|

दमक (झापा) : शिवसताक्षी नगरपालिका–७ लालपानीमा भएको आगलागीमा परी परिवारका सबै सदस्यको मृत्यु भएको छ। आइतबार राति भएको आगलागीमा ३४ वर्षीय लक्ष्मण खनालसहित उनका परिवारका चार जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा उनकी श्रीमती २८ वर्षीया राधिका, चार वर्षीया छोरी सुप्रिया र चार महिनाका छोरा टीकाराम रहेका छन्। सोही आगलागीमा परेर छिमेकी ३७ वर्षीया गीता ढुंगेल गम्भीर घाइते भएकी छन्। उनलाई उपचारका लागि विराटनगरस्थित नोवेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

बाक्लो बस्तीबीच आगलागी

बाक्लो बस्तीबीचमा रहेको खनाल परिवारको काठे घरमा कसरी आगलागी भयो भन्ने केही खुल्न सकेको छैन। ‘राति साढे १० बजेतिर एक्कासी आगो उठेको देखियो,’ सँगै घर जोडिएका छविलाल सापकाटाले भने, ‘हामीले थाहा पाउँदा चारैतिरबाट आगोले घेरिसकेको थियो, आगो कसरी उठ्यो आगो केही भेउ पाउन सकिएन।’

घरधनी लक्ष्मण ट्रयाक्टर धनी हुन्। उनी राति स्थानीयको खेत जोताउन ट्रयाक्टर लिएर गएका थिए। घर आएर खाना खाई सुतेको केही समयमानै आगलागी भएको स्थानीयको अनुमान छ। आगलागीबाट काठेघर पूर्णरुपमा नष्ट भएको छ। आगलागीको कारण र क्षतिको विवरण संकलन भइरहेको नगरपालिकाका प्रमुख चन्द्रकुमार सेर्माले बताए।

घरमा चार महिनाकी सुत्केरी भएकाले सेकाउन बालिएको आगोबाट घरमा सल्किएको हो कि भन्ने पनि केहीको अनु्मान छ। तर, छिमेकी तुलसा अधिकारीले भने त्यो अनुमान सही नहुने बताउँछिन्। ‘उहाँलाई डाक्टरले पनि आगोमा नसेकाउनु भनेकाले सेक्ने गर्नु भएको थिएन,’ उनले भनिन्, ‘त्यसैले सुत्केरी सेकाउन आगो बालिएको थियो भन्ने लाग्दैन।’

ट्रयाक्टर सञ्चालक भएकाले घरमा डिजेल भने रहेको र त्यसबाट आगो छिटो फैलिएको भने हुन सक्ने छिमेकीहरु बताउँछन्।

नियन्त्रणको प्रयास

आगो लागेको थाहा पाउन साथ स्थानीयले घर घरका मोटर चलाएर आगलागी नियन्त्रणको प्रयास गरेका थिए। छिमेकी तुलसा अधिकारीले भनिन्, ‘आगो लागेको देख्न साथ घरघरका मोटर चलाएर निभाउने प्रयास ग¥यौं, करिब एक घण्टापछि दमकल आइपुग्यो।’ थाहा पाउँदा आगो दनदनी बलिरहेकाले घरभित्र रहेकालाई निकाल्ने अवस्थानै नरहेको उनको भनाइ छ।

आगलागी स्थलमा सोमबार बिहान संघीय सांसद एलपी साँवा, प्रदेश सांसद झलकसिंह दर्लामी, स्थानीय जनप्रतिनिधी तथा सुरक्षाप्रमुखहरु पुगेका थिए। 

घरसँगै जलेर झापामा एकै परिवारको चार जनाको मृत्यु

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.