ब्लग

आफ्नै आँखाले देखेको जापान
SHARES

मंसिर १२, २०७५

    तिहार मनाउने बहानामा योपटक जापान घुम्ने अवसर मिल्यो। युरोपका विभिन्न देश, चीन, भारतसहित अहिलेसम्म घुमेका १५ वटा देशमध्ये जापान घुम्दाको अनुभूति निकै फरक रह्यो। विकासका हिसाबले चीन तथा युरोपियन देशहरू जापानभन्दा कम त छैनन्। तर जापानको सभ्यता, संस्कार, सत्कार, समय, सरसफाइ र प्रविधिको प्रयोगले निकै मन लोभ्यायो। अनि सोंचे त्यसैले त भएको होला जापान विश्वको शक्तिशाली र आफ्नो नियममा अडिग राष्ट्र!

    अब्बल प्रविधि

    जापानको नाम सुन्नेबित्तिकै हामी सबैभन्दा पहिले समृद्ध एशियाली मुलुक भनेर चिन्ने गर्छौं। प्रविधिको विकासलाई हेर्ने हो भने विश्वले निकै फड्को मारिसकेको छ। विश्वका शक्तिशाली राष्ट्रहरूले प्रविधिकै प्रयोग गरी आफूलाई अब्बल सावित गरिसकेका छन्। जसमा जापान अन्य मुलुकभन्दा प्रविधिमा आत्मनिर्भर छ। खाने, सुत्ने, उठ्ने र शौचालय, कृषिकार्य लगायत हरेक कामको सहजताका लागि जापानीहरू प्रविधिमा निर्भर छन्।

    साइफाइ डोर (मानिसको स्पर्शले स्वचालित हुने ढोका) सुपरमार्केट, ठूला मलहरू, विमानस्थल, रेल स्टेसनमा मात्र होइन हरेक पसल र बसहरूमा समेत फिट गरिएको छ। जसले हिउँ परेर अत्यधिक जाडो भएको बेला होस् वा गर्मीको समयमा बढी गर्मी वा जाडो महसुस हुन दिँदैन। अर्थात् त्यही अनुसारको तापक्रम फिट गरिएको छ।

    लगभग ८० प्रतिशत काम त मेशिनले नै गर्दोरहेछ। ओहो, विकास! ओहो त्यहाँको सिष्टम! भन्ने लाग्यो मनमा। मेरो देश पनि यस्तै भइदिए हुन्थ्यो वा त्यो बाटोमा अग्रसर भइदिए हुन्थ्यो भन्ने सोचेँ। तर, त्यो सम्भव मैले देखिनँ। किनकि जापान नेपाल जस्तो नेताहरूले चलाएको देश होइन। यो त नियम, कानुन र प्रविधिले चलेको देश रहेछ।

    समयको सिकाइ

    पहिलोपटक युरोप घुम्दा समयको महत्व बुझेको जस्तो लागेको थियो। मान्छे मिनेटका भरमा चल्नुपर्ने। तर, मिनेटजस्तै सेकेण्ड पनि कति धेरै शक्तिशाली! सेकेण्डलाई पनि जापानीहरू कति धेरै महत्व दिँदारहेछन् भन्ने कुराको अनुभूति जापान घुमाइले दियो। समय कति धेरै बलवान! समयको महत्व हामीलाई थाहा नभएको कहाँँ हो र? फरक यत्ति हो हामी समयको पछि लाग्दैनौं। बरु समयलाई आफ्नै पछि डोर्‍याउन प्रयत्न गछौं। तर ऊ आफ्नै रफ्तारमा दौडिरहन्छ। बितेपछि ख्याल हुन्छ समयको महत्व अनि हात लाग्छ पछ्चाताप।

    लज्जित भएको त्यो क्षण

    रेल, बस र जहाजको लाइनमा बस्दा होस् वा खाना खाने रेष्टुरेण्टमा, आफूभन्दा अरूलाई महत्व दिने र अपरिचित व्यक्तिलाई पनि निहुरिएर सत्कार गर्ने संस्कारले एक नेपालीको नाताले आफैँलाई लज्जित बनायो। जुन कुरा थाहा हुँदाहुँदै पनि हामीले कहिल्यै कार्यान्वयन गर्न चाहेनौँ। हजारौँको भिडमा रेल चढ्दा पनि तँछाडमछाड नगरी भिड व्यवस्थापन हुनेरहेछ भन्ने देख्दा आफैँले रत्नपार्कमा माइक्रो बस वा नेपाल यातायात चढ्दा वा ओर्लंदा ठेलमठेल गरेको याद आयो।

    मननमनै सोचेँ। जापानले त्यहाँ गएका नेपालीहरूलाई पनि त सभ्य बन्न सिकायो होला, समयसँग चल्न सिकायो होला, हरेक कामलाई सम्मान, सानादेखि ठूलासम्मलाई माया, आदर र सत्कार गर्न सिकायो होला, प्रविधिको प्रयोग गर्न खप्पिस भए होलान् र स्वदेश फर्केपछि त्यसको सदुपयोग हुन्छ होला!

    अँह! सोचे जस्तो देखिएन। जब नेपालीहरूको बाहुल्यता रहेका केही स्थानहरूमा जथाभावी फ्याकिएका टिस्यु पेपरका  टुक्राहरू देखिए, अटोमेटिक नभएको ठाउँमा ट्वाइलेट फ्लस गर्नसमेत बिर्सने, अनि कतै कतै ट्रेन र बसका सिट र भित्ताहरूमा ब्वाईफेण्ड र गर्ल फ्रेण्डका सिम्बोलिक नामहरू कोरेको देखिए, मेरो सोच निराशामा परिणत भयो, जब मसँगै रहेका साथीले सुनाए, ‘यो सबै नेपालीले गरेका हुन्।’

    अचेल जापानमा नेपालीहरू संख्या बढेसँगै आपराधिक र अनुशासन उल्लंघनका घटनामा नेपालीहरूको नाम उल्लेख्य मात्रामा जोडिन थालेको कुरा साथीहरूले सुनाउँदा निकै नमज्जा लाग्यो। रक्सी पिएर आपसमा लड़ाइँ गर्ने, होहल्ला गर्ने तथा फोहोर गर्नेदेखि लिएर लागूऔषध र मानव तस्करीको कारोबारमा समेत नेपालीहरूको नाम बदनाम भइसकेको सुनियो जापानमा। जापानी नागरिकले पहिले नेपालीहरूलाई अत्यन्त इज्जत र माया गर्थे रे! तर अचेल ठीक उल्टो भएको रहेछ।

    विशेषगरी सरसफाइ नगर्ने, आफू बस्ने कोठामा अरुलाई ल्याएर होहल्ला गर्ने, भाड़ा समयमा नतिर्ने जस्ता व्यवहारले नेपालीहरूलाई कोठा खोज्दा कठिनाइ हुँदोरहेछ। (नेपारू जीन दामे) अर्थात् नेपालीहरू त हुँदैन भनेर फर्काएको तितो घटनासमेत एकजना साथीले सुनाए। त्यती मात्र नभई मासिक तिर्नुपर्ने बिल, प्रीमियम नतिरेर हैरान पारेपछि अचेल जापानको वडा कार्यालयले नेपाली भाषामा नै चिट्ठी काट्नसमेत थालिसकेछ (सायद बुझेनन् कि भनेर होला )। कन्भिनियन्ट स्टोर र केही टोलहरूमा यहाँ फोहोर गरे जरिवाना लाग्नेछ भनेर नेपाली भाषामै सूचना टाँसेको देख्दा नरमाइलो लाग्यो।

    फर्कने बेला जहाजमा दर्जनौँपटक मागीमागी ह्विस्की, वियर र वाइन खाएर फिटान भएको देख्दा फेरि आफैँलाई लज्जित बनायो। अनि जहाजको सिट फोल्डिङ गर्न पनि नजानेर एयरहोस्टेसको सहारा लिएको देख्दा चाँहि प्रविधि सिकेर आएका होलान् भन्ने आस त्यत्तिमै सीमित भयो। (नोट : जापानमा बस्ने सबैलाई यो लागू हुँदैन, कतिपय अब्बल पनि देखिए)

    अनौठो स्वभाव

    जापानमा सबैभन्दा फस्टाएको रेस्टुरेन्ट व्यवसाय देखियो। नेपालीलगायत बाहिरी मुलुकका अधिकांश मानिसको रोजगारी जापानको फुड क्लचरले सिर्जना गरेको रहेछ। जापानीहरू खान पिउन अत्यन्त शौखिन हुँदारहेछन्। तर, जति नै पिए पनि बरु सडक, रेल वा प्लेटफार्ममा सुत्ने तर कसैसँग झैझगड़ा नगर्ने जापानीहरूको स्वभाव अनौठो लाग्यो। जापानमा प्रायः स्थानमा हल्ला एकदम कम सुनिदो रहेछ। बस ट्रेनमा मोबाइलमै मस्त हुने जापानीहरू साथीभाईसँग खाने पिउने बेला भने मोबाइल चलाएको देखिएन।

    तर रेस्टूरेन्टहरूमा ज्यादा नै हल्ला हुँदोरहेछ। विशेष गरी बेलुकीको समयमा। प्रायः जापानीहरू पिउन रेस्टुरेन्ट जाने र त्यहीँ बसेर धेरै कुरा गर्ने गर्दा रहेछन्। हामी जस्तो यात्रा गर्दा वा काम गर्दा बोलिरहने बानी उनीहरूको नहुँदो रहेछ।

    त्यहाँको नियमले महिलाहरूलाई सम्मान र प्राथमिकतामा राखेको रहेछ। ठूलो पदमा महिला नै। महिला पनि कति निडर र लगनशील! बुलेट ट्रेनदेखि हरेक सवारी साधनका चालक महिला नै। जसलाई कसैको चियोचर्चो गर्ने फुर्सद पनि छैन। आफ्नै रफ्तारमा कुदिरहेको छ जापान र कछुवाको गतिमा पछिपछि हिँडिरहेका छौँ हामी।

    आस्थाको धरोहर

    जापानीहरू फुर्सद निकालेर मन्दिर धाएको पनि देखियो। लाइन लागेर पूजाआजा गर्दा रहेछन्। टोकियोको केन्द्रमा रहेको आशाकुसा मन्दिर दर्शन गर्ने मात्र होइन, पर्यटक भित्र्याउने राम्रो आधार बनेको रहेछ। आशाकुसा टोकियोको सबैभन्दा पुरानो पौराणिक बुद्ध मन्दिर हो। जहाँ स्वदेशी र विदेशी गरी वार्षिक करिव ३ करोड मान्छेले पूजाआजा गर्दारहेछन्।

    दोस्रो विश्व युद्धमा उक्त मन्दिरमा बम विष्फोट गराएर ध्वस्त पारिएपछि पुननिर्माण गरियो। जसलाई सांकेतिक रूपमा जापान र जापानीहरूको पुनर्जन्मको रूपमा लिइदोरहेछ।

    जापानको शान, विश्वमा नाम

    नेपालको धरोहर ९ तले धरहराजस्तै जापानको धरोहर ‘स्काई ट्रि’ टावर हो। जो धरहराभन्दा कैयौं गुणा (६ सय ३४ मिटर अर्थात २०८० फिट) अग्लो टावर हो। यो विश्वकै सबभन्दा अग्लो मानव निर्मित टावर हो। यो टावर चढ्न निक्कै ठुलो भिड लाग्ने रहेछ। टिकटकै ४६ सय येन लाग्ने यो टावर भूकप्प प्रतिरोधी हो।

    २०७२ वैशाख २ गतेको विनासकारी भूकम्पले नेपालको धरोहर ढलाइदियो। धरहरा ढलेको पनि ३ वर्ष पुग्नै लाग्यो, अझै बन्ने सुरसार छैन। तर, जापानले भने विश्वलाई चिनाउने टावर ४ वर्षमै निर्माण सम्पन्न गरेर विश्वलाई नै चकित पारिदियो। जुलाई २००८ मा निर्माण शुरु गरेको टावर फेब्रुअरी २०१२ मा सम्पन्न भएको थियो।

    ५० तलाबाट 'फ्री'मा दृश्‍यावलोकन

    अरू धेरै कुरामा सस्तोजस्तो देखिए पनि यात्रा गर्नु जापानमा महँगो रहेछ। नेपालमा ट्याप्पो वा माइक्रो बस चढ्नेबित्तिकै १५ रुपैयाँ तिरेजस्तै जापानमा बस वा ट्रेन चढ्नेबित्तिकै २२० देखि २५० येन। ट्याक्सी त झनै महँगो। जापानी येन र नेपाली रुपैयाँ लगभग उस्तै रहन्छ।

    यात्रा गर्न महँगो भए पनि जापानमा केही यस्ता ठाउँहरू छन् जुन दृश्‍यावलोकनका लागि उत्कृष्ट नै। टोकियो महानगरपालिकाको ४५ तले सरकारी भवन, ५१ तले सिन्ज्युकु सुमितो भवन, ३९ तलाको एविसु गार्डेन, प्लेस टावर, ३०औँ तलाको टोकियो सोलामाची, २५ औँ तले बुन्क्यो सिभिक सेन्टर चढ्न पैसा लाग्दो रहेनछ। आकाश खुलेको समयमा यी स्थानहरूबाट आरामसँग बसेर दुरविरको सहायताले टोकियोको मनमोहक दृश्‍य अवलोकन गर्न पाइदोरहेछ। 

बोमलाल गिरी

लामो समय रेडियो पत्रकारिता गरेका गिरी समसामयिक विषयमा कलम चलाउँछन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]