|

काठमाडौं : नेपाली कविता र गीतको क्षेत्रका स्थापित नाम हो- दिनेश अधिकारी। ३३ वर्षको सरकारी सेवाबाट निवृत्त भइसकेका छन् उनी। अहिले उनी घरको दैनिकीमा व्यस्त छन्। तीनवटा गीतसंग्रह बजारमा ल्याइसकेका छन् उनले। अहिले उनको नयाँ गीतसंग्रह 'म बिर्सूं कसोरी' सार्वजनिक हुँदै छ। यसमा उनले आफ्ना नयाँ तथा पुराना श्रोताको रोजाइमा रहेका अब्बल गीतहरू समावेश गरेको बताउँछन्।

नेपाली साहित्यको विकासमा २०३० को दशकदेखि अनवरत रूपमा सेवा पुर्‍याउँदै आएका कवि गीतकार अधिकारीले प्रशस्त मान सम्मान, पुरस्कार र पदवी पाएका छन्।  उनको 'अतिरिक्त अभिलेख' कवितासंग्रहले २०५६ सालको मदन पुरस्कारसमेत प्राप्त गरेको थियो। उनले रत्नश्री स्वर्ण पदक २०३८, सर्वश्रेष्ठ गीतकार २०४०, युगकवि सिद्धिचरण श्रेष्ठ पुरस्कार २०४५, राष्ट्रिय प्रतिभा पुरस्कार २०५६ लगायतका विशिष्ट पुरस्कार प्राप्त गरिसकेका छन्।

एउटा लेखकले पुरस्कार पाउनु गौरवको कुरा भए पनि पुरस्कार प्राप्त गर्नु नितान्त पैसासँग जोडिएको विषय मात्र होइन भन्ने उनको धारणा छ। उनी भन्छन्, 'राम्रा कवि लेखकहरूसँग प्रतिस्पर्धा गर्ने अवसर हो। आफूलाई निखार्ने माध्यम पनि हो। ठूलो जमातमा आफ्नो कला देखाउनु पनि हो।' प्रतियोगितामा भाग लिएर पैसा आर्जन गर्न मात्र कसैले भाग नलिने उनले बताए। सामाजिक स्वीकृतिको ठूलो रूपमध्ये पुरस्कार पनि एक हो भन्ने उनको बुझाइ छ। विश्वविद्यालयले कुनै कविता समावेश गर्नु सामाजिक स्वीकारको अर्को रूप हो। विद्यार्थीहरूले कुनै रचनामाथि शोधपत्र लेख्नु पनि अरू सामाजिक स्वीकृतिका स्वरूपहरू हुन्। यस कारण लेखकले पुरस्कार पाउनु लेखकका लागि लेखनमा प्रोत्साहित गर्ने तत्त्व हो। यसबाट लेखक स्वयंले आफूले गरेको सिर्जना कर्म निरर्थक नभएको बुझ्छ।' तर पुरस्कार पाउनकै निम्ति लेखियो भने पुरस्कार पाए पनि लेखकीय महत्त्व शून्य हुने उनको बुझाइ छ।

करिव ४५ वर्ष नेपाली कविता र गीत क्षेत्रमा बिताएका उनले आफूले लेखेका गीत र कविताहरू पाठक/श्रोताहरूले मनपराए पनि आफू स्थापित लेखक बनेँ कि बनिनँ भन्ने कुरा सोच्न भ्याएका छैनन्। नेपालको शिक्षाको स्तर हेर्दा र साहित्य मनपराउने पाठकहरूको संख्या हेर्दा आफू स्थापित स्रष्टा हुँ भन्ने नलागेको उनी बताउँछन्। आफ्ना रचना यदि मनपराएका छन् भने आफू स्थापित कवि, गीतकार हुँ कि भन्ने लाग्ने उनले बताए। तर अझै पनि आफू पूर्णकालीन लेखक नभएको उनको धारणा छ।

धेरै संख्यामा लेख्दैमा कोही स्थापित लेखक नहुने उनले स्पष्ट पारे। थोरै लेखेर पनि त्यसले पारेको प्रभाव महत्त्वपूर्ण रहेको बताउँछन् उनी। उनका लागि लेखन, अभिव्यक्ति, वितरण, व्यवस्थापन, पाठकले पढ्न पाउने सहजता महत्त्वपूर्ण हो भन्ने लाग्छ। प्रभावकारी प्रस्तुति र मानवीय संवेदना कुनै लेखकले समातेको छ भने ऊ लेखक रहेको उनी बताउँछन्। धेरै लेख्नु अवगुण हो भन्ने पनि उनलाई लाग्दैन। एउटा लेखकले किन धेरै लेख्छ भन्ने महत्त्वपूर्ण प्रश्न पनि छ। उनका लागि कविता र गीत लेखन पेसा व्यवसाय होइन, मनका पखेटा हुन्। गीत र कविता नलेखिरहन नसक्ने उनी बताउँछन्। उनी भन्छन्, 'पीर पर्दा पनि म नलेखिरहन सक्दिनँ। खुसी हुँदा पनि म नलेखिरहन सक्दिनँ। आक्रोशित हुँदा पनि नलेखिरहन सक्दिनँ।' उनका 'अन्तरका छिटाहरू', 'भरियाको भूगोल', 'धर्तीको गीत', 'आदिम आवाज', 'अतिरिक्त अभिलेख', 'सीमान्त सपना', नेपालीबाट हिन्दी भाषामा अनुदित कवितासंग्रह 'संवेदना के स्वर'लगायतका कविताकृतिहरू प्रकाशित छन्।

युवाकालमा चलेको लेखनको लहड अहिले उनका लागि आदत भइसकेको छ। लेख्दै जाँदा संख्या बढ्दै जान्छ। कुनै पनि रचना सिर्जना गरिसकेपछि रचना सार्वजनिक गर्नु यसको गुण हो। उनी भन्छन्, 'मैले व्यक्तिगत रूपमा लेख्छु तर मेरो व्यक्तिगत भनेर कोठाको भित्तामा राख्न सक्दिनँ। सार्वजनिक भएपछि उमेर सँगसँगै कृतिको संख्या पनि बढ्दै जान्छ।'

कोही पूर्णकालीन लेखकहरू पनि छन् भने कोही कहिलेकाहीँ लेख्ने लेखकहरू पनि छन्। उनका लागि संख्या सबैथोक होइन। सुरुवातमा रहरले लेखे उनले कविता। विस्तारै विद्यालयमा हुने प्रतियोगितामा प्रथम हुन लेखे। कहिले छाप्नका लागि कविता लेखे। मान्छेले रुचाउँदै जाँदा आफूमा लेखनप्रति एक प्रकारको आत्मबल पनि बढ्दै गएको उनको अनुभव छ।

अलिक पारिवारिक पृष्ठभूमि, अलिअलि आफ्नो रुचि, अलिअलि साथीहरूको दबाब र पाठकहरूको मायाले गर्दा नै कविता र गीत लेखनमा हात हालेको बताउँछन् उनी। आफूले लेख्ने साहित्यमा समाज हुन जरुरी रहेको उनको धारणा छ। समाजमा व्याप्त स‌ंगति, विसंगति, शोषण, दमन, अन्यायलाई लेखनको माध्यमबाट बाहिर ल्याउन जरुरी देख्छन् उनी। तर साहित्य मात्रले समाज रूपान्तरण गर्दैन, यद्यपि, समाज रूपान्तरणका धेरै अस्त्रमध्येको एक साहित्य पनि रहेको उनको बुझाइ छ। साहित्य बन्दुक होइन भन्छन् उनी। २०३६ सालको सडक कविता क्रान्तिको अभियानकर्तामध्येका एक उनी साहित्य र सर्जकले विवेकपूर्ण रूपमा समाज रूपान्तरणका लागि ठूलो जमात तयार पार्न सक्ने खुबी रहेको बताउँछन्।

लेखक आफैँ पनि आफूले लेखेको कुरा अरूले ग्रहण गरिदियोस् भन्ने चाहन्छ। समग्रमा भन्नुपर्दा एउटा लेखक सामाजिक स्वीकृति चाहन्छ। यसका लागि पाठकले बुझ्ने गरेर रचना गर्न  जरुरी छ भन्ने उनको मत छ। 'एउटा लेखकले सामाजिक स्वीकृतिका लागि सिर्जना गर्छ। नत्र भने उसले प्रकाशित गर्नुको कुनै ‌ओचित्य छैन', उनी भन्छन्।

दोस्रो गुण भनेको लेखक आफ्नो लेखनीमा इमान्दार हुनुपर्ने अधिकारी बताउँछन्। पेसामा सम्झौता हुन सक्छ। सम्झौताको साहित्य लेखनले सायद जिम्मेवार लेखक हुन सक्दैन। पाठकहरू लेखक भन्दा जहिल्यै बौद्धिक हुन्छन् भन्ने मान्यता राख्छन् उनी। उनी भन्छन्, 'पाठकहरू हिजो पनि सचेत थिए, आज पनि सचेत छन्। यस कारण पाठकलाई झुक्याउनु जिम्मेवार लेखकको परिचय हुन सक्दैन। '

एउटा लेखक जिम्मेवार कतिखेर बन्छ? भन्ने प्रश्नमा उनी भन्छन्, 'जब कुनै लेखकले रचना प्रकाशन गर्दा अनुभूति, प्रस्तुति, लेखनीलाई पढ्ने पाठकले आफ्नै भोगाइ र रोजाइ भनेर स्वीकार गर्छन्। उनीहरूको जीवनमा सकारात्मक प्रभाव पार्‍यो भने त्यसपछि मात्र पाठकहरूको अपेक्षा बढ्दै जान्छ। तब मात्र लेखक जिम्मेवार बन्छ।' लेखकले सामाजिक दायित्वबोधका साथ कुनै लेख सार्वजनिक गर्छ भने त्यो जिम्मेवार लेखक हो र जिम्मेवार लेखक बन्न युगचेत हुन जरुरी रहेको उनको भनाइ छ। 

गीत र कवितामा लगाव 

उनलाई गीत र कविता जस्तै कथा र आख्यान पनि लेखौँ भन्ने नलागेको होइन। उनले केही छिटफुट कथा पनि लेखेका छन् तर उनको मन कविता र गीतमा ढल्कियो। उनी गीत र कवितालाई एउटै रूप मान्छन् तथापि यिनका केही चरित्र भने फरक छन्। लेख्ने भनेको आफूलाई अभिव्यक्त गर्ने हो। अभिव्यक्त गर्न मान्‍छेले सबैभन्दा पहिले प्रभावकारी माध्यम खोज्छ। अरू विधाबाट आफूले अभिव्यक्त गर्न सक्छु भन्ने नै नलाग्ने भएकाले आफूले यसतर्फ जोखिम नमोलेको उनी सुनाउँछन्। एउटा लेखकलाई आफू केमा अलिक बढी पोख्त छु? कसरी सहजै अभिव्यक्त गर्न सक्छु भन्ने ज्ञान हुन जरुरी रहेको उनी बताउँछन्। सोचेका कुरा, अनुभूत गरेका कुरा लेख्न आफूलाई गीत र कवितामा नै प्रभावकारी लागेर यता ढल्किएको उनी स्वीकार्छन्।

उनी भन्छन्, 'असाधारण प्रतिभा भएका लेखकहरूले सबै विधामा हात हाल्नु स्वाभाविक पनि होला तर म जस्तो साधारण मान्छेले सबै विधामा हात हाल्नु भनेको दुर्घटना निम्त्याउनु हो, जुन म चाहन्नँ। '

धेरै विधामा लेख्न आफू पूर्णकालीन लेखक नभएको तर्क पेस गर्छन् उनी। उनमा घर सम्हाल्नुपर्ने जिम्मेवारी पनि छ। तत्कालीन अवस्थामा उनी जागिरे पनि थिए। अनुभूत भएका कुरा स्वाट्ट लेख्न खोज्दा कविता र गीतमा नै आफूलाई सहज महसुस गरेको उनले बताए। अभ्यास गर्दै जाँदा उनलाई कविता र गीतमा नै लत बस्यो। मान्छेहरूले उनलाई यही विधामा रुचाउन थालेकाले पनि उनले अरू विधामा हात नहालेको बताए।

उनको कविता र गीतको स्रोत नेपालको राजनीति, समाज र इतिहास हुन्। इतिहास जहिले पनि केही विशिष्ट प्रतिभाको योगदानको कारणबाट लेखिने उनको बुझाइ छ। सुरुवातमा जमात ठूलो हुन्छ। एउटा संस्थामा सय जना मान्छे छन् भने संस्था हाक्ने व्यक्ति जम्माजम्मी दश जना मात्र हुन्छन् भन्छन् उनी। 'कविताको क्षेत्र पनि त्यस्तै हो', अधिकारी भन्छन्।उनको समयमा सयौँको संख्यामा कविहरू थिए तर अहिले सबै यस क्षेत्रमा छैनन्। कतिपय उनका  साथीहरू विस्तारै विस्तारै हराउँदै गए। उनी भन्छन्, 'साहित्यमा लाग्नु भनेको बिउ छर्नु जस्तै हो। सबै बिउ उम्रिन्छ भन्ने हुँदैन। उम्रिएका सबै बिरुवा बाँच्छन् भन्ने पनि हुँदैन। बाँचेका सबै बिरूवाले असल फल दिन्छन् भन्ने पनि हुँदैन। यी सबै कुरा पार लगाएर मात्र मान्छेले इतिहास बनाउँछ।'

अहिलेको नेपाली कविता पनि ठूलो जमातका बीच रहेको उनी बताउँछन्। सबै कविका उत्कृष्ट कविता छन् भन्ने लाग्दैन उनलाई। गर्व गरेर अहिलेको अनुज पुस्ताले कवितामा ठूलो योगदान दिएको उनले भन्न छुटाएनन्। उनी सन्तुष्टिको आवाजमा भन्छन्, 'लोकप्रियता र स्तरीयताको हिसाबले अहिलेको पुस्ताको लेखनबाट मलाई गर्व महसुस हुने गरेको छ।'

जागिरले दिएको उपहार

वि.सं. २०३८ बाट सरकारी सेवामा लागेका उनी वि.सं. २०७१ मा निवृत्त भएका हुन्। जागिरे जिन्दगीको समयमा रहिरहँदा दिमागभर जागिर हुन्थ्यो। जिम्मेवारी महत्त्वपूर्ण थियो। उनीसँग रातभर काम गरेको अनुभव थियो। पदभन्दा पनि जिम्मेवारी ठूलो कुरा थियो उनका लागि। गर्नुपर्ने कामको चिन्ता हुन्थ्यो। आकस्मिक कामले दिन नै लथालिंग बनाउँथ्यो। सेवा निवृत्त भइसकेपछि त्यो अवस्था छैन उनलाई। पहिले साहित्यिक गतिविधिमा सरिक हुन पाउँदैनथे उनी। आँगनमा फुलेको फूलले आकर्षित गर्दा पनि परबाटै भाग्नुपर्ने अवस्था थियो। अब गोडमेल गर्न पाउने भएका छन्। पहिलेको जीवन जागिरे थियो। अब जागिरे जिन्दगी सकिएको छ। उनले पहिलो कविता कृति 'अन्तर छिटा'लगायत पाँच कृतिबाहेक सबै कृतिहरू आफ्नो जागिरे जीवनमा लेखेका बताए।

सरकारी सेवामा छँदा कविता लेख्दा राजकाज मुद्दा पनि लाग्यो वि. सं.२०३८ मा उनलाई। जागिरमा केही कठिनाइहरू राजनीतिक कारणले भएको समझिन्छन् उनी। आज फर्केर विगत हेर्दा उनले जागिर बाटोमा भेटेका थिए। बाटोमा नै छोडी आएजस्तो लाग्छ। जागिर खानुअघि पनि उनको जीवन थियो। निवृत्त भएपछि पनि उनको जीवन छ। ३३ वर्ष सरकारी सेवामा बस्दा जागिर उनका लागि घर थियो। जागिरले उनलाई अनुभव दियो। जागिरलाई उनले प्रेम गर्थे। अहिले उनी सम्मान गर्छन्। जागिरले उनको लेखनमा असर पार्‍यो भन्ने मनस्थितिमा छैनन् उनी। कहिलेकाहीँ कठिनाइ भने दियो। यद्यपि, कठिनाइ भन्दा धरै जागिरले आफूलाई लेखनमा सहयोग गरेको बताउँछन् उनी।

'मलाई जागिरले विभिन्न भूगोल पुग्ने अवसर दियो। अनुभव आर्जन गर्ने अवसर दियो। त्यहाँको जनजीवन मैले देखेँ। देश हेर्न दियो। विदेश हेर्न दियो। समाज देख्न दियो। संस्कृति देख्न दियो। मान्छेको पीडासँग परिचित हुन दियो। अँध्यारा परिवेश हेर्न पाएँ। उज्याला सपना देख्न पाइयो', उनी जागिरप्रति सम्मान प्रकट गर्दै भन्छन्, 'यिनै देखेको र अनुभव भएका कुरा कविता र गीतको माध्यममा लेख्ने अवसर मलाई जागिरले दियो। मेरा धेरै गीत र कविता कृति जागिरका उपज हुन्।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.