|

काठमाडौं : मदन पुरस्कार विजेता कवि गोपाल पराजुली अंग्रेजी काविता संग्रह ‘लेटर अफ अ जेलबर्ड’ लिएर आएका छन्। उनको कविता संग्रह सोमबार काठमाडौंमा लोकार्पण गरिएको छ।

बलराम अधिकारी र मुक्ति घिमिरेद्वारा नेपालीबाट अंग्रेजीमा अनूदित उक्त संग्रहलाई एक समारोहकाबीच पूर्ववन तथा भूसंरक्षणमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य भानुभक्त जोशी, संविधानसभा सदस्य पुरुषोत्तम बस्नेत तथा परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकालले संयुक्त रूपमा सार्वजनिक गरे। कविता मार्पत पराजुलीले आतंक र गरिबीमुक्त शान्त संसारको चाहना राखेको बताइएको छ। कवितामा मानवीय संवेदनाका सबै सरोकारलाई बचाउन प्रयास गर्ने उत्तर–उत्तरआधुनिक प्रयोग गरिएका पराजुलीका अन्तरविषयात्मक प्रस्तुति रहेको छ। कवितामार्फत पराजुलीले विश्वलाई फेरि एकचोटि आफ्नो विचारमा कसरी बदल्न सकिन्छ भन्ने तर्फ लेखकीय सोच केन्द्रित गरेको छन्। जेलमा नगए पनि जेलबाहिरै आतंकभित्र र जेलभित्रको संसारमा परिरहेको अनुभूत गर्ने यस काव्यका पात्रले आफूलाई चेतनाको बन्दीको रूपमा लिएको र तिनले त्यसबाट मुक्त हुन गरिरहेको प्रयास र सङ्घर्षको कथासँग काव्य उभिएको साहित्यकार तथा त्रिवि केन्द्रीय विभागका प्राध्यापक महेश पौड्यालले बताए।

समालोचकसमेत रहेका पौड्यालले पराजुलीको काव्यमा शान्तिप्रतिको प्रतिबद्धता तथा सधैँ प्रयोगशीलतालाई अँगालेर हिँड्ने उनको मौलिक शैली पुनः मुखरित भएको टिप्प्णी गरे। कृष्णप्रसाद ढकालले पराजुली आफैँ शान्ति र शालीनताका प्रतीक भएको बताउँदै उनको काव्य विशिष्ट स्तरको भएको टिप्पणी गरे। अनुवादक बलराम अधिकारीले कविता संग्रहको अनुवाद कार्यमा आफूले पीडा र आनन्द दुवै महसुस गरेको बताए।

आफ्नो लेखकीय मन्तव्यमा पराजुलीले मानवीय सुरक्षा विश्वका सबै मुलुक र मान्छे एक अर्काको नजिक नआई सम्भव छैन भन्ने विचार अगाडि ल्याउने ध्येयका साथ यस कविता संग्रहको रचना गरेको बताए।

कविता संग्रहको प्रविधि सम्पादन महेश पौड्याल र ह्यारी भण्डारीले गरेका हुन्। यो पराजुलीको नवौँ कविता संग्रह हो र अंग्रेजीमा दोस्रो अनूदित पुस्तक हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.