|
File Photo

विराटनगर : मोरङ प्रहरीले पेस्तोलसहित दुई जनालाई विराटनगरबाट पक्राउ गरेको छ। विराटनगर बसपार्कबाट शनिबार साँझ पक्राउ परेका दुबै जनाको नाम र ठेगाना भने प्रहरीले खुलाएको छैन।

भारतबाट ल्याउँदै गरेको पेस्तोलसहित उनीहरूलाई प्रहरीको क्षेत्रीय अनुसन्धान समूहको टोलीले पक्राउ गरेको हो। पक्राउ परेका दुबै जना लामो समयदेखि भारतबाट अवैध हतियार ओसारपसारमा संलग्न व्यक्ति भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

‘पक्राउ परेका व्यक्तिहरूले दिएको बयानका आधारमा हामी हतियारको ओसारपसार र कारोवार गर्ने ठूलो गिरोहसम्म पुग्दैछौँ,’ एक प्रहरी अधिकारीले भने, ‘त्यही भएर उनीहरूका बारेमा सबै कुरा खुलाइहाल्न मिल्दैन।’ क्षेत्रीय अनुसन्धान समूहको टोलीले पक्राउ गरेर दुवै जनालाई आवश्यक अनुसन्धानका लागि मोरङ प्रहरीको जिम्मा लगाएको छ।

उनीहरूबाट मेड इन युएसए लेखिएको पेस्तोल बरामद भएको छ। भारतबाट ल्याइएको पेस्तोल काठमाडौंतर्फ लैजान लाग्दा उनीहरूलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ। मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले पक्राउ परेका व्यक्तिहरूमाथि अनुसन्धान भइरहेको जानकारी दिए।

‘उनीहरूका बारेमा विशेष ढंगले अनुसन्धान थालिएको छ,’ केसीले भने, ‘त्यही भएर सबै कुरा खुलाइहाल्न सक्ने स्थिति छैन।’ उनले पक्राउ परेकाको नाम तत्कालै खुलाइहाल्दा उनीहरूसँग कनेक्सन भएका अन्य व्यक्तिहरू फरार हुने पनि बताए। प्रहरीले एक साताअघि हतियारसहित उदयपुरका मन्दीप तामाङ र सुनसरी खनारका सुशील साहलाई पनि गरेको थियो।

योसँगै प्रहरीले एक साताको बीचमा सुनसरी र मोरङबाट मात्र भारतबाट अवैध रूपमा नेपाल पेस्तोल भित्र्याउने सात जना गिरोहलाई पक्राउ गरेका छ। खुल्ला सीमाको कारणले गर्दा सहज रूपमा भारतबाट अवैध रूपमा हतियार भित्र्याए नेपाल अपराधिक गतिविधि गर्ने गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.