|

सुनसरी : नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले पूर्वको खस्कँदो क्रिकेटको अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन्। मंगलबार बिहान इटहरीस्थित क्षेत्रीय रंगशाला परिसरमा निर्माण भइरहेको इनडोर क्रिकेट ट्रेनिङ हलको निरीक्षण गर्दै खड्काले राष्ट्रिय  टिममा दबदबा कायम राख्न सफल पूर्वको क्रिकेट अहिले खस्कँनु दुखत भएको बताए।

आफूले क्रिकेट खेल्न सुरु गर्दा पूर्वको क्रिकेट अन्य क्षेत्रको तुलनामा निकै स्तरीय रहेको उनको भनाइ छ। तर पछिल्लो समय राष्ट्रिय  टिममा पूर्वका खेलाडीले स्थान बनाउन नसक्नु लाज मर्दो भएको उनले बताए। उनले भने, 'कुनै बेला राष्ट्रिय टिममा आधा दर्जनभन्दा बढी खेलाडी छनाेटमा पर्थे। पछिल्लो समय त्यो स्तर कायम हुन नसक्नु बिडम्बना हो। सन् २००९ देखि नेपाली राष्ट्रिय टोलीमा कप्तानीको भूमिकामा निर्वाह गरिरहेका खड्काले पूर्वमा क्रिकेटको स्तरमाथि उकास्नुको बिकल्प नभएको बताए। केन्द्रमा भइरहेको खिचातानीले पनि समग्र क्रिकेटमा प्रभाव पारेको उनले औल्याए।

क्रिकेटका अगुवा तथा क्रिकेट विकास समितिका पदाधिकारीहरू बीचको आपसी खिचातानी र व्यक्तिव टकरावका कारण क्रिकेट खेल सुस्ताएको उनले दाबी गरे। त्यस्ता व्यक्तिलाई बहिष्कार नगरी नेपाली क्रिकेटले फड्को नमार्ने पनि उनले स्पष्ट पारे। क्रिकेटको उर्वर भूमिका रूपमा चिनिँदै आएको पूर्वमा केही वर्षयता क्रिकेटका लागि राष्ट्रिय स्तरको प्रतियोगिता नहुँदा क्रिकेटको गतिविधि केही सुस्त हुँदै आएको उनको बुझाइ छ। तर पछिल्लो समय सातौँ  राष्ट्रिय खेलकुद सम्पन्न भएयता सुनसरीमा राष्ट्रिय स्तरको प्रतियोगिता हुन थालेकाले खेलाडी उत्पादन सहयोग पुग्ने खड्काले बताए।

खड्कासँगै टोलीमा रहेको पोखरा प्रिमियर लिगका प्रमुख आयोजक छुम्मि लामा, बिराटनगर किग्सका टिम मालिक पारस लुनिया, क्रिकेटका राष्ट्रिय प्रशिक्षक प्रदिपराज पाण्डे, सुनसरी जिल्ला क्रिकेट संघका अध्यक्ष सीपी पौडेल, इटहरी क्रिकेट एकेडेमीका अध्यक्ष कैलाश बिष्ट लगायतको टोलीले इटहरीस्थित डिभिएम स्कूलमा रहेको क्रिकेट ग्राउण्डको पनि निरीक्षण गरेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.