|

दाङ : मिहिनेत र जाँगर भए जस्तोसुकै  ठाउँमा पनि काम  गरे  लाखौँ कमाउन सकिन्छ। तर, हिजोआज नेपाली युवा बेरोजगारी भयौँ भन्दै विदेश जाने बढी नै छ। तर, दाङको तुलसीपुर २ कुमलगढीको थारू गाउँमा स्थानीयहरूले व्‍यावसायिक तरकारी खेती गरी वार्षिक करोडौँको आम्दानी गर्दै आएका छन्।

उक्त गाउँमा जम्मा ९५ घरपरिवार छन्। तीमध्ये ४० घरपरिवार करिब २२ बिघा जमिनमा व्‍यावसायिक तरकारी खेती गर्दै आएका छन् तरकारी खेतीबाट वार्षिक डेढ करोड बराबरको आम्दानी हुने गरेको उनीहरू बताउँछन्। उक्त गाउँमा पहिलोपटक  २०५४ सालदेखि २ कठ्ठा जमिन  स्थानीय जंगबहादुर चौधरीले  व्यावसायिक तरकारी खेती सुरु गरेका थिए। हाल  चौधरीले २२ कठ्ठा जमिनमा तरकारी खेती गर्दै आएका छन्।

चौधरीको मिहिनेत र सफलता देखेर आज पूरै कुमलगढी गाउँभरी तरकारी खेती हुने गरेको पार्वती चौधरीले बताइन्।   जंगबहादुरले वार्षिक ६/७ लाखको आम्दानी गर्ने गरेको बताए। उनी त एउटा उदाहरण मात्रै हुन्। कुमलगढी गाउँमा अन्य किसानले पनि यसैगरी तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै आएको छन्। चौधरीले जिल्ला विकास समिति र स्थानीय विकास ट्रष्ट कोषले प्रदान गरेको एकमहिने तरकारी खेतीसम्‍बन्धी तालिम लिएर तरकारी व्‍यवसाय सुरु गरेको बताए। उनी तालिममा सिकेका कुराहरूलाई व्यवहारमा उतार्दै जाँदा यहाँसम्म आइपुगेको बताए। गत असारमा तुलसीपुर उपमहानगरपालिकाबाट पुरस्कृत र सम्मानित कृषक मध्येका एक चौधरी पनि हुन्।

तर, उक्त ठाउँमा सिँचाइ सुविधाका लागि राज्यले सहयोग नगरेको उनले बताए।  पानीको अभाव भएपछि चौधरीले वर्षायामको पानी भण्डारण गर्नका लागि दुई कठ्ठा क्षेत्रफलमा पानी पोखरी निर्माण गरेका छन्। त्यसमा माछापालन पनि गरेका छन्, जसबाट वार्षिक ५० हजारसम्म आम्दानी गर्दै आएको चौधरीले बताए। यहाँ सिँचाइको निकै समस्या छ, कुवाको पानी मोटरले तानेर तरकारी खेती गर्दा बढी खर्च हुने उनले बताए।  सिँचाइ सुविधा नहुँदा वर्षैपिच्छे मोटर, पाइप किन्नुपर्छ, त्यसले अनावश्यक खर्च हुने पार्वतीले बताइन्।

तरकारी खेती गर्नकै लागि गाउँका सबैले हरेक घरमा २/२ वटा इनार बनाएको पार्वतीले बताइन्। ‘एउटामा पानी सुके अर्को प्रयोग गर्छौं’ चौधरीले भनिन्। तर नजिकमा बजारको उचित व्यवस्थापन र चिस्यान केन्द्र नहुँदा आफूहरूलाई समस्या भएको उनले बताइन्। ९५ घर परिवार रहेको कुमलगढी गाउँमा ४५ जनाले निर्वाहमुखी तरकारी खेती गर्ने गरेको भए पनि त्यो विस्तारै व्यवसायउन्मुख बन्दै गएको स्थानीय जयराम चौधरीले बताए।  तरकारी किन्न घरमै आउनेहरूले सस्तोमा लैजान खोज्छन्, यहाँबाट  तुलसीपुर बजार जान ८ किलोमिटर टाढा पर्छ, चौधरीले भने, ‘हाम्रो आफ्नै साधन छैन हिँडेर जाँदा गाह्रो हुन्छ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.