|

काठमाडौं : मंसिर २१ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म हो, 'प्रसाद'। निसन्तान दाम्पत्यको कथा बोल्ने यस फिल्मलाई दिनेश राउतले निर्देशन गरेका छन्। सुशिल पौडेलको पटकथा समावेश फिल्मलाई सुवास थापाले निर्माण गरेका हुन्। फिल्ममा नम्रता श्रेष्ठ, विपिन कार्की र निश्चल बस्नेतको मुख्य भूमिका रहेको छ।

गीत र ट्रेलरका कारण निकै चर्चामा रहेको यस फिल्म दर्शकमाँझ प्रतिक्षित बनिरहेको छ। फिल्ममा समावेश लै लै गीतले युट्युबमा ५० लाख बढी भ्युज कामइसकेको छ। फिल्मलाई लिएर दर्शक निकै आशावादी रहेको पाइन्छ। गीत र ट्रेलरमा आएको प्रतिक्रिया हेर्दा फिल्म हेर्न दर्शक उत्साहित देखिन्छन्।

दर्शकसँग सम्बन्धित फिल्म बनाएको छु: निर्देशक राउत

प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण युनिट फिल्मको प्रचार प्रसारमा लागिरहेको छ। फिल्मलाई आएको प्रतिक्रियाबाट निर्माण युनिट पनि खुसी देखिन्छ। पत्रकार भेटघाट कार्यक्रममा बोल्दै निर्देशक दिनेश राउतले भने, 'हामीले गर्नु पर्ने मिहिनेत गरिसकेका छौं। अब फिल्म सफल हुने वा नहुने सम्पूर्ण जिम्मेवारी दर्शकको हातमा छ।' आफूले पहिला निर्देशक गरेको फिल्मभन्दा 'प्रसाद' बिल्कुलै फरक भएकाले नयाँ अनुभव पनि भएको राउत बताउँछन्।

'प्रसाद'ले समाजको वास्तविक कथालाई पर्दामा उतारेको राउत बताउँछन्। उनी भन्छन्, 'मैले फिल्म सफल हुन्छ वा यस विषयलाई दर्शकले रुचाउँछन् भनेर फिल्म बनाएको हाेइन। यस्तो विषयलाई पनि दर्शकमाँझ प्रस्तुत गरौं न त भन्ने भएर नै यो फिल्म निर्माण गरिएको छ। यो फिल्म मैले बनाएको हो। दर्शक हलमा पक्का आउँछन् भन्ने चाहिँ सोचेको छैन।'

दिनेश आफूलाई सुरुवाती दिनदेखि नै दर्शकसँग सम्बन्धित फिल्म गर्न मन भएको तर्क राख्छन्। उनी भन्छन्, 'मलाई अडियन्ससँग रिलेटेड फिल्म गर्ने मन थियो। सुशिलजीबाट राम्रो कन्सेप्ट पाएँ। जसले सिधा दर्शकको कथा भन्छ। त्यहीँ भएर पनि प्रसाद बनाए।'

९ कक्षामा पढ्दा सोचेको विषय हो 'प्रसाद': लेखक पौडेल

लामो समयदेखि रंग पत्रकारिता गर्दै आएका सुशिल पौडेलको लेखनमा यो डेब्यु फिल्म हो। 'प्रसाद'को 'कन्सेप्ट' आफू ९ कक्षामा पढ्दै गर्दा आएको पौडेलले बताए। यस्तो विषय कसरी दिमागमा आयो उनी सम्झिन सक्दैनन्। तर दिमागमा आएपछि यस विषयमा एकदमै 'हिट' गरिरहेको उनले सुनाए। भन्छन्, 'त्यति सानो उमेरमा यस्तो कुरा दिमागमा आयो थाहा छैन। तर जव यो विषय दिमागमा आयो यसले मलाई एकदमै उकुस मुकुस परिहेको थियो।'

सुशिलले यो कन्सेप्ट कोहीसँग पनि सेयर गर्न सकेका थिएनन्। 'जव यो कुरा दिमागमा आएको थियो अरुलाई सुनाउन पनि डर लाग्थ्यो', उनी थप्छन्, 'बच्चाले किन यस्तो सोचेको भनेर गाली गर्ने हुन् कि भन्ने डरले पनि कसैलाई भन्न सकेको थिइन्।'

निर्देशक राउतलाई सुनाउदा पनि 'कन्फिडेन्ट'का साथ सुनाउन नसकेको सुशिल बताउँछन्। राउतले भने, 'निर्देशकलाई सुनाउने बेला पनि यस्तो यस्तो कन्सेप्ट छ। यसमा फिल्म बन्ला कि नबन्ला भनेर सानएको थिए। पछि उनले चासो दिएपछि यस कन्सेप्टलाई विकास गर्दै लगिएको हो।'

'प्रसाद' जस्तो फिल्म अझै गर्ने मन छ: विपिन कार्की

'प्रसाद'मा विपिन कार्की मुख्य भूमिकामा प्रस्तुत भएका छन्। फिल्मको क्यारेक्टर तथा विषयबस्तु एकदमै मन परेकाले प्रसादमा काम गरेको विपिन बताउँछन्। उनी यस फिल्ममा गाउले दलित समुदायको एक पात्रको भूमिका निर्वाह गरेका छन्। 'मैले नाटकमा दलितको भूमिका निर्वाह गरेको थिए। तर फिल्ममा गर्न पाएको थिइन्', विपिन भन्छन्, 'त्यहीँ भएर पनि यो भूमिकामा अझै काम गर्ने मन भएर प्रसादमा काम गर्ने सोच बनाएको हुँ।'

विपिन 'प्रसाद' जस्तो फिल्म अझै गर्न मन भएको बताउँछन्। 'प्रसादको जस्तो क्यारेक्टरमा मलाई अफर आए अन्य फिल्म छोडेर भए पनि यस्तो क्यारेक्टरमा काम गर्छु। यस्तो क्यारेक्टरमा अझै राम्रो काम गर्ने मन छ।' यस भूमिकामा काम गर्दा आफूलाई सन्तुष्टि मिलेको विपिनको भनाइ छ।

दशर्कले मलाई फरक भूमिकामा हेर्न चाहनुहुन्छ: नम्रता श्रेष्ठ

नायिका नम्रता श्रेष्ठ फिल्म प्रसादलाई लिएर निकै नर्भस छिन्। 'फिल्म के कस्तो हुने हो भनेर हरेक फिल्म रिलिजको समयमा म नर्भस हुन्छु', उनी भन्छिन्, 'यस फिल्मलाई लिएर पनि म निकै नर्भस छु।'

नम्रता प्रसादको केन्द्रीय पात्र हुन्। उनीमाथि नै फिल्मको सम्पूर्ण कथा घुमेको छ। उनी भन्छिन्, 'फिल्मको केन्द्रिय पात्र नै म भएकाले थप मिहिनेत गरिएको छ।' नम्रता आफू यस फिल्ममा फरक रुपमा प्रस्तुत भएको र यसलाई दर्शकले रुचाउनेमा विश्वस्त छिन्।

नम्रता आफूलाई पूरा फिल्ममा होस् भन्ने चाहना राख्दिनन्। उनी जुन भूमिकामा काम गर्छिन् त्यसले फिल्मको कथामा केही प्रभाव पारोस् भन्ने सोच उनीमा हुन्छ। 'मलाई पुरा फिल्ममा देखिनु छैन। त्यो रहर पनि मलाई छैन, उनी थप्छिन्, 'तर मेरो क्यारेक्टरले फिल्मको कथामा केही प्रभाव पारोस् भन्ने मेरो दिमागमा हुन्छ। जति सिन मैले पाउँछु। त्यसलाई न्याय गर्नु मेरो मुख्य लक्ष्य हुन्छ।'

नम्रतालाई दर्शकले लभ स्टोरी फिल्ममा रुचाइरहेका छन्। तर उनी यस कुरालाई खण्डन गर्छिन्। 'मलाई फिल्म मेकरले लभ स्टोरी फिल्ममा मन पराउनु भएको छ। तर, दर्शकले त मलाई फरक फरक भूमिकामा हेर्न खोज्नु भएको छ।'

फिल्ममा 'भिलेन' निश्चल

प्रसादमा निश्चल बस्नेत खलपात्रको भूमिकामा देखिएका छन्। पहिलाको फिल्ममा पनि उनलाई खलपात्रका रुपमा देखिएको थियो। तर, पहिलाको फिल्म भन्दा प्रसादमा धेरै मिहिनेत गरेको निश्चल बताउँछन्। 'पहिलाको फिल्ममा पनि म खाली अर्काको केटी भगाउने भूमिकामा देखिएको थिएँ। यसमा पनि त्यस्तै त्यस्तै देखिन्छ। पहिलाको फिल्ममा गरे पनि ठीक, नगरे पनि ठीक जस्तो थियो', निश्चल भन्छन्, 'तर यस फिल्ममा भने गम्भीर विषय उठाइएको छ। त्यसलाई न्याय गर्न पनि मैले निकै मिहिनेत गरेको छु।'  

पहिलाको फिल्ममा आफू नभए पनि खासै फरक नपर्ने भएको उनी बताउँछन्। तर, यस फिल्ममा निश्चल भएकै कारण द्वन्द्व सिर्जना भएको छ। उनी भन्छन्, 'मेरो पहिलाको फिल्ममा म नभए पनि केही फरक पर्ने थिएन्। तर यस फिल्ममा भने म भएर नै द्वन्द्व सिर्जना भएको छ र मेरो क्यारेक्टरले कथालाई न्याय गरेको छ।'

प्रसादमा निश्चल पूर्ण रुपमा 'नेगेटिभ' भूमिकामा प्रस्तुत छन्। यस फिल्मका लागि आफूले धेरै मिहिनेत गरेको र त्यो मिहिनेतलाई दर्शकले प्रशंसा नै गर्नेमा उनी विश्वस्त छन्।

कलाकारबीच स्वच्छ प्रतिस्पर्धा

फिल्ममा नाम चलेको तीन कलाकार मुख्य भूमिकामा प्रस्तुत छन्। फिल्ममा को हावी हुनुहुन्छ भन्ने प्रश्नमा विपिन भन्छन्, 'हामी तीन जनाले नै राम्रो काम गरेका छौं। सबैको क्यारेक्टर भिन्न-भिन्न छ। त्यसैले कोही कसैमाथि हावी छैनौं।'

फिल्ममा कलाकारबीच स्वच्छ प्रतिस्पर्धा पाएको नायिका श्रेष्ठले बताइन्। उनले भनिन्, 'हामी अर्कोले राम्रो काम गर्‍यो भनेर कहिल्यै डाहा गरिनौं। बरु उहाँको जस्तै गर्न बढी मेहन गरेका छौं।' आफ्नो 'को-एक्टर' को कामलाई राम्रो देखाउन पनि आफूले निकै मिहिनेत गरेको नम्रताको भनाइ छ।

निश्चल बस्नेत पनि उक्त कुरामा सहमत हुन्छन्। 'एउटै स्कृनमा देखिने दुई कलाकारमा एकको काम नराम्रो हुदाँ दुबैको नराम्रो देखिन्छ। त्यसैले पनि उहाँहरूको काम नबिगार्न मैले बढL मिहिनेत गरेको छु।' विपिन र नम्रताको जत्तिको प्रस्तुती दिन नसके निश्चल छायाँमा पर्ने भएकाले पनि उनीहरुको हाराहारीमा काम गर्नुपर्ने दवाब उनीमा थियो। 'नम्रता र विपिनको जत्तिको काम भएन भने म छायाँमा पर्ने ठाउँ प्रसस्त थियो। त्यसैले पनि मेहनत गरियो', उनी भन्छन्, 'जसले गर्दा पूरा फिल्मलाई राम्रो भएको छ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.