|

काठमाडौं : बलात्कारपश्चात् हत्या गरिएकी कञ्चरपुर भीमदत्त नगरपालिकाकी १३ वर्षीया किशोरी निर्मला पन्तका बुबा यज्ञराज पन्तलाई काठमाडौंस्थित त्रिभुवन शिक्षण अस्पतालको इमर्जेन्सी कक्षमा भर्ना गरिएको छ।

न्यायका लागि धर्नामा बसेका यज्ञराजको स्वास्थ्यमा समस्या देखिएपछि आइतबार काठमाडौं ल्याइएको हो। शनिबार हवाइ जहाजबाट काठमाडौं ल्याइने बताइए पनि जहाजले उनलाई चढाउन नमानेपछि आइतबार साँझमात्रै उनलाई काठमाडौं ल्याइपुर्‍याइएको हो। काठमाडौं ल्याउने क्रममा उनको खुट्टा पनि फ्याक्चर भएको बताइएको छ।

उनको आपत्कालीन कक्षको बेड नम्बर २९ मा राखेर उपचार सुरु गरिएको त्रिवि अस्पतालले बताएको छ। हाल उनलाई आपत्कालीन कक्षका चिकित्सकहरूले परीक्षण गरिरहेको बताइएको छ। उनीमा देखिएको स्वास्थ्य समस्याका बारेमा रगत परीक्षणको नजिजा आएपछि मात्रै थाहा हुने चिकित्सहरूले बताएका छन्।

कञ्चनपुरस्थित जिल्ला प्रशासन कार्यालय अगाडि छोरीको न्यायका लागि धर्नामा बसेका यज्ञराजको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि चिकित्सकहरूले थप उपचारका लागि काठमाडौं जान सल्लाह दिएका थिए। लामो समयदेखि धर्नामा बस्दा उनमा अस्वाभाविक व्यवहार देखाउँदै, छोरीका लागि बिलौना गर्ने, धर्नास्थलतबाट उठेर हिँड्ने, जथाभावी गाली गर्ने जस्ता समस्या देखिएको थियो।

साउन १० गते साथीको कोठामा होमवर्क गर्न गएकी निर्मलाको ११ गते घर नजिक उखुबारीमा शव भेटिएको थियो। निर्मलाको हत्या भएको चार महिना बित्न लाग्दा पनि हत्याराको पत्ता लाग्न सकेको छैन।

अपराधी पहिचानका लागि अहिलेसम्म आधा दर्जनभन्दा बढीको डिएनए परीक्षण भइसकेको छ भने प्रमाण नष्ट गरेको आरोपमा प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृहमन्त्रालयले कञ्चनपरका तत्कालीन प्रहरी निरीक्षक दिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदिश भट्टलाई बर्खास्तगी गरिसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.