|

कास्की : नेपाल वायुसेवा निगमको वाइड बडी विमान खरिद प्रकरणबारे संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले गृहजिल्ला कास्कीको पोखरा पुगेर पनि स्पष्टिकरण दिएका छन्।

‘छानविन नटुंगिएसम्म यसै हो भन्न सकिँदैन’, मन्त्री अधिकारीले भने, ‘जहाज खरिदसम्बन्धी सबै प्रक्रिया यो सरकार गठन हुनुअघि नै भएको हो। संघीय संसदका विभिन्न समितिले छानबिन गरिरहेको छ। अख्तियारले पनि गर्ला। गल्ती भेटियो भने क्षतिपूर्ती भराएर कारबाही गरिन्छ।’

मन्त्री अधिकारीले विमान खरिद भने कम्पनीबाट नभई व्यक्तिबाट भएको खुलासा गरे। उनले भने, ‘म यतिमात्र भन्न सक्छु, खरिद गरेको प्रक्रिया जुन छ, त्यो कम्पनीबाट सिधै खरिद गरिएको छैन, बिक्रेताबाट खरिद गरिएको छ।‘ उनले थपे, ‘यस पक्रियामा कहाँ त्रुटि भएको छ छाननविनले देखाउला।‘

मन्त्री अधिकारीले विमान खरिदबारे हल्ला भएजस्तो भाडामा ल्याएको नभई किनेरै ल्याइएको दाबी गरे। ‘यो विमान भाडामा ल्याइएको होइन’, उनले भने, ‘सरकारले २५ करोड भन्सार तिरेको छ, अन्तर्राष्ट्रिय उडान भरेको छ, कसैले मेरो हो भनेर दाबी गरेको छैन, त्यसकारण यो भाडामा ल्याएको विमान होइन भन्ने मेरो ठम्याई छ।’

विमान खरिद प्रकरणमा दोषी ठहरिने जोकोहीलाई पनि कारबाहीको दायरामा ल्याउने उनको भनाइ थियो । ‘यस विषयमा सार्वजनिक लेखा समितिलगायत विभिन्न समितिले छानविन गरिरहेको छ, छानविनका क्रममा दोषी देखिए जो कोही पनि उम्कन पाउँदैन, कारवाहीको दायरामा आउँछन्।’

मन्त्री अधिकारीले सोमबार पोखरामा पत्रकार सम्मेलन गरी अधिकारीले यस्तो प्रष्टिकरण दिएका हुन्। उनले आफ्नो निर्वाचन क्षेत्र कास्की निर्वाचन क्षेत्र नम्बर २ को स्थानीय विकास पूर्वाधार साझेदारी कार्यक्रमका योजना र विनियोजित चार करोड रुपैयाँ रकम बाँडफाँडको बारेमा जानकारी दिन पत्रकार सम्मेलन आयोजना गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.