|

काभ्रेपलाञ्चोक : राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्प प्रभावित जिल्लाका स्थानीय तहमा खटाइएका इञ्जिनियर गाउँ नबसे तत्कालै कारवाही गरिने बताए। 

राष्ट्रिय पुनः निर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन एकाई, अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार (जिमाली) द्वारा आइतबार धुलिखेलमा आयोजित जिल्लास्तरीय निजी अवास पुनःनिर्माणसम्बन्धी दुई दिने समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै ज्ञवालीले स्थानीय जनप्रतिनिधिले आफ्ना क्षेत्रमा इञ्जिनियर तथा अन्य प्राविधिक नबसेको जानकारी दिए तत्कालै कारवाही गरिने बताए। उनले भने, 'प्राविधिकहरू गाउँमा बस्नैपर्छ। यदि नबसेको भए जानकारी दिनुहाेस्। तत्कालै कारवाही गर्छु।' 

ज्ञवालीले भूकम्पपीडितका बैंक खातामा गएको अनुदान रकम बैंकले विभिन्न बहानामा झुलाउने गरेको गुनासो पनि आएकाले त्यसबारे तत्कालै अनुगमन, छानबिन गरिने बताए। उहाँले प्राधिकरण र नेपाल राष्ट्र बैंकसँग यसबारे छलफल भैसकेको बताउँदै राष्ट्र बैंकका प्रतिनिधि र प्राधिकरणको प्रतिनिधि टोलीले छानबिन शुरु गर्ने बताए। 

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले जिल्लामा बस्ती स्थानान्तरणको समस्या देखिएकाले प्राधिकरणले यसप्रति चासो दिनुपर्ने बताए। राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन एकाई, अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारका प्रमुख लोकनाथ रेग्मीले जिल्लाका ६८ हजार ७७३ भूकम्पपीडित परिवारमध्ये हालसम्म ३२ प्रतिशतले तेस्रो किस्ता अनुदान लिइसकेको जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.