|

जनकपुरधाम : जनकपुरधामस्थित जानकी मन्दिरमा मंसिर २६ गते आयोजना हुने राम जानकी विवाह महोत्सवको तयारीबारे प्रदेश सरकारले अनुगमन गरेको छ। विवाह महोत्सवका लागि मन्दिर सजावट, निर्माणाधीन अवस्थामा रहेको मन्दिर पुग्ने बाटो, महोत्सवमा सहभागी हुन भारतको अयोध्याबाट आउने जन्तीको स्वागतको तयारी, राम जानकीको डोलाको स्वयंबर हुने रंगभूमि मैदान बाह्र बिघाको अवस्थाबारे प्रदेश सरकारले अनुगमन गरेको छ।  

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, भौतिक पूर्वाधार विकास मन्त्री जीतेन्द्र सोनल र प्रदेश सांसदहरूले संयुक्त रुपमा विवाह महोत्वसको तयारीबारे अनुगमन गरेको हो। मंसिर २६ गते हुने विवाह महोत्सवमा भारतको अयोध्याबाट उतर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जन्तीको नेतृत्व गरी जनकपुरधाम आउने भएपछि प्रदेश सरकार तयारीमा जुटेको छ। 

मुख्यमन्त्री लालबाबु राउतले विवाह महोत्सवमा सहभागी हुने अतिथिको स्वागत भव्य बनाउन प्रदेश सरकारबाट ५० लाख रुपैयाँ उपलब्ध गराएको छ। जन्तीको स्वागत र बिदाइ आफैँले गर्ने तयारी गरेको मुख्यमन्त्री राउत सरकारका मन्त्री र कर्मचारीसहित मन्दिर र ऐतिहासिक बाह्रविघा रंगभूमि मैदानमा महोत्सवको तयारी बारे जानकारी लिएका हुन्। 

मुख्यमन्त्री राउतले रामजानकी विवाह महोत्सव समितिसँग तयारी र व्यवस्थित बनाउन समन्वयका लागि शनिबार छलफल गरेको प्रदेश २ को निमित प्रमुख सचिव पुष्कर सापकोटाले बताए। राउत र समितिबीच सरसफाइ, महोत्सव तयारी र सुरक्षा अवस्थाबारे छलफल भएको सापकोटाले बताए। प्रदेश सरकारको तर्फबाट मुख्यमन्त्री राउतले विवाह महोत्समा सहभागी हुन भारतको अयोध्याबाट आउने जन्ती, साधुका लागि मंसिर २६ गते भण्डार आयोजन गर्ने छ।

प्रदेश सरकारको मन्त्रलायहरू रहेको मधेस भवन परिसरमा एकहजार ५०० जनाका लागि राउतले भण्डारा आयोजना गर्ने तयारी भइरहेको सापकोटाले बताए।  
विवाह पञ्चमी महोत्सवमा भारतको अयोध्याबाट जन्ती बनेर आउने उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ समेत भण्डारमा सहभागी हुने जनाइएको छ। जन्ती बनेर योगी आउने भएपछि यस वर्षको विवाह पञ्चमी विशेष बनेको जानकी मन्दिरको सह–महन्त रामरोशन दास बताउछन्। योगी आउने भएपछि विवाह पञ्चमीको आकर्षक थप बढेको छ। 

महोत्सवमा सहभागी हुनका लागि नेपाल र भारतका लाखौं श्रद्धालुहरू जनकपुर आउने पाहुनाको बसाई व्यवस्थित गर्न जानकी मन्दिरको प्रांगणमा टेन्ट लगाउने, जनकपुर नगर क्षेत्रभित्र रहेका धर्मशाला, मठ मन्दिर र सार्वजनिक स्थलहरूमा बास र खानाको व्यवस्थापन गर्न जानकी मन्दिर तयारीमा जुटेको जानकी मन्दिरका सह महन्त दास बताउँछन्। विवाह महोत्सवमा जानकी मन्दिर सजावट, अयोध्याबाट आउने जन्ती तथा साधुहरूको स्वागत, बस्ने व्यवस्था र खानको तयारी भइरहेको उनले भने।

 

त्रेता युगमा मिथिलाका राजा राजर्षी जनकले छोरी सीताको विवाहका लागि स्वयंवरको आयोजना गरेका थिए। सोअी परम्पराअनुसार सात दिनसम्म विभिन्न विधि सम्पन्न गरी वैवाहिक कार्यक्रमको आयोजना हुने सातै दिनलाई रोचक र भव्य बनाउने तयारी भइरहेको छ। यसवर्ष मंसिर २१ गतेबाट विवाह पञ्चमी महोत्सवको कार्यक्रम सुरु हुँदैछ।

महोत्सवको पहिलो दिन जनकपुर नगर दर्शन, दोस्रो दिन फुलबारी लीला, तेस्रो दिन धनुष यज्ञ, चौथो दिन तिलकोत्सव, पाँचौँ दिन मटकोर र छैठो दिन मंसिर २६ गते रामसीता स्वयंवर तथा विवाह कार्यक्रम हुन्छ। महोत्सवको अन्तिम दिन राम कलेवा गरी जन्तीको विदाई गर्ने कार्यक्रम तय गरिएको सह-महन्त दासले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.