि लिब डेम्स, दि एसएनपी, दि डियुपी तथा अन्य केही कन्जर्भेटिभ सांसद ब्रेक्जिटको विपक्षमा रहेका छन्। यसअघि प्रधामन्त्री मेले राष्ट्र र जनताको पक्षमा रहेको ब्रेक्जिट सम्झौता पाउनका लागि मिहिनेतका साथ काम तथा प्रचार गर्ने बताएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.