|

काठमाडौं : नेपालमा मुटुरोग उपचार सेवामा योगदान दिने चिकित्सकहरूको नाम लिनुपर्दा एक भुल्नै नहुने नाम हो- डा. अरुण सायमी।

झन्डै चार दशक लामो समयसम्म सयौँ नेपालीहरूको मुटु बचाउन अनवरत लागिरहेका डा. सायमी उमेरको छ दशकभन्दा लामो समयसम्म पनि मुटुरोगको उपचारको क्षेत्रमा नै लागिपरेका छन्। मुटुरोग पछिल्लो समय बढ्दै छ, जसले गर्दा मुटुसम्बन्धी समस्या लिएर आकस्मिक रूपमा वा समय लिएर अस्पतालमा जाने बिरामीको संख्या बढ्दै छ। यसले गर्दा डा. सायमीको दैनिकी धेरै नै व्यस्त हुने गर्छ।

मुटु जस्तो संवेदनशील अगंको उपचारका लागि एकछिन ढिला गरेर अस्पताल पुगौँला भनेर हुँदैन। मुटुरोगका धेरै बिरामीलाई जति चाँडै उपचार गर्‍यो, उति खतरामुक्त हुने अवस्था हुन्छ। यसले गर्दा अस्पतालमा रहने समयभन्दा बाहिरको समयमा पनि मुटुरोग विशेषज्ञ 'अन कल' बस्नुपर्ने हुन्छ। यस्तै, हालका प्रधानमन्त्री केपी शर्मा ओलीको लामो समयसम्म निजी चिकित्सक रहेका डा. सायमी हाल पनि प्रम ओलीको स्वास्थ्यको निकै ख्याल गर्छन्, जसले गर्दा आवश्यक परेको बेला उनी जुनसुकै बेलामा अस्पतालमा जानुपर्ने अवस्था हुन्छ। यस्तो व्यस्त समयमा पनि प्राय: बिरामीसँग रसिक र स्फुर्तीसाथ प्रस्तुत हुनु उनको विशेषता हो। यस्तो व्यस्त समयको बीचमा पनि उनले आफ्नो स्वास्थ्यलाई कसरी ख्याल गर्छन् वा आफूलाई दिने समय कसरी मिलाउँछन्? यसै सन्दर्भमा   थाहाखबरसँग उनले आफ्नो फिटनेस फर्मुलाबारे यसरी बताए।

मेरो खाना

मलाई समान्य नेपाली खाना मनपर्छ। खाने कुराको मामलामा म सौखिन छु। नेवारी समुदायको भएर पनि होला, मलाई नेवारी खाना धेरै मनपर्छ। मासु धेरै मनपर्छ, अझ छोइला आइटम झन् धेरै मनपर्छ। मासु भने टन्न खाने गर्छु। खाने कुरा यो कम खाने त्यो कम खाने भन्ने गर्दिनँ, मन लागेको खाने कुरा टन्न खान्छु।

मेरो पोसाक

कपडा  महँगो नै लगाउनुपर्छ भन्ने लाग्दैन तर आफूलाई सजिलो हुने कपडा लगाउँछु। कत्तिकदेखि फागुनसम्म कोट र टाई लगाउन छोड्दिनँ। गर्मी मौसममा भने अन्य विशेष कार्यक्रममा जाँदा भने फर्मल ड्रेस लगाउने गर्छु।

मेरो स्वास्थ्य

झट्ट हेर्दा धेरै मोटो छु। विगत लामो समयदेखि मेरो तौल उही अवस्थामा छ। यसका लागि मैले मोबाइलमा एउटा एप्स राखेको छु। यसले म दैनिक छ किलोमिटर हिँडेपछि बधाईसहित एसएमएस पठाउने गर्छ। यसले गर्दा मेरो दैनिक एक्सरसाइज पुग्छ। शारीरिक अभ्यासकै लागि भनेर अन्य केही क्रियाकलाप गर्दिनँ तर सकेसम्म धेरै हिँड्छु। अस्पतालमा हुँदा पनि तल-माथि गर्नुपर्‍यो भने पनि लिफ्टको प्रयोग गर्दिनँ। मोटो भए पनि आजसम्म कुनै प्रकारको रोग छैन।

मेरो अध्ययन

चिकित्सा सेवापछिको मेरो सबैभन्दा सोखको क्षेत्र भनेको अध्ययन हो, अझ साहित्य सिर्जना हो। हाल पनि म केही दिन बिदामा बसेर मेरो एउटा पुस्तक लेख्दै छु। माघमा सार्वजनिक गर्नुपर्ने भएकाले बिदै बसेर लेख्नुपरेको हो। यस्तै नेपाल भाषाका तीनवटा, अन्य दुईवटा, एउटा कवितासंग्रह र विभिन्न गीतहरू समेत मैले प्रकाशन गरिसकेको छु। मेरो पेसापछिको धेरै समय लेखनमै बित्छ। मसँग एउटा कापी र कलम कहिल्यै छुट्दैन।

मेरो मोबाइल

मोबाइल सेलको खासै सौखिन छैन म। सामान्य खालको मोबाइल प्रयोग गर्ने गर्छु। फेसबुक चलाउँदिनँ तर खाली भएको समयमा साथीहरूसँग भाइबरमा कुराकानी गर्छु। मैले धेरै चलाउने भनेको भाइबर हो। स्कोर्पिअोको गाडी चढ्ने गरेको छु।

मेरो घुमफिर

उपत्यकामा धेरै समय बिरामीसँगै हुन्छु। यसका अलावा बाँकी रहेको समय आफ्नै सिर्जनामा बित्ने गर्छ। परिवारका लागि दिने समय एकदम कम हुन्छ। हरेक मानिसलाई मानसिक रूपमा स्वस्थ हुन आफ्ना लागि पनि समय दिनुपर्ने हुन्छ। सकेसम्म समय मिलाएर घुम्न निस्कन्छु। कहिलेकाहीँ विदेश जाने मौका मिल्छ। यसरी विदेश जाँदा पनि म समय मिलाएर गएको ठाउँमा रहेका केही रमाइला ठाउँहरू हेर्न जाने गर्छु।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.