नीतिगत तहमा कमजोर उपस्थिति

|

काठमाडौं : नेपाली सञ्चारमाध्यममा कार्यरत श्रमजिवि पत्रकारमध्ये पत्रकार महिलाको संख्या २५.३ प्रतिशत मात्र रहेको एक अध्ययनले देखाएको छ। पत्रकार महिलाको संस्था सञ्चारिका समूहले देशभरका ९ सय ७ सञ्चारगृहमा गरेको अध्ययनमा महिलाको संख्या १ हजार ९ सय ३९  र पूरुषको संख्या ५ हजार ७ सय ११ जना रहेको पाइयो। 

अध्ययनपछि ५ सय ३१ छापा सञ्चारगृह, ३ सय ६ रेडियो, ३१ टेलिभिजन र ३९ अनलाइनमा २० देखि ३० वर्ष उमेर समूहका महिला सबैभन्दा बढी सक्रिय रहेको पाइएको सञ्चारिका समूहले जानकारी दियो। 

सर्वेक्षणमा सहभागी कूल १ हजार १ सय ४३ पत्रकार महिलामध्ये २३ दशमलव ६ प्रतिशत काठमाडौं उपत्यकामा र ७६ दशमलव ४ प्रतिशत उपत्यका बाहिर कार्यरत छन्। अध्ययन अनुसार ६२.१ प्रतिशत रेडियोमा, २२.६ प्रतिशत छापामा, १०.७ प्रतिशत टेलिभिजनमा र ७ प्रतिशत अनलाइनमा पत्रकार महिला कार्यरत छन्।

अनुसन्धानमा सहभागी ४१.८ प्रतिशत पत्रकार महिलाले स्नातक तह सम्मको अध्ययन गरेका छन्। २१.९ प्रतिशतले पत्रकारिता अध्ययन गरेका छन्। अध्ययनले पत्रकारिताका माथिल्ला पदहरुमा पत्रकार महिलाको उपस्थिती चिन्ताजनक देखाएको छ। वरिष्ठ र कार्यकारी पदमा पुग्ने पत्रकार महिलाको संख्या औलामा गन्न सकिने मात्र छ। वरिष्ठ संवाददाता/ब्यूरो प्रमुखमा २.९ प्रतिशत, सम्पादकमा ८.१ प्रतिशत र प्रकाशक/व्यवस्थापकका रुपमा २.७ प्रतिशत महिला कार्यरत छन्। सबैभन्दा बढी ४१.५ प्रतिशत पत्रकार महिला समाचार वा कार्यक्रम प्रस्तोताका रुपमा कार्यरत छन्। यस्तै, २९.३ प्रतिशत पत्रकार महिला संवाददाता/उपसम्पादक पदमा काम गर्छन्।

४६.५ प्रतिशत पत्रकार महिला मिश्रित बिटमा काम गर्छन्। पत्रकार महिलाले टिभी र रेडियोमा समाचार वाचनदेखि रिपोर्टिङसम्मको जिम्मेवारी निभाएका छन्। थोरै पत्रकार महिलाले मात्र राजनीति, अर्थ, अन्तर्राष्ट्रियलगायतका बिटमा काम गर्ने अवसर पाएका छन्। राजनीति र समसामयिक बिटमा ३ प्रतिशत, अर्थ र वाणिज्यमा २.५ प्रतिशत र अन्तर्राष्ट्रिय तथा परराष्ट्र मामिलामा ०.८ प्रतिशत पत्रकार महिलाले काम गर्ने गरेको अध्यनले देखाएको छ। 

तलब, राम्रो अवसर, संस्थामा काम गर्ने वातावरण, पारिवारिक समस्या, शिक्षा लगायतका कारणले पनि पत्रकार महिला आफु कार्यरत संस्था परिवर्तन गरेका छन्। सबैभन्दा बढी २७.१ प्रतिशतले पारिश्रमिकलाई संस्था परिवर्तन गर्नुको मुख्य कारण बताएका छन्। यस्तै, पहिलाभन्दा राम्रो अवसर पाएकाले संस्था परिवर्तन गर्ने गरेको बताउने पत्रकार महिला २१.३ प्रतिशत छन्। आधाभन्दा बढि ५१.३ प्रतिशत पत्रकार महिला पत्रकारिता गरिरहन चाहन्छन् भने १९.६ प्रतिशतले पेशा परिवर्तन गर्न चाहेको बताएका छन्।

पदोन्नतीमा समस्या
पदोन्नतिमा पत्रकार महिलाको अवस्था उत्साहजनक छैन। सर्वेक्षणमा सहभागीमध्ये ४७.४ प्रतिशत पत्रकार महिलाले आफुले काम थालेपछि पदोन्नति भएको जानकारी दिएका छन् भने ३५.६ प्रतिशतले नभएको बताएका छन्। 

पत्रकारको पदोन्नति हुन लामो समय लाग्ने सर्वेक्षणले देखाएको छ। सरकारी सञ्चारमाध्यमको नियमअनुसार पदोन्नतिका लागि महिलालाई कम्तीमा दुई वर्ष र पुरूषलाई कम्तीमा तीन वर्ष सो पदमा काम गरेको हुनुपर्ने व्यवस्था छ। तर, यति वर्ष काम गर्ने बित्तिकै पदोन्नति पाइन्छ भन्ने छैन। योग्यता पुगेका स्थायि पत्रकारले समेत माथिल्लो पद खाली नभएसम्म पदोन्नति नपाउने अवस्था छ।

अध्ययनले कार्यस्थलको वातावरण महिलाका लागि अनुकूल नभएको र सहकर्मी तथा अग्रजहरुबाट पत्रकारले महिलासँग उचित व्यवहार नगर्ने गुनासा आइरहेका बेला अनुसन्धानले पछिल्लो समय यसमा सुधार हुँदै गएको देखाएको छ। अधिकांश उत्तरदाताले (७३.३ प्रतिशत) आफ्ना सहकर्मीले सहयोगी व्यवहार गरेको बताएका छन्। अग्रज तथा वरिष्ठहरुको व्यवहारलाई भने आधाभन्दा कमले मात्रै राम्रो ठानेका छन्। 

समस्या पारिश्रमिककै 
सञ्चारमाध्यममा न्यूनतम र नियमित पारिश्रमिक नपाउने समस्या विकराल बन्दै गएको छ। अध्ययनमा सहभागी ४१.४ प्रतिशत पत्रकार महिलाले न्यूनतम पारिश्रमिक नपाएको बताएका छन्। यो समस्या उपत्यकाभन्दा बाहिर बढी देखिएको छ। न्यूनतम तलब नपाउनेमध्ये ८४.१ प्रतिशत पत्रकार महिला उपत्यका बाहिरका छन्। यस्तै, अध्ययनमा ५७.८ प्रतिशत पत्रकार महिलाले मात्रै नियमित रुपमा तलब पाएको बताए।

धेरैजसो पत्रकार महिलाले यातायातको असुविधाका कारण काम गर्न अप्ठेरो परेको बताएका छन्। सर्वेक्षणमा ५६.२ प्रतिशत महिलाले यातायातको असुविधा हुँदा समस्या खेप्नुपरेको बताए। राति ड्युटी गर्नेहरुलाई कार्यालयदेखि घरसम्म लाने/लैजाने व्यवस्था नहुँदा समस्या परेको बताएका छ। अनलाइन, छापा र रेडियोमा काम गर्नेका तुलनामा टेलिभिजनमा काम गर्नेहरुले यातायातको सुविधा बढी पाएका छन्। 

सञ्चारगृहको तथ्यांकअनुसार १ हजार ९ सय ३९ पत्रकार महिलामध्ये ब्राह्रमण/क्षेत्री समुदायका ४४.६ प्रतिशत, आदिवासी जनजाति समुदायका २४.५ प्रतिशत, मधेशी समुदायका ६.६ प्रतिशत, दलित समुदायका ६.३ प्रतिशत र अन्य समुदायका १७.९ प्रतिशत छन्। 

नेतृत्वदायि भूमिकामा न्यून
सञ्चारमाध्यमका व्यवस्थापकीय तथा नेतृत्वदायी पदमा महिला थोरै छन्। अध्ययनले देशभरका कूल ५३ प्रधान सम्पादकमध्ये ११.३ प्रतिशत मात्र महिला छन्। यस्तै, ३७ कार्यकारी सम्पादक/प्रबन्ध सम्पादकमध्ये १०.८ प्रतिशत र ८ सय ९४ सम्पादकमध्ये १५.१ प्रतिशत महिला रहेको अध्ययनबाट देखिएको छ। 

सर्वेक्षणमा सहभागी ६६ प्रतिशत सञ्चारगृहले आफुसँग श्रमसम्बन्धी नीति रहेको बताए। अधिकांशले श्रम नीतिअन्तर्गत साप्ताहिक बिदा र घर बिदा दिइएको जनाएका छन्। यस्तै, नियुक्ति पत्र, चाडपर्व बिदा, सुत्केरी बिदा, यातायात सुविधा र स्वास्थ्य बिमाको व्यवस्था पनि भएको बताएका छन्। श्रम अभ्यास तथा नीति अवलम्बन नगर्ने सञ्चारगृहको प्रतिशत १९.७ छ। 

छैन लैंङ्गिक नीति
छुट्टै लैङ्गिक नीति लागू गर्ने मामलामा सञ्चारमाध्यमको अवस्था कमजोर छ। अध्ययनमा आधाभन्दा बढी (६१.६ प्रतिशत) सञ्चारमाध्यमले छुट्टै लैङ्गिक नीति नभएको बताएका छन्।

कहिले सार्वजनिक भयो तथ्याङ्क ?

नेपालमा पत्रकार महिलाको पेशागत अवस्थाबारे २०७२ सालमा सञ्चारिका समूहले नर्वेजियन दूतावासको सहयोगमा गरेको अध्ययन बुधबार ललितपुरमा सार्वजनिक गरियो। 

त्यस अवसरमा सञ्चार मन्त्रालयका सचिव दिनेश थपलियाले पत्रकारितामा महिलाको उपस्थिति उत्साहजनक भएको बताए. । यस्तै नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले अध्ययनले पत्रकार महिलाको अवस्था सुधारोन्मुख  रहेको बताए। 

सञ्चारिका समूहका अध्यक्ष निर्मला शर्माले पत्रकार महिलाको संख्या विगतको तुलनामा बढेको बताइन्।'नेपालमा महिला पत्रकारको अवस्था थाहा पाउन हामीले यो अध्ययन गरेका हौ। यसले केही सकारात्मक त केही दुखद तथ्यहरु बाहिर ल्याएको छ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.